ताजा अपडेट »

फर्केर हेर्दा रुपन्देहीको स्थानीय निर्वाचनको मत परिणाम : कुन दलको शक्ति कति ?

शुक्रबार, २१ माघ २०७८
1 Shares

बुटवल । सत्तारुढ गठबन्धनमा जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बनेसँगै देशमा चुनावको चर्चा सुरु भएको छ । मिति घोषणा गर्ने विषयमा निर्वाचन सम्बन्धी ऐन संशोधन बारे लफडा कायम नै रहे पनि यो प्राविधिक विषय भएकाले ढिलो–चाँडो यसबारे पनि सहमति जुटेर देश निर्वाचनको दिशातिर अघि बढ्ने नै छ ।

सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी बनेको छ। तर सरकारले निर्वाचनको मिति भने घोषणा गरिसकेको छैन् । देश संघीयतामा गएपछि पहिलो पटक ३१ वैशाख २०७४ मा स्थानीय तहको पहिलो चरणको निर्वाचन भएको थियो । पहिलो चरणमा वैशाख ३१ गते, दोस्रो चरणमा असार १४ र तेस्रो चरणमा असोज २ मा निर्वाचन सम्पन्न भएको थियो ।

पहिलो चरणमा बागमती, गण्डकी र कर्णाली प्रदेशमा निर्वाचन भएको थियो भने दोस्रो चरणमा प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा निर्वाचन भएको थियो । तेस्रो चरणमा एक्लो मधेस प्रदेशमा निर्वाचन गरिएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पहिलो चरणको निर्वाचन गराएको थियो भने बाँकी निर्वाचन नेपाली काँग्रेसका सभापति शेरबहादुर नेतृत्वको सरकारले गराएको थियो ।

देशमा निर्वाचनको चर्चा भइरहेको बेला रुपन्देहीमा पछिल्लो निर्वाचनको मत परिमाणलाई फर्केर हेर्दाः
रुपन्देहीमा एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका गरी १६ वटा स्थानीय तहहरु रहेका छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेले बुटवल उपमहानगरपालिकासहित ७ वटा स्थानीय तह जितेको थियो ।

संघीय समाजवादी फोरमले ४, नेपाली काँग्रेस २, नेकपा माओवादी केन्द्र, मधेशी जनअधिकार फोरम र स्वतन्त्र उम्मेदवारले १/१ वटा स्थानीय तहमा जित हात पारेका थिए । नेकपा एमालेले बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका, कन्चन गाउँपालिका, सुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकाको प्रमुखमा जित हात पारेको थियो ।

यस्तै नेपाली कांग्रेसले देवदह नगरपालिका, मायादेवी गाउँपालिका र रोहिणी गाउँपालिकाको प्रमुख पद जितेको थियो । संघीय समाजवादी फोरमले कोटहीमाई गाउँपालिका, गैहहवा गाउँपालिका र मर्चवारी गाउँपालिकामा जित्दा माओवादी केन्द्रले भने ओमसतिया गाउँपालिकामा मात्रै जित हात पारेको थियो । सम्मरीमाई गाउँपालिकामा मधेशी जनअधिकार फोरमले र लुम्बिनी सांस्कृतिक नगरपालिकामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए ।
कुन पालिकामा कसले कति मत ल्याएका थिए ?

बुटवल उपमहानगरपालिका
बुटवल उपमहानगरपालिकामा नेपाली का्रगेस र माओवादीका संयुक्त उम्मेदवार खेलराज पाण्डेयलाई पराजित गर्दै नेकपा एमालेका शिवराज सुवेदीले जितेका थिए । एमालेका शिवराज सुवेदीले २३ हजार २४९ मत प्राप्त गर्दा कांग्रेसका पाण्डेयले २० हजार ८५१ मत ल्याएका थिए भने राष्ट्रिय जनमुक्ति पार्टीका जनकबहादुर थापा मगरले १ हजार १५१ मत पाएका थिए । यस्तै उपप्रमुखमा एमालेकी गुमादेवी आचार्यले २५ हजार ३०१ मत पाएकी थिइन् भने नेकपा माओवादीका जगत पोखरेलले १४ हजार ७९२ मत ल्याएका थिए । जनमुक्तिकी धनी आलेले १ हजार ५०६ मत पाएकी थिइन्।

