रुपन्देही । स्थानीय तह समृद्ध बनाउन सामाजिक संघ संस्थासँगको समन्वय आवश्यक रहेकामा जोड दिइएको छ । बुटवल उपमहानगरपालिकाले सामाजिक संघसंस्थाहरुसँग आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागिले समृद्ध बुटवल खुशी बुटवलबासीको नारा साकार पार्न संघसंस्थालाई नगरसँग जोड जरुरी रहेको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले नगरको विकास समृद्धिमा संघसंस्थाको भूमिका महत्वपूर्ण रहने बताइन् । उपमहानगरभित्र रहेको सबै सामाजिक संघ संस्थासँग समन्वय गरी सबल आर्थिक केन्द्र, समुन्नत बुटवल बनाउने दिशामा उपमहानगर अघि बढेको उल्लेख गरिन्।
स्थानीय तहमा संघसंस्था दर्ता र नियमनको व्यवस्था रहेपनि कतिपय संस्था सम्पर्ककै नआउने गरेको जनाउँदै उनले आफ्ना वार्षिक योजना, कार्यक्रम र बजेट समेत स्थानीय तहका कार्यक्रममा समावेश गर्न आग्रह गरिन्। उपप्रमुख आचार्य बुटवल उपमहानगरलाई कार्यक्षेत्र बनाएका सबै संस्थालाई अनिवार्यरुपमा उपमहानगरमा सूचिकृत हुन र वार्षिक प्रतिवेदन समेत पेश गर्न अनुरोध गरिन् । संघसंस्थासँग समन्वय गरी कार्यक्रम र योजनाका आधारमा उपमहानगरले सक्दो सहयोग गर्ने उनको भनाइ छ ।
स्थानीय तहमा संघसंस्था दर्ता र नियमनको व्यवस्थाबारे जानकारी गराउँदै उपमहानगरका बरिष्ठ अधिकृत तथा सामाजिक शाखा प्रमुख रामप्रसाद अर्यालले सामाजिक संघसंस्था र उपमहानगरबिचमा समन्वय अभाव भएकाले दर्ता र नविकरण कम हुने गरेको बताए । उनले आर्थिक वर्ष ०७८/७९ मा ६ वटा मात्रै संस्था दर्ता भएको र २९ वटा स्था नविकरण भएको जानकारी गराए । उनका अनुसार यसअघि आव ७६।७७ मा १२ र ७७/७८ मा ११ संस्था दर्ता भएका छन् भने आव ७६/७७ मा ८१ र ७७/७८ मा ८८ संस्था नविकरण भएका छन् ।
प्रमुख अर्यालले संस्था दर्ताका जिल्ला प्रशासनमा स्थानीय तहको सिफारिस अनिवार्य भएकाले त्यसका लागि मात्रै संस्थाहरु उपमहानगर आउने गरेको बताए।कार्यक्रममा गौतमबुद्ध सामुदायिक अस्पतालका अध्यक्ष एजाज आलम तथा संस्थाका प्रतिनिधहरु बेबी शाह, दलबहादुर गुरुङ, मन पाण्डे लगायतले मुलुक संघीय संरचनामा गइसकेकाले अब स्थानीय तहमै न्यूनतम शुल्कमा संस्था दर्ताको व्यस्था हुनुपर्ने धारणा राखे ।-रासस
प्रतिक्रिया