ताजा अपडेट »

नामै मेटियो महेन्द्र सभा गृहको, बालउद्यानको स्थानमा तारे होटल (फोटोफिचर)

आइतबार, ०१ फागुन २०७८

भैरहवा । भैरहवामा रहेका सार्वजनिक महत्वका सम्पत्तिहरु सिद्धार्थनगर नगरपालिकाले भाडामा दिए पछि अहिले ती संरचना जिर्ण बन्दै गएका छन । संरक्षण गर्ने उद्देश्य सहित निजि क्षेत्रलाई प्रदान गरिएको सम्पत्तिहरु उद्देश्य बिपरीत प्रयोग हुदा समेत नगरपालिका मौन रहेको छ ।

भैरहवाको महेन्द्र सभागृह (पछि गणतान्त्रिक सभागृह) यस क्षेत्रमा हुने सांगीतिक कार्यक्रमहरुको प्रमुख केन्द्र थियो । ब्यवस्थित थिएटर, मिलेका कुर्सिहरु सहित प्रयाप्त पार्किङ्गको ब्यवस्था सहित रहेको सभागृहमा कार्यक्रम गर्न पालो कुर्नुपर्ने अवश्था हुन्थ्यो । यस बाहेक नगरवासीहरुको लागी विवाह लगायतका ठूलो कार्यक्रम गर्ने स्थलको रुपमा पनि महेन्द्र सभागृह प्रयोग हुने गरेको थियो । महेन्द्र सभागृह सिद्धार्थनगरको मात्र नभई यस क्षेत्रको गौरवको रुपमा ठडिएको थियो ।

तर अहिले अवश्था फेरिएको छ । कुनै समय भैरहवाको गौरवको रहेको सभागृह अहिले जिर्ण भएको छ । धेरै बर्ष भयो सभागृहमा कुनै पनि कार्यक्रम नभएको । कुर्सीहरु, भित्रका पंखाहरु टुटेका छन, शौचालय लगायतका संरचनाहरु काम नलाग्ने अवश्थामा पुगेका छन् । सभागृहको भुईमा पानी भरिएको छ ।

सभागृहको यो अवश्थाको पूर्ण रुपमा जिम्मेवार सिद्धार्थनगर नगर पालिका र नगरपालिकाले संरक्षणको जिम्मा दिएको पटवा टेन्ट हाउस रहेको छ । २०७० असोज ४ गते नगरपालिकाले पटवा टेण्ट हाउसलाई तत्कालीन समयमा नगरपालिकाबाट नै सञ्चालनमा रहेको सभागृहलाई ब्यवस्थित तथा दिगो किसिमले सञ्चालन गर्ने, मुल आकृतिमा परिवर्तन नगरि आवश्यक नया संरचना थप गरि र सभागृहबाट नगरवासीलाई सरल, सुलभ, स्वच्छ र ब्यवस्थित सेवा प्रदान गर्ने उद्देश्य सहित २० बर्षको लागी न्यून भाडा दरमा उपलब्ध गराएको थियो ।

पहिलो पाँच बर्षको लागी बार्षिक २ लाख त्यसपछिको प्रत्येक ५/५ बर्षमा १ लाखका दरले बृद्धि हुने गरि सभागृह भाडामा लगाईएको थियो । २ बिगहा भन्दा बढी क्षेत्रफल रहेको जग्गामा अहिले पटवा टेण्ट हाउसले सभागृह संरक्षण बाहेक अन्य सबै काम गर्दै आएको छ ।

सिद्धार्थनगर नगर पालिकाको मिति २०७०/५/२५ गतेको नगरसभाले सार्वजनिक निजि अवधारणा अन्तरगत ब्यवस्थित तथा दिगो किसिमले सञ्चालन गर्न लिजमा दिने निर्णय गरेको थियो । जसको मूल उद्देश्य अहिले कायम रहेको संरचनालाई आवश्यक मरम्मत सम्भार गरि प्रयोगमा ल्याईने र थप २ करोडको लगानी गरि नया संरचना प्रयोगमा ल्याउने ।

तर लिजमा लिएको पटवा टेण्ट हाउसले करिब ८ करोडको लागतमा सोही जग्गामा “पटवा बैंक्वेट” नै सञ्चालन गरेको छ । नया संरचना बनेपछि पूरानो भएको महेन्द्र सभागृह उपेक्षित हुदै गएको छ । सम्झौताको बुंदा नम्बर ७ र ८ मा सभाहलमा हुने टुटफुट, हानी नोक्सानी भएमा त्यसको मरम्मत पटवाले आफ्नै खर्चमा गर्नु पर्ने उल्ल्ेख छ । यस्तै सभागृहमा पिउने पानी, बिद्युत सप्लाई, शौचालय र सम्पूण सरसफाई पनि उसैले गर्नु पर्ने उल्लेख भए पनि पटवाले सम्झौताका पुरै अवहेलना गर्दै आइरहेको छ ।

पटवा टेण्ट हाउसका सञ्चालक चन्द्र मोहन पटवाले आफै अहिले नया भवन बनाएपछि पुरानो सभागृहमा कोही पनि कार्यक्रम गर्न ईच्छुक नरहेको बताए । उनले पहिलेको सभागृहलाई ब्यवस्थापन गरेको दावी गरे पनि सभागृहको अवश्था बुझ्न खोज्दा सञ्चारकर्मिलाई सभागृह छिर्नबाट रोकेका थिए ।

क्यामेरामा बोल्न नमानेका पटवाले २० लाखको लगानीमा सभागृह अगाडी रहेको भागलाई मरम्मत गरेको दावी गरे पनि अन्य मरम्मतको हकमा केही बोलेनन् ।