तिलोत्तमा नगरपालिका
तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसका रामकृष्ण खाँणलाई पराजित गर्दै नेकपा एमालेका बासुदेव घिमिरेले निर्वाचित भएका थिए । एमालेका घिमिरेले २१ हजार ८६८ मत ल्याउँदै नगरप्रमुखमा निर्वाचित हुँदा उनका निकट प्रतिस्पर्धी कांग्रेसका खाँणले १९ हजार ९४ मत ल्याएका थिए । यस्तै माओवादीका महादेव खनालले २ हजार ६५१ र नयाँ शक्तिका ज्ञानप्रसाद भुतेलले ४६९ मत ल्याएका थिए । साथै उपप्रमुख पदमा एमालेकी जागेश्वदेवी चौधरीले २२ हजार ७१ मत ल्याएकी थिईन भने राष्ट्रिय जनमुक्तिकी गीता सारुले १८ हजार ७८४ मत ल्याउँदा माओवादीकी राधिका आचार्य शर्माले २ हजार ८५५ मत पाएकी थिइन् ।

देवदह नगरपालिका
देवदह नगरपालिकामा नेपाली कांग्रेसका हिरा बहादुर खत्री १० हजार २११ मत ल्याउँदै नगरप्रमुखमा निर्वाचित भएका थिए । उनका निकट प्रतिस्पर्धी टिकाराम जैसी चापागाईले १० हजार ९९ मत ल्याएका थिए । यस्तै उपप्रमुखमा नेकपा एमालेकी विधालक्ष्मी गुरुङले १० हजार २७७ मत ल्याएकी थिइन् भने माओवादी केन्द्रका टिका न्यौपानेले ७ हजार १११ मत पाएका थिए ।

सैनामैना नगरपालिका
सैनामैना नगरपालिकामा नेकपा एमालेका चित्रबहादुर कार्की १३ हजार ७३ मत ल्याउँदै नगर प्रमुखमा विजयी भएका थिए । उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका फणिन्द्रप्रसाद शर्माले १० हजार ३०५ मत पाएका थिए भने माओवादी केन्द्रका चेत नारायण न्यौपानेले २ हजार ४१७ मत ल्याएका थिए । यस्तै उपप्रमुखमा बिना रानाले १३ हजार २६१ मत ल्याउँदा नेपाली कांग्रेसकी लक्ष्मी चौधरी थारुले ९ हजार ७०९ मत र माओवादी केन्द्रकी दिपिका शर्माले २ हजार ३५७ मत ल्याएकी थिइन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका
लुम्बिनी सांस्कृति नगरपालिकामा स्वतन्त्र उम्मेद्वार मन मोहन चौधरीले ८ हजार १७१ मत ल्याएर निर्वाचित भएका थिए । यस्तै उनका निकट प्रतिस्पर्धी संघीय समाजवादीका फकरुद्दीन खानले ७ हजार ३९ मत ल्याएका थिए भने मधेशी जनधिकार फोरम नेपालका सजरुद्दीन मुसलमानले ३ हजार ५७५ मत ल्याएका थिए । यस्तै उपप्रमुखमा संघीय समाजवादी फोरमकी जानककीदेवी श्रीवास्तवले ४ हजार ७ सय २० मत, नेपाली कांग्रेसकी रमाउती यादवले ४ हजार ५८८ मत र मधेशी जनअधिकार फोरमकी राधेश्वरि बरईले ३ हजार १५९ मत पाएकी थिइन् ।

सिद्धार्थनगर नगरपालिका
सिदार्थनगर नगरपालिकाको प्रमुखमा एमालेका हरिप्रसाद अधिकारी निर्वाचित भएका थिए । अधिकारीले ६ हजार ७०५ मत ल्याउँदा नेपाली कांग्रेसका मातृकाप्रसाद यादवले ५ हजार २५०, राप्रपाका सागरप्रताप राणाले ४ हजार ६३७ र मओवादीका फैज अहमद खाँले ३ हजार ४०७ मत ल्याएका थिए । यस्तै उपप्रमुखमा एमालेकी उमा काफ्ले ६ हजार १७२, नेपाली कांगे्रसकी माधवी शर्मा वाग्लेले ५ हजार २२४ र माओवादीकी कमला थापाले ३ हजार १२९ मत ल्याएकी थिइन् ।

