हिन्दु धर्म संस्कृतिमा माघ शुक्ल पञ्चमीका दिन भक्ति, श्रद्धाले मनाईने सारस्वतोत्सव अर्थात सरस्वती पूजनको विशेष एवं अनुपम स्थान रहेको छ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजन अर्चना शैक्षिक समुदायले विशेष पर्वको रुपमा प्राचीनकाल देखिनै मनाउँदै आएकोमा आजभोली सरस्वती जयन्ती एउटा व्यापक सांस्कृति चाडपर्वको रूपमा लिएको छ ।
सु धातुबाट सिर्जित सरस्वतीको अर्थ नै चलायमान गतिशिल, रस जलले भरिएको विश्वव्यापी, विश्व ब्रहमाण्डमा गतिशिल रहेको पाइन्छ । त्यसैगरी सरस्वती पूजा देखिनै नेपालका गुरुङ जातीको प्रसिद्ध धार्मीक नृत्य “घाटु“ प्रारम्भ हुने, वलामी जातिमा यसदिन मात्र परम्परागत विवाह गर्ने प्रचलन तथा वालवालिकाहरुको नाक कान छेड्नका लागि समेत यस दिन पवित्र, पावन र उपयूक्त मानिने गरिन्छ ।
संगित, कला, साहित्य र विद्याकी खानी र सरस्वतीको आज विधिपूर्वक पूजा आराधाना गरी स्तोत्र पाठ गरेमा पढ्न आउंछ भन्ने धार्मिक विश्वास छ । आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ ।
वैदिक शास्त्रमा देवी सोमतलाको लक्षण श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी सदैव मुस्कुराईरहेकी सर्वोत्तम रत्नहरुद्धारा निर्मित आभूषणले शुशोभित एकहातमा वीणा एक हातमा पुस्तक, एकमा स्फाटिकको माला र एक हातमा स्वरुप अभय मुद्रायूक्त रहेको राजहंस माथि सवार भएकी भनेर वर्णन गरीएको छ । देवी सरस्वतीको हातमा रहेको पुस्तक ज्ञानको प्रतिक, सङ्गगीतको प्रतिक वीणा एकाग्रताको प्रतिक माला सृष्टिको प्रतीक माला तथा नीरक्षीर विवेकी दुधबाट पानी छुट्याउन सकिने राज हंस जसले विवेकशील संसारमा रहेर पनि निर्लिष्ट र साधक व्यक्ति नै विद्याको अधिकारी हुन सक्ने जनविश्वास रहेकोछ ।
कैयन ठाउँमा यसलाई माघिया पञ्चमी वा श्रीपञ्चमी समेत भनिन्छ । वायु पुराणमा महादेवीका “श्री” र “सरस्वती” दुई रूपमा तथा प्रसिद्ध मार्कण्डेय पुराणमा “पधिम्नी” नामक विद्याकी देवीलाई लक्ष्मीको स्वरmप स्वीकार गरिएको छ । पञ्चमी तिथिको आधारमा मनाइने पर्वहरू जस्तै ऋषिपञ्चमी, नागपञ्चमी, विवाह पञ्चमी मध्ये श्रीपञ्चमीलाई सर्वोत्कृष्ट मानिएको छ ।
पुराणमा देवी सरस्वतीलाई विद्या, ज्ञान, विज्ञान, प्रविधि, कला, साहित्य, वाणी, र सङगीत देवीको रुपमा वर्णन गरिएको छ । प्राचीनतम पौराणिक मान्यता अनुसार राधा, पद्या, सावित्री, दुर्गा र सरस्वतीको रुपमा भगवान श्री कृष्णका विभिन्न अवस्थाहरुबाट प्रकट भएका थिए तथा माधवको कष्ठबाट उत्पन्न भएकी देवीको नाम सरस्वती रहन गएको भेटिन्छ । यसैक्रममा श्रीमद्देवी भागवत र श्री दुर्गा सप्तशतीमा समेत आद्याशक्तिद्धारा आफूलाई तीन भागमा अर्थात माहाकाली, महालक्ष्मी र माहासरस्वती विभक्त गरी जनकल्याण अपर्ण गरेको प्रसङ्ग रहेको छ ।
