
कार्तिक १८,
ग्लोबल आवाज
बुटवल । बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्ने औद्योगिक व्यापार मेला अन्तर्गत २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला–२०७६’ बुुटवल–११ देविनगरमा हुुने भएको छ। आगामी पुसको ९ गतेदेखि हुने मेला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका वडा नं. ११ देविनगर स्थित एन्फा एकेडेमीको उत्तर पश्चिम, ड्राईभिङ् ट्रायल सेन्टरको उत्तरतर्फको खाली जग्गामा बुटवल नगरपालिकाले स्वीकृति दिएको छ । संघले नियमित रुपमा गर्दै आएको स्थान बुटवल–१० रामनगरस्थित बुटवल मण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माणको काम शुरु भएकाले उक्त स्थानमा मेला सञ्चालन गर्न नमिलेका कारण वडाको सिफारिसमा नगरपालिकाले देवीनगरमा मेला सञ्चालनकालागि स्वीकृति प्रदान गरेको हो ।
मेला आयोजक संस्था बुटवल उद्योग बाणिज्य संघले यस अगाडी नै मेलाको मिति पुसको ९ गतेदेखि २३ गतेलाई निर्धारण गरिसकेको थियो । सोही अनुसार संघले तयारीका कामहरु अगाडी बढाएको संघका महासचिव दिनेशप्रसाद श्रेष्ठले बताए । स्थान एकिन नभएकाले तयारीका कामहरु गर्नकालागि समय ढिला भएको बताउँदै मेला स्थल निर्धारण भएकाले अव बाँकी तयारीका काम द्रुत गतिमा अगाडी बढाइने संघका अध्यक्ष तथा मेला आयोजक मूल समितिका संयोजक खिमबहादुर हमालले जानकारी गराए ।
औद्योगिक उत्पादन र उपभोक्ता बीच पुलको रुपमा स्थापित उक्त मेलालाई विगतका भन्दा अझै स्तरीय बनाउने गरी तयारीका काम भईरहेको संघले जनाएको छ । मेलामा राखिने सबै प्रकारका सामानहरु गुणस्तरीय हुनेगरी व्यबस्थापन गरिने तथा मेला स्थल समेत सोही अनुसार आकर्षक बनाउने संघले तयारी गरेको छ । मेला सचिवालय बुटवल उद्योग बाणिज्य संघको भवन आकृतिमा र मुलद्वार ऐतिहासिक जीतगढी किल्लाको स्वरुपमा निर्माण गर्ने तयारी भएको संघका महासचिव श्रेष्ठले बताए ।
प्रतिक्रिया