ताजा अपडेट »

आजदेखि आइपीएलको मेगा अक्सन, सन्दिप लामिछानेको नाम पनि समावेश

शनिबार, २९ माघ २०७८

काठमाण्डाैं । इन्डियन प्रिमियर लिग आईपीएलको मेगा अक्सनमा नेपालका सन्दिप लामिछाने पनि समावेश भएकाछन् । भारतको बेङ्ग्लोरमा आज र भोलि दुई दिनसम्म हुने अक्सनमा नेपालबाट राष्ट्रिय टोलीका कप्तान सन्दिप मात्रै समावेश हुने भएका हुन् ।

उनले अक्सनमा आफ्नो न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ तोकेका छन् । सन्दीपसहित कुल १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गरे पनि लामिछाने मात्र छनोटमा समावेश भएका हुन् ।  यसअघि सन् २०१८ देखि २०२० सम्म दिल्ली क्यापिटल्समा रहँदै सन्दीपले ९ खेलमा १३ विकेट लिएका थिए । गएको सिजनको मिनी अक्सनमा उनलाई कुनै पनि टिमले अनुबन्ध गरेनन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीले लामिछानेको कप्तानीमा ओमानमा चार देशीय टी–२० श्रृङ्खला खेलिरहेको छ ।

अक्सनमा ३ सय ७८ भारतीय र २ सय २२ विदेशी खेलाडी रहेका छन् । अक्सनमा एक टोलीले बढीमा २५ र कम्तीमा १८ खेलाडी किन्नुपर्ने हुन्छ । एक टोलीले ९० करोडभन्दा बढी खर्चिन पाउने छैनन् । यो सिजनमा दुई नयाँ फ्रेन्चाइज टोली गुजरात टाइटन्स र लखनऊ सुपर जायन्ट थपिएका छन् ।