ताजा अपडेट »

नेपाली काँग्रेस कपिलवस्तुमा विवाद, संस्थापन पक्षले जारी गर्यो विज्ञप्ति

आइतबार, २३ माघ २०७८

बुटवल । कपिलवस्तुको कृष्णनगरका मेयर रजत प्रताप शाह नेपाली कांग्रेस प्रवेश गरेपछि पार्टीभित्र तीव्र विवाद भएको छ । संस्थापन समूहलाई जानकारी नै नदिई उनलाई कोइराला समूहले प्रवेश गराएको भन्दै सार्वजनिक रूपमै संस्थापन पक्ष विरोधमा उत्रिएका छन् ।

स्थानीय तहको निर्वाचनमा टिकट नपाएपछि बागी उठेर विजयी भएका कृष्णनगर नगरपालिकाको मेयर रजत प्रताप शाहलाई हिजो शनिबार पार्टी गराइएको थियो । प्रवेश गराउँदा सिनियर नेताको अपमान भएको संस्थापन पक्षको आरोप छ । तत्कालीन मधेसी जनअधिकार फोरमबाट टिकट नपाएपछि उनी बागी लडेर नगर प्रमुखमा विजयी भएका थिए ।

जिल्ला समितिले शाहको घरमै गएर पार्टी प्रवेश गराएपछि ३ नं. क्षेत्रीय सभापति, ३ (ख) प्रदेश सभापति तथा कृष्णनगर नगरसभापतिको हस्ताक्षरमा प्रेस विज्ञप्ति समेत जारी गरेका छन् । विज्ञप्तिमा भनिएको छ,–‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुको आयोजनामा कृष्णनगर नगरपालिका वड़ा नं.८ बहादुरगंज रजत प्रताप शाहको घरमा पार्टी प्रवेश कार्यक्रम रहेको भन्ने सुन्नमा आएको खबरप्रति नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. ३ को गम्भीर ध्यानाकर्षण भएको छ । यसरी क्षेत्रीय कार्य समिति, प्रदेश कार्य समिति ३ (ख) र कृष्णनगर नगरकार्य समितिलाई जानकारी नगराइ व्यक्तिगत रजत प्रताप शाहको घरमा गई पार्टी प्रवेश गराउनु आपत्तिजनक मात्र नभइ घोर निन्दनीय पनि रहेको छ । सिंगो पार्टी कै प्रतिष्ठामाथि आँच आउने गरी गरिएको यस कार्य समितिको नेपाली कांग्रेस क्षेत्रीय,प्रदेश ३ (ख) र कृष्णनगर नगर समितिले घोर भत्र्सना गर्दछ ।’