ताजा अपडेट »

मौरी पालेर वार्षिक ४ लाख आम्दानी

सोमबार, १८ कार्तिक २०७६

कार्तिक १८,
ग्लोबल आवाज

सिन्धुली । कमलामाई नगरपालिका १० भिमानका जीवनाथ बराल व्यावसायिक मौरी पालनबाट राम्रो आम्दानी गरिरहेका छन् । उनले ३० वटा आधुनिक घारबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गरिरहेका हुन् । वि.सं. २०६३ सालदेखि नै मौरी पालन सुरु गरेका बराल अहिले पनि यही व्यवसायमा रमाइरहेका छन् । “सिन्धुलीको हावापानी मौरीका लागि उपयुक्त छ ।” उनले भने, “यो व्यवसाय गर्ने कोही पनि पलायन हुनुपर्ने अवस्था छैन, थोरै लगानीमा नै राम्रो आम्दानी गर्न सकिन्छ ।” जीविकोपार्जनमा मौरीले निकै सहयोग गरेको उनले बताए ।

२०६३ सालमा नै व्यवसाय सुरु गरेका उनले २०६५ सालमा तत्कालीन जिल्ला कृषि विकास कार्यालयबाट तालिम लिएपछि भने आधुनिक तरिकाबाट मौरी पालन गरिरहेका छन् । “आधुनिक घारबाट झनै बढी लाभ लिन सकिन्छ ।” उनले भने, “परम्परागत रुपमा गरिने मौरीपालन भन्दा आधुनिक घारमा गरिने मौरीपालनबाट राम्रो आम्दानी हुने रहेछ । अहिले पहिलेको भन्दा कमाई पनि दोब्बर भएको छ ।” एक घार मौरीले वर्षमा १० देखि १५ केजीसम्म मह उत्पादन हुने उनी बताउँछन् । मौरीले ४ महिनामा मह तयार गर्ने र यसरी वर्षमा ३ पटकसम्म मह काड्न सकिने उनले बताए । ३० घारबाट वर्षमा कम्तिमा पनि साढे ३ सय किलोभन्दा बढी मह उत्पादन गर्दै आएका छन् । उनले वर्षमा ४ लाखदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । अहिले मह प्रतिकिलो १ हजार रुपैयाँमा बिक्री हुने गरेको उनले बताए ।

अरु व्यवसायमा जस्तो दिन रात समय खर्चिनु नपर्ने र काम नभ्याइएला की भन्ने कुनै चिन्ता नहुने उनी बताउँछन् । “१५ दिनमा एक पटक एउटा घार बराबर ५ देखि ७ मिनेटको समय दिँदा हुन्छ ” उनले भने । थोरै लगानीमै राम्रो आम्दानी हुने भएकाले आफूले मौरी पालन गरेको बताए । उनले भने, “सुरुमा घार निर्माणका लागि मात्र लगानी गरे पुग्छ, त्यही पनि खासै खर्च हुँदैन ।”
बराल अहिले अरुलाई समेत मौरी पालन गर्नका लागि प्रोत्साहन गर्छन् । १३ वर्षको मौरीपालनको अनुभव बाँड्न अहिले उनी जिल्लाका विभिन्न ठाँउका साथै बाहिरी जिल्लामा समेत पुग्छन् ।
सामान्य किसानका रुपमा मौरीपालन व्यवसाय गरेका बराल अहिले सफल मौरीपालक किसानका साथै मौरीपालन सम्बन्धी तालिम प्रशिक्षकसमेत बनेका छन् । राधा मौरी फर्म घर प्रशिक्षण केन्द्र नै स्थापना गरी उनले तालिम दिँदै आएका छन् ।

त्यस्तै उनले आधुनिक मौरीका घारहरुसमेत बनाउने काम गर्छन् । उनले बनाएका आधुनिक घारहरु सिन्धुली, रामेछाप, उदयपुर, धनकुटा, इलाम, भोजपुरलगायतका ठाँउमा समेत बिक्री गर्ने गरेका छन् । जिल्लामा पहिलो पटक आफूले नै आधुनिक घार बनाएर मौरी पालनको सुरुवात गरेको उनको दाबी छ । आधुनिक तरिकाबाट मौरी पालन गर्न थालेसँगै जिल्लाका अन्य किसानहरुले समेत आधुनिक घार बनाएर मौरी पालन गर्न थालेको उनी बताउँछन् ।
सिन्धुलीमा पछिल्लो समय व्यावसायिक मौरीपालन गर्ने किसानहरुको संख्या पनि बढ्दै गएको छ । थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने भएपछि जिल्लामा मौरीपालन फस्टाउँदै गएको छ । -कारोबार