ताजा अपडेट »

टर्की र सिरियाली सीमा नजिकै कार बम विस्फोट

आइतबार, १७ कार्तिक २०७६

कार्तिक १७,
काठमाडौँ । टर्कीसँग सिमाना जोडिएको तल अबियाद शहरमा कार बम विस्फोट हुँदा कम्तिमा पनि १३ जनाको ज्यान गएको छ । टर्कीको रक्षा मन्त्रालयका अनुसार शनिबार भएको कार बम विस्फोटमा परी १३ जनाको मृत्यु भएको हो । ‘प्रारम्भिक जानकारी अनुसार १३ जनाको मृत्यु भएको छ भने झण्डै २० जना घाइते भएका छन्’, रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

टर्कीको रक्षा मन्त्रालयले कार बम हमला कुर्दिश लडाकुहरुले गरेको आरोप समेत लगाएको छ । ‘आतंककारी समूह पिकेके/बाइपिजीले अपरेशन पिस स्प्रिङपछि आफ्नो घर फर्किएका मानिसलाई लक्षित गरी तल अबियादमा आतंककारी हमला गरेको छ र हामीले उक्त हमलाको निन्दा गर्छौै’, मन्त्रालयले ट्विटरमा भनेको छ । तर हमलाको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन । कार कम विस्फोटलगत्तै मृतक तथा घाइतेहरुलाई एउटा पिकअप ट्रकमा राखिएको थियो । सिरियन अबजर्भेटरी फर ह्युमन राइट्सले बम विस्फोटमा परी टर्की समर्थित लडाकुसहित सर्वसाधारणको ज्यान गएको बताएको छ । कुर्दिश लडाकुको नियन्त्रणमा रहेको तल अबियाद शहरलाई केही दिनअघि टर्कीको सेनाले नियन्त्रणमा लिएको थियो । टर्कीले कुर्दिश लडाकुलाई लक्षित गरी सुरु गरेको सैन्य कारबाहीपछि उक्त शहरमा दुबै पक्षबीच भिषण भिडन्त समेत भएको थियो ।- एजेन्सी