ओमसतिया गाउँपालिका
ओमसतिया गाउँपालिकामा माओवादीको हिरा केवट निर्वाचित भएका थिए । केवटले २ हजार ४४२ मत ल्याउँदा उनका निकट प्रतिस्पर्धी संघीय समाजवादी फोरमका मन्जित कूमार यादवले २ हजार ३११ मत र नेपाली कांग्रेसका महेन्द्र प्रताप चौधरीले २० हजार ८१ मत ल्याएका थिए । यस्तै उपप्रम्ुखमा माओवादी केन्द्रकी सुन्दरमती कुमारी हरिजनले २ हजार २६४ मत ल्याएकी थिइन् भने नेपाली कांग्रेसकी अमृता उप्रेतीले २ हजार १७२ मत र नयाँ शक्ति पार्टीकी जगत कुमारी चौधरीले २० हजार ७८ मत ल्याएकी थिइन् ।

कञ्चन गाउँपालिका
कञ्चन गाउपालिकाको अध्यक्षमा एमालेका गोकर्ण बहादुर क्षेत्रीले ६ हजार ७७७ मत ल्याएका थिए । उनका निकट प्रतिस्पर्धी कांग्रेसका डोल बहादुर थापाले ५ हजार ९६७ मत र राष्ट्रिय जनमुक्ति पार्टीका रुम बहादुर फौजाले ६६१ मत ल्याएका थिए । यस्तै उपाध्यक्षमा एमालेकी गोमा तरामुले ६ हजार ९२४ मत ल्याएकी थिइन् भने कांग्रेसकी तिर्थी कुमारी थरुनीले ५ हजार ५२९ मत र राष्ट्रिय जनमुक्ति पार्टीकी दान कुमारी थापाले ७८९ मत पाएकी थिइन् ।

कोटहीमाई गाउँपालिका
कोटहीमाई गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका चन्द्र भुषण यादव ३ हजार ३११ मत ल्याउँदै निर्वाचित भएका थिए । उनका निकट प्रतिस्पर्धी कांग्रेसका विरेन्द्र कलवारले ३हजार १८९ मत र स्वतन्त्र उम्मेद्वार बाल कृष्ण त्रिपाठी ले ३ हजार १४४ मत पाएका थिए । यस्तै उपाध्यक्षमा संघीय समाजवादी फोरम भानमती बनियाले ३ हजार २६ मत ल्याएकी थिइन् भने कांग्रेसकी सम्पाती यादवले २ हजार ६११ र स्वतन्त्र उम्मेद्वार असर्फी यादबले २ हजार ५७० मत ल्याएकी थिइन् ।

गैडहवा गाउँपालिका
गैडहवा गाउँपालिकामा अध्यक्षमा संघीय समाजवादी फोरम बछु केवट ५ हजार ४११ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकट प्रतिस्पर्धी कांग्रेसका बसि उल्लाह मुसलमानले ३ हजार ४१८ र एमालेका सुरेन्द्र पौड्यालले ३ हजार १४८ मत पाएका थिए । यस्तै उपाध्यक्षमा संघीय समाजवादी फोरमकी सुभावती यादवले ४ हजार ९९८ मत ल्याएकी थिइन् भने कांग्रेसकी मन्जु न्यौपानेले ३ हजार ३५९ र एमालेकी कलावती देवी जयसवालले २ हजार ९८५ मत पाएकी थिइन् ।

मर्चवारी गाउँपालिका
मर्चवारी गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका केशब नन्द बनिया ३ हजार ४०५ मत ल्याएर निर्वाचित भएका थिए । बनियाका निकट प्रतिस्पर्धी कांग्रेकाका ज्ञानप्रसाद मिश्रले २ हजार १६६ मत र स्वतन्त्र उम्मेद्वार राजकुमार सिहंले २ हजार १२२ मत ल्याउन सफल भएका थिए । यस्तै उपाध्यक्षमा संघीय समाजवादी फोरमकी सुनिता कलावरले २ हजार ५३ मत ल्याएकी थिइन् भने कांग्रेसकी श्रीकान्ती बरईले १ हजार ८३९ मत र स्वतन्त्र उम्मेद्वार कमलेश यादवले १ हजार ८२८ मत ल्याएका थिए ।

