ताजा अपडेट »

महराको थुनछेक बहस आज

आइतबार, १७ कार्तिक २०७६

कार्तिक १७,
काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज हुँदै छ ।गत शुक्रबार जिल्ला अदालत, काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र महराको बयान लिइएको थियो। शुक्रबार जिल्ला अदालत काठमाडौँका न्यायाधीशसमक्ष आरोपित महराले करीब ५ घण्टा इन्कारी बयान दिएका थिए ।

आजको थुनछेक बहस सकिएमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्ने मध्ये एक आदेश हुनेछ ।बिहीबार महराविरुद्ध सरकारी वकिलको कार्यलयले जिल्ला अदालत काठमाडौँमा जबर्जस्ती करणी उद्योग अन्तर्गत मुद्दा दर्ता गरेको थियो । जसअनुसार साढे सात वर्षसम्म कैद दाबी गरिएको छ । संसद सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरा केही दिन सिंहदरबार प्रहरी वृत्तको हिरासतमा बसेका थिए । तर, अस्वस्थ भएको भन्दै अस्पताल भर्ना गरिएको थियो । त्यसयता उनी नर्भिक अस्पतालमै छन् ।