बालउद्यानको स्थानमा तारे होटल

पटवा टेन्ट हाउसलाई महेन्द्र सभागृह भाडामा दिएको नगरपालिकाको कार्यालयले त्यसको १ बर्ष भित्रै भैरहवामा रहेको बालउद्यानलाई पनि शुभ ओम ईन्भेष्टमेन्ट कम्पनी प्रालीलाई भाडामा लगाई दियो ।

वडा नम्बर ६ मा सञ्चालनमा रहेको बालउद्यानलाई ब्यस्थित गर्ने, नयाँ निर्माण गर्ने र नया तरिकाको बाल उद्यान संचालन गरि नगरवासीमा सरल, सुलभ, स्वच्छ र ब्यवस्थित वातावरणमा बाल उद्यान सञ्चालन गर्ने उद्देश्य सहित शुभ ओम ईन्भेष्टमेन्ट कम्पनी प्रालीलाई उक्त जग्गा भाडामा दिएको थियो । कम्पनीले पनि बालउद्यानको नामै मेटेर अहिले सो जग्गामा होटल पौवा सञ्चालन गर्दै आएको छ ।

नगरपालिका क्षेत्रमा अहिले सम्म ब्यवस्थित बालउद्यान छैन भएको उद्यानमा पनि बालबालिका रमाउने स्थानमा अहिले मदिरायुक्त कार्यक्रमहरु हुने गर्दछ । बालउद्यानको रुपमा ब्यवस्थापन गरिने स्थानमा अहिले तारे होटल सञ्चालनमा ल्याईएको छ ।

शुभओम ईन्भेष्टमेन्ट प्रालीका अध्यक्ष हरि थापाले नै उक्त जग्गामा अहिले १७ करोड लगानी गरि सकेको दावी गरेका छन् । थापाले नै नगरपालिकासंग १ करोड ३५ लाख बराबरको निर्माण कार्य गर्ने सहमति गरि सम्झौता गरेका छन् । अहिले सम्झौता विपरीत बनेका संरचना पनि बहाल अवधि पछि नगरपालिकाकै हुने भन्ने उनले तर्क गरिरहेका छन् ।

दुवै पक्षले गरेको सम्झौता अनुसार बालउद्यानमा एसीयुक्त ३ कोठा निर्माण गर्ने सहमति छ । तर अहिले होटल पौवामा ५ वटा स्विट रुम, १५ वटा डिलक्स रुम सहित २० वटा कोठा सञ्चालन भई रहेको थापाकै भनाई छ । उनले यसलाई अझै बढाई १ सय सम्म कोठा पु¥याएर पौवालाई ४ तारे होटलको रुपमा विकसीत गर्ने बताए ।

यी दुवै संस्थालाई जग्गा दिदा नै यसको अनुगमन सिद्धार्थनगर नगरपालिकाले गर्ने र तोकेको उद्देश्य पुरा नगरे वा बेवास्ता गरे सम्झौता नै रद्द गर्ने अधिकार नगरपालिका संगथ रहेको छ । तर यहा “काले काले मिलि खाउ भाले” भने जस्तै नगरपालिका अनुगमनको पाटोमा मौन बसेको छ ।

नगरवासी बिजय गोविन्द श्रेष्ठले सार्वजनिक जग्गा कुनै पनि ब्यक्ति बिशेष दिन नहुने तर्क गर्दछन् । दिए पनि उद्देश्य अनुसार सञ्चालन भए नभएको बारे प्रभावकारी अनुगमन हुनु पर्ने उनको भनाई छ । पूर्व मालपोत अधिकृत समेत रहेका श्रेष्ठले सर्वप्रथम त यस्तो जग्गाको भोगााधिकार नगरपालिकालले अर्कालाई दिन मिल्ने कि नमिल्ने बिषयमा नै अनुसन्धान हुन आवश्यक रहेको बताउछन् ।

उद्देश्यको ठिक विपरीत प्रयोग गरिरहेका पटवा टेन्ट हाउस र शुभओम कम्पनी प्रालीले नगरपालिकाले तोकेको अन्य शर्तहरुको पनि अवहेलना गरेका छन् । नगरपालिका र यी दुवै पक्षहरु बिच भएको सहमतिमा दुवै पक्षले तेश्रो पक्षबाट उठाउन पाउने दररेट बारे नगरपालिकासंग स्विकृति लिनु पर्ने स्पष्ट प्रावधान छ । तर पटवा टेण्ट हाउस र होटल पौवाले अहिले उक्त सार्वजनिक जग्गा प्रयोग गरे बापत नगरवासीसंग चर्को शुल्क असुल गरि रहेका छन् ।

शर्त अनुसार दुवै पक्षले दररेट नगरपालिकालाई प्रस्ताव गर्ने र नगरपालिकाको समेत सहमतिमा शुल्क लिन पाउने उल्लेख छ । तर सञ्चालनमा आएको ८ बर्ष हुदा पनि दुवैले कुनै प्रकारको दररेट नगरपालिकामा प्रस्ताव नगरेको सिद्धार्थनगर नगर पालिकाका राजस्व शाखा प्रमुख अमित श्रेष्ठको भनाई छ ।

अनुगमन गर्ने र शर्त पालन गराउने जिम्मा सिद्धार्थनगर नगर पालिकाको रहे पनि यसको जिम्मेवार कर्मचारीहरु अहिले तर्किने गरेका छन् । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासीनीलाई यस बिषयमा प्रतिक्रिया लिन पटक पटक प्रयास गर्दा पनि सम्पर्क गर्दा पनि उनि सम्पर्कमा आउन चाहेनन् ।