ताजा अपडेट »

आलमबिरुद्ध आज मुद्दा दायर हुँदै

सोमबार, १८ कार्तिक २०७६

कार्तिक १८,
ग्लोबल आवाज

काठमाडौँ ।नेपाली कांग्रेस नेता मोहम्मद अफताव आलमलाई जन्मकैदको मागदाबीसहित रौतहट जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता हुने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अपरान्ह आलमविरुद्ध मुद्दा दर्ता गर्न लागेको सरकारी वकिलको कार्यलयले जनाएको छ ।प्रहरीले आलमविरुद्ध अनुसन्धान रिपोर्टसहित आफ्नो राय जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ ।

अनुसन्धान प्रतिवेदनमा आलमलाई सर्वस्वसहित जन्मकैद वा आजीवन काराबासको सजायँ मागदाबी प्रहरीले गरेको छ ।पहिलो संविधानसभा चुनावताका २७ चैतमा रौतहट क्षेत्रनम्बर २ बाट कांग्रेस उम्मेदवार आलमले मतदानस्थल नजिकै बम पड्काएर बुथ कब्जा गर्ने योजना बनाएका थिए । उनको योजनाअनुसार गोठमा बम बनाउँदाबनाउँदै विष्फोटमा परी घाइते भएका व्यक्तिलाई इँटाभट्टामा हालेर हत्या गरेको अभियोग आलममाथि लागेको छ । उनीहरूका परिवारले किटानी जाहेरी दिएपछि गत असोज २६ गते आलम पक्राउ परेका थिए ।त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँको हत्या कसुरमा आलमलाई २५ वर्ष जेल, बम विष्फोटमा घाइते भएर बाँचेका सर्लाहीका सखी मोहम्मदको केसमा ज्यान मार्ने कसुरअन्तर्गत १० वर्ष जेल र विष्फोटक पदार्थ बनाएको कसुरमा पनि १० वर्ष जेल सजाय दिन प्रहरीले माग दाबी गरेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।