बेदमा जलदेवीको प्रख्यात सरस्वतीको शव्दिक अर्थ तलाउ बाली रहेको तथा विश्वास एवं मान्यता अनुसार ब्रहमा, विष्णु र महेश्वर देवताहरूले समेत देवी शारदाबाट ज्ञान शिक्षा प्राप्त गरेको उल्लेख छ । माहाभारतमा वेदकी जननी, जैन धर्ममा श्रुतिदेवी बौद्ध धर्ममा प्रज्ञादेवीको रुपमा अर्चित प्रज्ञादेवीको रुपमा बौद्ध धर्मका माध्यबाट जानमा प्रवेश गराईएकी विद्याकी अधिष्ठात्री देवी सरस्वतीलाई जापानमा वेन्जाइतेनको रुपमा अराधना गर्ने गरिन्छ ।
भगवती सरस्वती सत्वगुण सम्पन्न हुनुहुन्छ । देवीका अनेक प्रसिद्ध नामहरुमा वाक्, वाणी, गीः,गिरा, भाषा शारदा वाचा धीश्वरी, बाह्री, गौ, सोमलता महावाणी, भारती, आर्या, कामधेनु, वेदगार्भा, धीश्वरी र वाग्देवी आदि प्रसिद्ध रहेका छन् । भगवती सरस्वतीको महिमा, गरिमा र प्रभाव असीम रहेको तथ्य ऋग्वेदको सूत्र १२५को आठौं मन्त्रमा वर्णन गरिएकोछ । जसअनुसार राष्ट्रिय भावना प्रदान गर्ने ,लोकहित गर्ने, निर्माण एव निर्मात्री, विश्वकी अभिश्वरी, अनुग्रह प्राप्त भए पश्चात मनुष्य ज्ञानी ,विज्ञानी, मेधावी, महर्षि, ब्रहर्षि प्राप्त गर्दछ । सर्वत्र व्याप्त रहेता पनि देवीको स्वरुप निर्लेप, निरजन एवं निष्काम रहेकोछ ।
धार्मीक ग्रन्थहरुमा समस्त देवताकी प्रतिनिधि विद्या,बुद्धि, र सरस्वतीको पूजनका लागि दुध,दही,मखन, धानको लावा, सेतो तिलको लड्डु, उखु, मधु, श्वेतचन्दन, श्वेतफल, पुष्प, श्वेत अलंकार, अदुवा, मुली, शर्करा, तण्डुल, शुक्ल मोदक, घृत, नरिवल तथा यसको जल बदरीफल तथा ऋतुकालकोद्धव पुष्प आदिले देवीको आरधना गर्ने विधान रहेको छ । यसरी सरस्वती पूजाको पवित्र शुभ अवसरमा देवीको स्थानहरुमा भक्तजन र विषेशगरी विद्यार्थीहरुको ठूलो घुईचो लाग्ने गर्दछ । तर वर्तमान कोभिडको संक्रमणका कारण विद्यालय र विश्वविद्यालय बन्द प्रायःरहेको अवस्थामा घरमा नै पवित्र भएर देवी सरस्वतीको आरधाना र पूजा गर्नु राम्रो हुनेछ ।
वैदिक साहित्यमा वसन्त पञ्चमीलाई प्राकृतिक सौन्दर्य विकासको सूचक र सन्देशको रुपमा स्वीकार गरिएको पाईन्छ । संस्कृत साहित्यको प्रसिद्ध ग्रन्थ ऋतुसंहार अनुसार वसन्त महिनामा समस्त वातावरण, प्राकृतिक नै सुन्दर हुने तथ्यलाई प्रष्ट उल्लेख गरिएको छ यसरी वसन्त पञ्चमीले नवचेतना, प्राकृतिक सुषमा, सुन्दरता, कृषि सम्वृद्धि, मानव जीवनमा बोट वृक्ष, वातावरण, प्राकृतिक सौन्दर्य, जीवन र जीवमा जोवनको महत्व, शिक्षा, ज्ञान, विद्याको महत्वको सन्देश दिने भएकाले यस प्रति जागरूक संवेदनशील भई “विद्या धनम् सर्वधनम् प्रधानम्” लाई आत्मसात गर्नुपर्ने देखिन्छ । जय सरस्वती माता ।
प्रतिक्रिया