मायादेवी गाउँपालिका
मायादेवी गाउँपालिकाको अध्यक्षमा कांगेसका ध्रुव नारायण चौधरी २ हजार ८१६ मत ल्याएर निर्वाचित भएका थिए । चौधरीका निकट प्रतिस्पर्धी स्वतन्त्र उम्मेद्वार राम अधारे अहिरले २ हजार २५२ मत र बहुजन पार्टीका ओमप्रकाश लोधले २ हजार ५६ मत पाएका थिए । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी तारादेवी यादवले २ हजार २१३ मत पाएकी थिइन् भने मधेशी जनअधिकार फोरमकी राजकुमारी चौधरीले २ हजार १६९ मत र संघीय समाजवादी फोरमकी नर्वदा देवी उपाध्यायले २ हजार १४४ मत ल्याएकी थिइन् ।

रोहिणी गाउँपालिका
रोहिणी गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका सनोज कुमार यादव ३ हजार ७६० मत ल्याएर निर्वाचित भएका थिए । यादवका निकट प्रतिस्पर्धी राप्रपाका ताहीर अलि भाटले ३ हजार ५४२ मत र कांग्रेसका अकवाल मुसलमानले २ हजार ४५१ मत पाएका थिए । यस्तै उपाध्यक्षमा राप्रपाकी शिव कान्ती चमारले ३ हजार ५३१ मत पाउँदा संघीय समाजवादी फोरमकी रिमा मिश्राले ३ हजार ४५३ मत र कांग्रेसकी चक्रवती देवी योगीले २ हजार ५८५ मत पाएकी थिइन् ।

शुद्धोधन गाउँपालिका
शुद्धोधन गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका किशुन चन्द्र चौधरी ५ हजार ३७१ मत ल्याउँदै निर्वाचित भएका थिए । चौधरीका निकट प्रतिस्पर्धी कांगे्रसका भगवती प्रसाद थारुले ५ हजार १६ मत र संघीय समाजवादी फोरमका हरि प्रसाद गडेरिया पालले २ हजार ८२ मत ल्याएका थिए । यस्तै उपाध्यक्षमा नेकपा एमालेकी शानता देवी ज्ञवालीले ५ हजार ३९० मत पाउँदा कांग्रेसकी रामेश्वरी सिंहले ४ हजार ९५० र संघीय समाजवादी फोरमकी सर्य लक्ष्मी विश्वकर्माले २ हजार १२७ मत ल्याएकी थिइन् ।

सम्मरीमाई गाउँपालिका
सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा मधेशी जनअधिकार फोरम, नेपालका जितेन्द्र नाथ शुक्ल ३ हजार ६६ मत ल्याएर निर्वाचित भएका थिए । शुक्लका निकट प्रतिस्पर्धी कांग्रेस विनोद कुमार श्रीवास्तवले २ हजार १९६ मत र स्वतन्त्र उम्मेद्वार अशोक कुमार शुक्लले १ हजार ७९७ मत ल्याएका थिए । यस्तै उपाध्यक्षमा कांगे्रसकी कुमारी प्रियंका शाही सिह २ हजार ८१६ मत ल्याउँदा मधेशी जनअधिकार फोरमकी कमलावती अहिरनीले २ हजार १५० र स्वतन्त्र उम्मेद्वार कमालुद्दीन शेषमुले १ हजार ७५९ मत ल्याएकी थिइन् ।

सियारी गाउँपालिका
सियारी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अयोध्या थारु ६ हजार ५२ मत ल्याएर निर्वाचित भएका थिए । थारुका निकट प्रतिस्पर्धी कांगेसका थानेश्वर घिमिरेले ५ हजार ४०० मत र संघीय समाजवादी फोरमका उमा शंकर यादवले २ हजार ४९८ मत ल्याएका थिए । यस्तै उपाध्यक्षमा नेकपा एमालेकी अमृता गुरुङगले ६ हजार ५० मत पाउँदा कांग्रेसकी रिता चौधरीले ५ हजार १२९ मत र संघीय समाजवादी फोरमकी शुसिला थारुले २ हजार ४८४ मत ल्याएकी थिइन् ।