ताजा अपडेट »

एक वर्षमा १६ लाख नयाँ मतदाता थपिएको आयोगको अनुमान

मंगलबार, २५ माघ २०७८

काठमाडौं । निर्वाचन आयोगले एक वर्षमा करिब १६ लाखभन्दा बढी नयाँ मतदाता थपिएको अनुमान गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७७ पुस ६ देखि २०७८ माघ २४ गतेसम्म करिब १६ लाखभन्दा बढी नयाँ मतदाता थपिएको अनुमान गरेको बताए।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनको काम मङ्गलबारबाट स्थगित गरेको छ। निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली सङ्कलन हुने कार्यालयलाई मङ्गलबारदेखि मतदाता नामावली सङ्कलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन ७७ वटै जिल्लालाई निर्देशन दिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए।

जिल्लाबाट विवरण पठाएपछि थपिएको मतदाता सङ्ख्या थाहा हुने उहाँले बताउनुभयो। आयोगले एक वर्षको अवधिमा १६ लाखभन्दा बढी मतदाता थपिएको अनुमान छ। २०७७ पुस ५ गतेसम्म एक करोड ६२ लाख ४३ हजार ११० जना मतदाता रहेको आयोगले जनाएको छ। जसमा महिला मतदाता ८० लाख ३० हजार ९८४ र पुरुष मतदाता ८२ लाख ११ हजार ९५४ रहेको आयोगले जनाएको छ। साथै तेस्रो लिङ्गी मतदाता १७२ जना छन्।

२०७७ साल पुस ६ देखि २०७८ माघ २४ गतेसम्म १६ लाख मतदाता थपिएको आयुक्त थपलियाले जानकारी दिए । साथै यसलाई यकिन गर्न आजदेखि नयाँ मतदाता नामावली सङ्कलन रोकेर अद्यावधिक प्रारम्भ गरेको उनले बताए।स्थानीय तहको निर्वाचन सकिएको करिब चार–पाँच दिनपछि फेरि नयाँ मतदाता नामावली सङ्कलन सुरु गर्ने उनले बताए।

यसअघि नै आयोगले स्थानीय तह निर्वाचनका लागि १२ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरेको थियो। यसका लागि आयोगले योजना बनाइरहेको आयुक्त थपलियाले जानकारी दिनुभयो। यसबारे अहिले नै भन्न नसकिने उनले भने।‘माघ १८ गते प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा १२ अर्ब जति लाग्छ भनेर भनेका थियौं। तर यसभन्दा थोरै वा धेरै पनि लाग्न सक्छ,’ आयुक्त थपलियाले भने, ‘यसबारे अन्तिम निर्णय भएको छैन। निर्णय हुन आठ–दश दिन लाग्छ।’

२०७४ सालमा सम्पन्न भएको निर्वाचनमा आठ अर्ब खर्च लागेको थियो। साथै प्रदेश निर्वाचन कार्यालय, ७० निर्वाचन कार्यालय र ७५३ निर्वाचन अधिकृतको कार्यालयबाट २०७४ मा आठ अर्ब खर्च भएको थियो।