कार्तिक १८,
ग्लोबल आवाज
काठमाडौँ । संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। निवर्तमान सभामुख महरामाथिको थुनछेक बहस सकिएपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । बलात्कार प्रयासको आरोपसम्बन्धी मुद्धाको टुंगो नलागेसम्म महरा जेलमा नै रहने छन् । जिल्ला अदालत काठमााडौंमा आज भएको थुनछेक बहस सकिएलगत्तै महरालाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
डिल्लीबजार कारागारले नै महरालाई अस्पताल राख्ने/नराख्ने भनेर तय गर्नेछ । महरामाथि संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास अभियोग लागेपछि उनलाई अदालतमा उपस्थित गराइएको थियो । आइतबारदेखि महराको पक्षका दर्जनौं वकिलहरुले बहस गरेका थिए । सोमबार महराको पक्षमा वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी बराल, शेरबहादुर केसी र रमनकुमार श्रेष्ठले बहस गरेका थिए । उनको पक्षमा करिब ३० जना वकिलले वकालतनामा पेश गरेका थिए । महराको पक्षमा भएको बहसको जवाफ सरकारी वकिलले दिइसकेपछि आदेशको प्रतीक्षा गरिएको थियो । यसैबीच, महराविरुद्ध बलात्कार आरोप लगाएर प्रहरीमा जाहेरी दिएकी रोशनी शाही पनि सोमबार इजलासमा पुगेकी थिइन् । उनले अदालतसमक्ष बयान फेर्दै महराले आफूलाई बलात्कारको प्रयास नगरेको तर्क गरेकी थिइन् ।
प्रतिक्रिया