भैरहवा । गुलाफ र चकलेटकै लागि बार्षिक करोडौं रुपैयाँ भारतीय बजारमा जाने गरेको छ । प्रणय दिवस (भ्यालेन्टाईन डे) लक्षित चकलेट र रातो गुलाफ आयातको कारण बार्षिक करौडौ रुपैया भारत जाने गरेको हो ।
चालु आर्थिक बर्षमा पनि १५ लाख ६२ हजार ४ सय ४२ रुपैयाको रातो गुलाफ आयात भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक बर्षको माघ २७ गते सम्म भैरहवा भन्सार हुदै सो मूल्यको ४१ हजार २४ किलोग्राम गुलाफको फुल नेपाल भित्रिएको कार्यालयका सूचना अधिकारी उपेन्द्र लामिछानेले जानकारी दिए । गत बर्ष यहि अवधिमा यो भन्दा दोब्बर रकम २९ लाख ३८ हजार ८ सय ९३ रुपैयाको रातो गुलाफ नेपाल भित्रिएको थियो ।
बजारको माग कमी रहेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा कम परिमाणमा फूल आयात गरिएको ब्यवसायीहरुको भनाई छ ।
गुलाफ मात्रै हैन प्रणय दिवस लक्षित चकलेट पनि अत्याधिक मात्रामा भित्रिएको छ । चालु आर्थिक बर्षको माघ २७ गते सम्म भैरहवा भन्सारबाट मात्रै ५४ करोड ७९ लाख ९८ हजार ३ सय ५७ रुपैयाको चकलेट नेपाल भित्रिएको कार्यालयको उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । यसमध्ये ११ करोड ९४ लाख ७० हजार १ सय ३१ रुपैयाको ४ लाख २६ हजार ३ सय ७ किलो मिठाई (सेतो चकलेट सहित) र ४२ करोड ८५ लाख २८ हजार २ सय २६ रुपैयाको ५ लाख ९० हजार ६ सय ६६ किलो चकलेट रहेको छ ।
पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । प्रणय दिवस फेब्रुवरी १४ तारिखमा पर्दछ तर उक्त दिनभन्दा एक हप्ता अघिदेखि नै यसलाई मनाउने प्रचलन रहेको छ । प्रेमको प्रतीक मानिले रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एक अर्कालाई दिएर मनाउने गर्दछन् । नेपालमा मागको तुलनामा रातो गुलाफको उत्पादन अत्यन्त न्यून रहेको हुदा प्रणय दिवसलाई लक्षित गरि भारतको दिल्ली, कोलकाता, बैंग्लोर लगायतबाट फूल आयात गर्ने गरेका छन् ।
प्रतिक्रिया