ताजा अपडेट »

दूधको मूल्यवृद्धि विरुद्ध लुम्बिनीकी कृषि मन्त्रीलाई ज्ञापनपत्र

विहीबार, २७ माघ २०७८

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश कमिटीले दूधको मूल्यवृद्धि विरुद्ध कृषि, खाद्य तथा भूमि मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । टोलीले सचिव शान्ता कार्कीसँग भेट गरी ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै उपभोक्ता हित संरक्षण मञ्चका प्रदेश अध्यक्ष तेजकुमार पाठकले दूधको अस्वाभाविक मूल्य वृद्धिले खाद्य सम्प्रभूतामा गरिव विपन्न बालबालिका तथा वृद्धवृद्धाहरुको पहुँच समाप्त भएको र कुपोषणको कारण अनेक रोगहरु लाग्ने भन्दै बीचौलियाबाट हुने गरेको अचाक्ली मुनाफाको विरुद्ध तत्काल अनुगमन तथा नियमन हुनु पर्ने भन्दै मूल्य बृद्धिप्रति प्रदेश सरकार जवाफदेही बन्न ध्यानाकर्पणा गराएका छन् ।

उनले दूधको मूल्य नेपाल सरकारले रु ५६ दशमलव ४ पैसा बनाएको तर बजारमा भने ९५ रुपैयाँसम्ममा विक्री वितरण भएको भन्दै २० प्रतिशत प्रतिशत भन्दा ज्यादा लिन नहुने वातावरण तयार गर्नका लागि प्रदेश सरकारले समन्वय गर्नुपर्ने बताए । ‘२० प्रतिशतभन्दा बढी मूल्य लिनु कालाबजारी ऐन आकर्षित हुने हुँदा हामीले नियमनलाई कडा बनाउनु पर्छ, सरकारले यसमा ध्यान दिन आवश्यक छ ।’–उनले भने । प्रतिउत्तरमा मन्त्रालयकी डा. शान्ता कार्कीले संघीय सरकारले बढाएको मूल्य विरुद्ध जान नसकिने, लुम्बिनी प्रदेश सरकारले मूल्य नबढाएको भन्दै यसको लागि अनुचित मुनाफा लिनेहरुलाई कारवाहीको लागि जवाफदेहीपूर्वक समन्वयात्मक रुपमा लाग्ने प्रतिवद्धता गरेकी छन् ।

त्यसरी नै मन्त्रालयका प्रवक्ता तथा पशुपन्छी विकास महाशाखा प्रमुख तुल्सी भण्डारीले आमउपभोक्ताको गुनासो सम्बोधन गर्नको लागि तत्काल सरोकारवाहरुसँग छलफल गरी जिल्ला तथा स्थानीय तहसँग समन्वय गरी समस्याको निकास निकाल्न पहल गरिने बताए । त्यसरी नै पशु चिकित्सक लोकराज भुसालले कार्यक्रमको सहजीकरण तथा व्यवस्थापन गरेका थिए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका अध्यक्ष समुद्र जिसी, सदस्य सचिव लिलाधर लुइँटेल प्रदेश कमिटीकी सदस्य सरस्वती ढकाल, समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरे, युवा उद्यमी सुमन पाठक लेखक ऋषि आजादलगायतको उपस्थिति थियो ।