काठमाडौँ । गृह मन्त्रालयले आसन्न २०७९ साल वैशाख ३० गतेलाई घोषित स्थानीय तहको निर्वाचन सुरक्षा रणनीति, व्यवस्थापन र तयारीका लागि गृहकार्य सुरु गरेको छ । निर्वाचन सुरक्षा व्यवस्थापनमा राज्यका चारवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन गरिने भएको छ ।
विगत १० वर्षयता प्रहरी र सशस्त्र प्रहरीबाट अवकाशप्राप्त पूर्वसुरक्षाकर्मीलाई ‘म्यादी’ मा भर्ना गर्ने तयारी छ । गृह मन्त्रालयअन्तर्गत सुरक्षा तथा समन्वय महाशाखा प्रमुख एवं सहसचिव मुकुन्दप्रसाद निरौलाको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले निर्वाचन सुरक्षा व्यवस्था, त्यसका लागि आवश्यक तयारी, सुरक्षा जनशक्ति, परिचालन, मतदान केन्द्र र सुरक्षा अवस्थाका विषयमा गृहकार्य सुरु गरेको हो ।
वैशाख ३० गतेलाई निर्धारित स्थानीय तहको निर्वाचन सुरक्षा, तयारी, बन्दोबस्ती र परिचालनलगायतका विषयमा गृहकार्य तथा छलफल सुरु भएको सहसचिव निरौलाले बताए । मतदान स्थल, मतदान केन्द्र र उपमतदान केन्द्रको विवरण सङ्कलन तथा सङ्ख्याका सम्बन्धमा निर्वाचन आयोगसँग छलफल भएको छ ।उनले स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने निर्णयसँगै मतदान स्थल र मतदान केन्द्रको सङ्ख्या, त्यसका लागि आवश्यक सुरक्षा जनशक्ति, जिल्लागत तथा मतदान स्थलको सुरक्षा अवस्था र म्यादी प्रहरी भर्नाका सम्बन्धमा छलफल भएको थप जानकारी पनि दिए।
नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट १० वर्षको अवधिमा अवकाश लिएका पूर्वकर्मचारीको विवरण सङ्कलन गर्न सम्बद्ध निकायलाई निर्देशन दिइएको छ । सो सङ्ख्यापछि युवालाई म्यादी सुरक्षाकर्मीका रूपमा भर्ना लिइनेछ । मुलुकका ७७ वटै जिल्लाको सुरक्षा अवस्थाका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुखलाई राय सुझावका लागि सिफारिस गर्न पत्राचार गरिएको छ ।
जिल्ला सुरक्षा समितिको सिफारिसमा जिल्ला तथा मतदान स्थल र केन्द्रहरूलाई सुरक्षाको दृष्टिकोणले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन चरणमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइनेछ । त्यसका लागि आवश्यक बन्दोबस्ती सामग्रीहरू सवारीसाधन, हातहतियार, गोलीगठ्ठा, सञ्चार सेटलगायत सुरक्षा उपकरणको व्यवस्थापनका लागि पनि छलफल भएको जानकारी उनले दिए।
निर्वाचन सुरक्षामा मतदान स्थल सुरक्षाको पहिलो घेरामा प्रहरी, त्यसपछि म्यादी प्रहरी, सशस्त्र प्रहरी र सेनालाई राखिएको छ । छलफलमा प्रहरीका तर्फबाट कार्यविभाग प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र धानुक, सहायक रथी सञ्जय देउजा र सशस्त्र प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललगायत सुरक्षा अधिकारी सहभागी थिए। प्रहरी प्रवक्ता विष्णु केसीले प्रहरी प्रधान कार्यालय कार्यविभागका प्रमुख प्रहरी नायब महानिरीक्षक धानुकको कमान्डमा निर्वाचन सुरक्षा व्यवस्थापन तथा परिचालन कमिटी गठन भएको जानकारी दिए। सशस्त्र प्रहरी र सेनाले पनि आन्तरिक गृहकार्य भइरहेको जनाएको छ ।
गृह मन्त्रालयले निर्वाचन आयोग, चारैवटा सुरक्षा सङ्गठन र जिल्ला प्रशासन कार्यालयहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै आएको छ । सोही योजनाअनुसार निर्वाचन सुरक्षा तयारीसम्बन्धी छलफल अगाडि बढ्ने गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए ।
प्रतिक्रिया