ताजा अपडेट »

रुपन्देहीमा दुर्घटना न्यूनिकरण गर्न ‘अपरेशन ट्याङ्गो होटल’

विहीबार, २७ माघ २०७८

भैरहवा । रुपन्देहीमा सडकमा गुड्ने गाडीहरुमा सबैभन्दा धेरै गल्ती टिप्पर र हाइवाले नै गरिरहेका हुन्छन् । नम्बर प्लेटको समस्यदेखि ओभरलोड, भब्बर लोड, तिव्र गतिका कारण टिप्पर र हाइवाबाट प्राय बढी दुर्घटना हुने गरेको छ । जिल्ला ट्राफिक कार्यालयको तथ्यांकले पनि यो तथ्यलाई पुष्टि गरेको छ ।

कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार रुपन्देहीमा चालु आर्थिक बर्षको पुष मसान्त सम्ममा जम्मा ३० हजार ५ सय २९ सवारीलाई कार्यवाही गरि ३ करोड ४० लाख ३९ हजार ५ सय रुपैया राजस्व असुल गरेको छ । यसमध्ये २६ हजार ६ सय २८ वटा ट्रक, टिप्पर, हाईवाबाट सबै भन्दा बढी ३ करोड १२ लाख ६८ हजार रुपैया राजस्व संकलन गरेको छ ।

उठाएको राजस्व मध्ये करिब ९० प्रतिशत रकम ओभरलोड र भब्बरलोड बापत असुल गरिएको ट्राफिक प्रहरीको भनाई छ । यस बाहेक यी गाडीहरुले दुर्घटना गराउने संख्या पनि उल्लेख्य रहेको छ । टिप्पर र हाईवाबाट धेरै क्षति हुने गरेको र कार्यवाहीमा पनि यिनिहरु नै पर्ने गरेपछि जिल्ला ट्राफिक कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त सहकार्यमा रुपन्देहीमा दुर्घटना न्यूनिकरण गर्न ‘अपरेशन ट्याङ्गो होटल’ सुरु भएको छ ।

टिप्पर र हाईवाबाट हुने दुर्घटना न्यूकिरण गर्न रुपन्देहीमा बुधबारबाट टिप्पर÷हाईवा चेकजाँच कार्यक्रमलाई ‘अपरेशन ट्याङ्गो होटल’ नामबाट सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरिक्षक केशव केसीले जानकारी दिए । यसको लागी तिलोत्तमा नगरपालिकाको मधवलियामा ट्राफिक प्रहरी र नेपाल प्रहरीको अलग्गै टोली परिचालन गरिएको छ । यसले बिहान ४ बजे देखी साझ ५ बजे सम्म भैरहवा–बुटवल सडकमा गुड्ने टिप्पर र हाईवालाई मात्र चेकजाँच गर्नेछ । ‘विशेष गरि भब्बर लोड, ओभरलोड, कागजपत्र, नम्बर प्लेट, गति, टाईमकार्ड र पानी चुहिए नचुहिएको पनि निगरानी गर्दैछौं ।” केसीले भने “कमी देखिएका टिप्पर र हाईवालाई नियमानुसारको जरिवाना पनि लिने गरेका छौं ।”

अपरेशनको मूख्य उद्देश्य दुर्घटना न्यूनिकरण नै रहेको केसीको भनाई छ । यसले गर्दा यो बाटोमा हिड्ने सवारीहरुलाई सडकमै दुर्घटना तथा लेन अनुशासन बारे प्रशिक्षण पनि दिने गरिएको छ । “अपरेशन ट्याङ्गो होटल” बुधबार देखी लागु भएको र यसमा दैनिक १ सय ६० वटा सम्म टिप्पर र हाईवालाई चेकजाँच गरिएको छ । अपरेशनको प्रगतिबारे एक सातामा मात्र थाहा हुने भएको उनले जनाए । एक महिनामा यो अपरेशनबाट ट्राफिक प्रहरीले टिप्पर र हाईवाले गर्ने धेरै त्रुटिहरु सच्चिएर जाने विश्वास लिएको छ ।

यस बाहेक दुर्घटन न्यूनिकरणको लागी प्रदेश ट्राफिक प्रहरीको सहकार्यमा अन्य सचेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गरिएको ट्राफिक प्रहरी प्रमुख केशव केसीको भनाइ छ । प्रदेशसंगको सहकार्यमा “चालकसंग ट्राफिक प्रहरी कार्यक्रम” चलिरहेके उनले बताए ।

दुर्घटनामा ४८ जनाको मृत्यु

चालु आर्थिक वर्षमा सडक दुर्घटनामा परि अहिले सम्म ४८ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक कार्यालय, रुपन्देहीका अनुसार यो अवधिमा ७९ जना घाईते भएका छन् ।

दुर्घटना हुनेमा सबै भन्दा बढी मोटरसाईकल ६५ वटा र ट्रक, ट्रेक्टर १५ रहेका छन् । यस्तै दुर्घटना गराउने प्रमुख साधनहरुमा टिप्पर, कार, जीप लगायत रहेका छन् । समयका हिसाबले सबैभन्दा बढी दुर्घटना साँझको ६ बजे देखी राति १२ बजे सम्म ३० वटा र दिउसो १२ बजे देखी साँझको ६ बजे सम्म २३ वटा रहेका छन् ।

ट्राफिक प्रहरी प्रमुख केशव केसीका अनुसार दुर्घटनाको प्रमुख कारणहरुमा सवारीसाधनहरुको तिव्र गति, चालकको लापारवाही, यात्रुको गल्ती, चौपायाको कारण, ओभरटेक, मापसे, सडकको अवश्था लगायत रहेका छन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार तिव्र गतिका कारण चालु आर्थिक बर्षको पुषसम्म ६४ वटा दुर्घटनाहरु भएका छन् । यस्तै चालकको लापारवाहीले ७ वटा दुर्घटना भएको छ ।