काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आम सर्वसाधारण जनताले सरकारको अनुभूति पाउने गरी कार्यसम्पादन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्बद्ध निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।
आज मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७८-७९ को दोस्रो त्रैमासिकरअर्धवार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री कार्कीले भने, ‘यो मन्त्रालय सरकारको अनुहार देखाउने मन्त्रालय भएकाले यसअन्तर्गत रहेका निकायले समस्याको पहिचानसँगै त्यसको निदान गरी जनताले प्रतिफल पाउन सक्ने गरी कार्य सम्पादन गर्नु पर्दछ ।’
उनले जबाफदेहिता र जिम्मेवारीबाट पन्छेर परिणाम दिन नसकिने बताउँदै चालु अर्धवार्षिक अवधिमा पुँजीगत खर्च सन्तोषजनक नरहेकाले त्यसलाई वृद्धि गर्न निर्देशन दिए । असारमा बजेट सक्ने गरी हतारमा काम गर्ने परिपाटीको अन्त्य गरी वैशाखभित्रै लक्ष्यअनुसार कार्यसम्पादन गर्न पनि मन्त्री कार्कीले जोड दिए ।
उनले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा मन्त्रालयअन्तर्गत १४२ वटा माइलस्टोनको कार्यान्वयन गर्ने लक्ष्य राखेकामा हालसम्म जम्मा ४७ वटाको मात्र कार्य सम्पन्न भएकाले बाँकी माइलस्टोनको पनि यथासमयमा कार्यान्वयन गर्न निर्देशन दिए ।
मन्त्री कार्कीले मुलुकमा चरम विद्युत् भार कटौती रहँदा आफू ऊर्जामन्त्री भएको र त्यति बेला विभिन्न नीतिगत निर्णय गरेको परिणाम आज मुलुक विद्युत्मा आत्मनिर्भर बन्न सकेको प्रसङ्ग उल्लेख गर्दै अहिले पनि आफूले सञ्चार मन्त्रालयको जिम्मेवारी लिइरहँदा दूरसञ्चार सेवालाई गुणस्तरीय र भरपर्दो बनाउन चाहेको बताए ।
सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहले कोभिडको अवस्थामा सञ्चार मन्त्रालयअन्तर्गतका निकायको भूमिका प्रशंसनीय रहेको भए पनि चालु आर्थिक वर्षका लागि निर्धारण गरिएका लक्ष्यको कार्यान्वयन भने सन्तोषजनक नरहेको बताइन् । उनले पुँजीगत खर्च बढाउन आग्रह गर्दै समाजमा बढ्दो साइबर अपराधलाई नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा यस अवधिमा कार्यान्वयनका क्रममा रहेका २६ वटा र काम सुरु हुन नसकेका २८ वटा माइलस्टोनको बारेमा विस्तृत प्रस्तुतीकरण गरिनुका साथै चालु आवको अर्धवार्षिक अवधिमा भएका मुख्य मुख्य उपलब्धिका बारेमा पनि जानकारी गराइएको थियो । सो अवधिमा मन्त्रालयअन्तर्गतका निकायले सङ्कलन गरेका राजस्व, आम्दानीको विवरण र बेरुजु पछ्र्योटको स्थिति प्रस्तुत गरियो ।
बैठकमा मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित १५औँ योजनाको सूचक, आव २०७८-७९ को बजेट वक्तव्यमा उल्लेखित सूचकाङ्कको प्रगति तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एकीकृत अनुगमन प्रणालीमा समावेश सूचकाङ्कको २०७८ पुस मसान्तसम्मको प्रगति तथा आव २०७८-७९ को प्रथम त्रैमासिक समीक्षा बैठकको निर्णयको कार्यान्वयन अवस्थाबारे जानकारी दिइएको थियो ।
सो अवसरमा मन्त्रालय सम्बद्ध राससलगायत विभिन्न १८ वटा निकायका प्रमुखले आ–आफ्ना निकायसँग सम्बन्धित समस्या र कार्यप्रगतिका बारेमा अवगत गराएका थिए ।
त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालयलगायत विभिन्न निकायका प्रतिनिधिले पनि मन्त्रालयसँग सम्बन्धित विभिन्न सरोकारका विषयमा प्रष्टीकरण दिए । रासस
प्रतिक्रिया