ताजा अपडेट »

पार्टीका भ्रातृसंगठनहरूको अधिवेशन चाँडै गराउन कांग्रेस महामन्त्रीद्वय जुटे आन्तरिक छलफलमा

बुधबार, १९ माघ २०७८

काठमाडौं। नेपाली कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संघको राष्ट्रिय अधिवेशन समयमा सम्पन्न गर्न नसक्दा सधैं आलोचना खेप्दै आएको छ । किसान संघको अधिवेशन हुन नसकेको झन्डै १५ वर्ष भइसकेको छ । नेपाल प्रेस युनियनको पनि अधिवेशन गर्न नसक्दा दुई कार्यकाल यसै गुज्रिइसकेको छ ।

नेपाल विद्यार्थी संघको अधिवेशन दुई वर्षअघि नै हुनुपर्ने हो । तर, सधैं तदर्थ समितिमार्फत काम चलाइँदै आएको छ । नेविसंघका वर्तमान अध्यक्ष राजीव ढुंगाना कांग्रेस केन्द्रीय समिति निर्वाचित भइसकेका छन् । कांग्रेस विधानअनुसार उनी अध्यक्षबाट स्वतः मुक्त हुनुपर्ने हो । तर, कांग्रेस नेतृत्वले अहिलेसम्म उनलाई निरन्तर काम गर्न निर्देशन दिएको छ ।

गत ३० साउनमा कांग्रेसका नौवटा भ्रातृसंगठनको कार्यकाल ६ महिना तोकिएको थियो । जसअनुसार माघ मसान्तसम्म सबैको अधिवेशन भइसक्नुपर्ने हो । तर, अहिलेसम्म कुनैको तयारीसमेत थालिएको छैन । यही बीचमा नेविसंघमा आबद्ध विद्यार्थी नेताहरूले तत्काल अधिवेशन गराउन माग गर्दै केन्द्रीय सदस्यहरूलाई ज्ञापनपत्र बुझाउन थालेका छन् । 

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले अधिवेशनको मागसहितको ज्ञापनपत्र पार्टी नेतृत्वलाई बुझाउने तयारी भइरहेको जानकारी दिए । तत्काल अधिवेशन गराउनुपर्ने पक्षमा रहेका विद्यार्थी नेताहरूले सामूहिक रूपमा ज्ञापनपत्र बुझाउने उनको भनाइ छ । 

२०७३ भदौमा काठमाडौंमा सम्पन्न ११औँ अधिवेशनमार्फत अध्यक्षमा नैनसिंह महर निर्वाचित भएपछि विधानतः प्रक्रियागत ढंगले नेविसंघले नेतृत्व पाउन सकेको छैन । महरको कार्यकाल सकिएपछि समय थप गरेर उनको कार्यकाल केही समय लम्ब्याइएको थियो । त्यसमा विवाद भएपछि पार्टीले राजीव ढुंगानाको नेतृत्वमा तदर्थ समिति गठन गरेको हो । ढुंगानालाई २०७६ माघमा अध्यक्षको जिम्मा दिइएको थियो । 

नेविसंघमा निर्वाचनमार्फत नयाँ नेतृत्व ल्याउन भनेर गठन गरिएको तदर्थ समितिका अध्यक्ष ढुंगाना कांग्रेस केन्द्रीय सदस्य बनेकाले केही समययता नेविसंघ कोमामा पुगेको भन्दै विद्यार्थी नेताहरूले अधिवेशन गराउन दबाब दिन थालेका हुन् ।

विधानअनुसार नेविसंघको अधिवेशन दुई वर्षमा गर्नुपर्ने व्यवस्था छ । पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित र मनोनीत भएपछि नेविसंघसहित कांग्रेसमा पाँचवटा भ्रातृ संघका प्रमुख पद रिक्त भएका छन् । नेविसंघसहित नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल दलित संघ र मुस्लिम संघका अध्यक्ष पार्टीको केन्द्रीय सदस्य भएपछि पार्टीको विधानअनुसार उनीहरूको पद रिक्त भएको हो ।

रिक्त भएका पदसहित पार्टीका सबै संघ तथा शुभेच्छुक संस्थाको अधिवेशन गराउन कांग्रेसलाई दबाब बढेको छ । यसैलाई प्राथमिकतामा राखेर छलफल गर्ने गरी कांग्रेसले यही हप्ताभित्र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने तयारी गरेको छ । बैठकमा भ्रातृसंस्थाहरूको अधिवेशन गराउने विषयलाई प्रमुख एजेन्डा बनाएको पार्टी उपसभापति धनराज गुरुङले बताए । 

सबै भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाहरूको अधिवेशनलगायत काम सम्पन्न गर्न पार्टीका महामन्त्रीहरूले त्यसको प्रस्तावित विधानबारे आन्तरिक छलफलमा जुटिरहेका छन् । नेता एनपी साउद नेतृत्वको टोलीले भ्रातृसंस्थाहरूको बारेमा तयार पारेको विधान प्रतिवेदनमाथि महामन्त्रीहरूले छलफल गरिरहेको पार्टीले जनाएको छ । 

महामन्त्री विश्वप्रकाश शर्मा शुभेच्छुक संस्थाहरूको अधिवेशन प्रक्रियागत ढंगले अगाडि बढाउने बताउँछन् । कुनै व्यक्ति वा पार्टीको लागि मात्रैभन्दा पनि राज्य व्यवस्था, प्रशासन र देशकै लागि नमुना हुने गरी भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको अधिवेशन गराउने उनको भनाइ छ ।

नेविसंघकी महामन्त्री उर्मिला थपलियाका अनुसार नेविसंघको महाधिवेशन गराउनेबारे विशेष तयारी भएको छैन । वर्तमान कमिटीले महाधिवेशन गराउने वा अधिवेशन गराउन अर्को कमिटी बनाउने भन्ने विषयमा पार्टीले निर्णय गरिनसकेको अवस्था भएकाले अधिवेशनको विषय अझै अन्योलमा परेको उनले बताइन् । अधिवेशन गर्न नसक्दा नेविसंघलाई ऊर्जाशील र चलायमान बनाउन नसकेको  यसमा आफ्नो पनि कमजोरी रहेको थपलिया स्वीकार्छिन् । 

राजनीतिक विश्लेषक जैनेन्द्र जीवन माउ पार्टीलाई अझै व्यवस्थित बनाएर भ्रातृ तथा शुभेच्छुक संस्थालाई सुधार्न ढिला भइसकेको बताउँछन् । पार्टीभित्रको गुट–उपगुट तथा शक्ति सन्तुलनका कारण पनि भ्रातृसंगठन लथालिंग बन्न पुगेको उनको बुझाइ छ ।