ताजा अपडेट »

रुपन्देहीको एक दाहसंस्कार गर्ने ठाउँमा बन्यो सुन्दर पार्क !

बुधबार, १९ माघ २०७८

भैरहवा । लुम्बिनी–खैरहनी बुद्ध परिपथ सडक खण्डको मानपकडीमा जिल्लाकै नमूना बाल उद्यान बनेको छ । “शुद्धोधन चिल्ड्रेन पार्क” नाम दिईएको पार्कमा बालबालिका मात्र उनिहरुको अभिभावक पनि रमाउन मिल्ने गरि थुप्रै जनावरका मूर्तिहरु राखिएका छन् ।

अहिलेको पार्क हेर्दा केही बर्ष अघि सम्म यहा लाश पोलिन्थे भनेर बिश्वास गर्नै गाह्रो हुन्छ आगन्तुकहरुलाई । मसानघाटको रुपमा रहेको दर्वाह क्षेत्रमा शुद्धोधन गाउँपालिकाले अहिले आकर्षक पार्क निर्माण गरे पछि यो क्षेत्रको परिचय नै फेरिएको छ । शुद्धोधन गाउँपालिका वडा नम्बर ५ दर्वाहमा पार्क बनाउन भने गाउँपालिकालाई त्यति सहज भएन । निर्माण सुरु गरे लगत्तै स्थानियहरुको बिरोध खेप्नु परेको थियो । पराम्परा देखी चल्दै आएको बताउदै स्थानियहरु मसानघाट मासेर पार्क बनाएको बिरोध गर्न थाले । पछि स्थानिय समेतको सहमतिमा गाउँपालिकाले मसानघाटलाई अर्को स्थानमा ब्यस्थापन गरे पछि मात्र पार्क बन्ने वातावरण तयार भयो ।

आर्थिक बर्ष २०७६/०७७ मा पर्यटन कार्यालयको ३० लाख बजेटबाट सुरु भएको पार्क अहिले जिल्लाकै नमूना पार्कको रुपमा निर्माण सम्पन्न भएको छ । गएको मंसिर १ गते देखी सञ्चालनमा आएको पार्कमा बिभिन्न जनावरका आकृतिहरु स्थापना गरिएका छन् । जिराफ, सिंह, बाघ, चितुवा, गैडा, कंगारु, उट, डाईनासोर देखी गोरिल्ला सम्मका आकृतिहरुले बालबालिका मात्र नभई यहा पुग्ने सबैको मन लोभ्याउने गरेका छन् । किनारमा पाम ट्री, गौतम बुद्धको मूर्ति र वाटर फाउण्टेनले यसलाई थप आकर्षक बनाएको छ । छेवैमा रहेको सुखली घोलामा बाँध बनाई पानी जम्मा गरिएको छ । पार्क अवलोकनको लागी आउने आगन्तुकलाई त्यहाँ डुङ्गा शयर गराउने गाउँपालिकाको योजना रहेको छ ।

शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत झविलाल भट्टराईका अनुसार २ करोड बढीको लागतमा उक्त पार्क तयार भएको छ । “पर्यटन क्षेत्रको बिकास होस र शुद्धोधनको यो क्षेत्रलाई कसरी पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न सकिन्छ भन्ने उद्देश्य लिएर पार्कको निर्माण गरेका हौं ।” भट्टराईले भने “लुम्बिनी आउने पर्यटक र अन्य स्थानिय पर्यटकलाई यहा सम्म ल्याउनका लागी पार्कले महत्वपूर्ण भूमिका खेल्नेछ ।” उनले रुपन्देहीमा भएका १६ वटै स्थानिय तह मध्ये उदाहरणिय पार्क स्थापन गरिएको भट्टराईको दावी छ । जनावरका मूर्तिहरुलाई झापाको उर्लाबारीबाट ल्याएको र सबै टिकाउ फाईबरले निर्माण गरिएको उनको भनाई छ । उनले पार्कमा अझै काम भई रहेको बताए ।

पार्कको ब्यवस्थापनको जिम्मा स्थानिय दर्वाह टोल बिकास संस्थालाई दिईएको छ । संस्थाले ५ बर्ष सम्मका बालबालिकालाई प्रवेश शुल्क निशुल्क गरेको छ भने अन्यको हकमा २० रुपैया तोकेको छ । पार्क अवलोकनैकै लागी अहिले दैनिक १ सय जनाको हाराहारीमा आउने गरेको दर्वाह टोल बिकास संस्थाका सचिव जिवलाल पौडेलले बताए । शनिबार अवलोकनकर्ताहरु बढ्ने गरेका छन्, त्यो दिन ५ सय सम्म अवलोकनकर्ता पुग्ने गरेको पौडेलको भनाई छ । पार्कको गुरुयोजना नै बनाएर अगाडी बढेको पौडेलको भनाई छ ।