काठमाडौँ । सरकारले जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न तत्काल २१ करोड रुपियाँ दिने भएको छ । नेपाल रेलवे कम्पनीका महानिर्देशक निरञ्जन झाले सञ्चालनको तयारीमा रहेको जनकपुर–जयनगर रेल सेवाका लागि अर्थ मन्त्रालयले तत्काल २१ करोड रुपियाँको स्रोत सुनिश्चितता दिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “गत वर्ष नै मन्त्रिपरिषद्ले रेलवे कम्पनीलाई ४५ करोड रुपियाँ दिने निर्णय गरेको थियो । त्यस बेलादेखि नै कम्पनीले अर्थ मन्त्रालयसँग सो रकम माग गर्दै आएकोमा अहिले मन्त्रालयले २१ करोड रुपियाँ दिने प्रतिबद्धता गरेको हो ।”
उहाँले सो रेल सेवा एक वर्षसम्म सञ्चालनको जिम्मा पाएको भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडलाई नेपालले करिब ३५ करोड रुपियाँ तिर्नुपर्ने जानकारी दिनुभयो । अहिले स्रोत सुनिश्चित भएको रकममध्ये केही सो कम्पनीलाई भुक्तानी गरेर तत्काल काम अगाडि बढाइने स्पष्ट पारे ।
बाँकी रकमका लागि कम्पनीले अर्थ मन्त्रालयलाई अहिले पनि ताकेता गरिरहेको बताउँदै उनले आवश्यक रकमको अभावमा समेत सो रेल सेवा सञ्चालनमा ढिलाइ हुँदै आएको स्पष्ट पारे। उनले रकमको स्रोत सुनिश्चित भएसँगै रेलवे कम्पनीले भारतबाट ल्याइएको दुईवटा रेलको फागुन १ गतेबाट नियमित परीक्षण गर्ने तयारीमा जुटेको बताए। “अब रेल सेवा सञ्चालनमा कुनै बाधा अवरोध छैन” उनले स्पष्ट पारे ।
करिब १६ महिनादेखि थन्केर बसेका दुईवटै सेट रेलको अहिलेको अवस्था थाहा पाउन नियमित परीक्षण गर्न लागिएको बताउँदै उनले ती रेललाई व्यावसायिक रूपमा सञ्चालन गर्ने अवस्था छरछैन भन्ने अवस्था यकिन गर्न एकरदुई दिन परीक्षण गरेर हुँदैन । डेढ हप्तासम्म जनकपुरदेखि भारतको जयनगरसम्म चलाएर परीक्षण गर्नुपर्ने उनले जानकारी दिए ।
उनका अनुसार रेल सेवा सञ्चालनका लागि तत्काल चाहिने २६ जना ‘कोर’ प्राविधिकमध्ये १४ जना अहिले नेपाल आई यहाँका ६० जना प्राविधिकलाई तालिम दिइरहेका छन् । नेपाल र भारतका प्राविधिकहरू मिलेर सो रेल सञ्चालनमा ल्याइने छ ।
२०७७ असोज २ गते भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडबाट ८४ करोड ६५ लाख रुपियाँमा खरिद गरिएको दुई सेट रेल अहिले धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनरुवाको स्टेसनमा सशस्त्र प्रहरी बलको निगरानीमा पार्किङ गरी राखिएका छन् ।
प्रतिक्रिया