ताजा अपडेट »

राष्ट्रिय युवा संघ रुपन्देहीद्वारा वृहत रक्तदान, १२५ यूनिट रगत संकलन

मंगलबार, १८ माघ २०७८

बुवटल । राष्ट्रिय युवा संघ नेपालको सप्ताहव्यापी रक्तदान अभियान अन्तरगत रुपन्देहीमा मँगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ रुपन्देहीले बुटवलको रक्तसञ्चार केन्द्रमा आयोजना गरेको कार्यक्रममा १२५ यूनिट रगत संकलन भएको छ ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ रुपन्देहीले आयोजना गरेको रक्तदान कार्यक्रममा युवाहरुको सक्रिय सहभागिता रहेको कार्यक्रम संयोजक तथा राष्ट्रिय युवा संघ जिल्ला कार्यसमिति सदस्य दिपक खड्कीले बताए । नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ रुपन्देही ईन्चार्ज केशव रोकाले सामाजिक अभियानसँगै स्वास्थ्य क्षेत्रमा समेत युवाहरुको योगदानका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको उल्लेख गरे । रगत नपाएर कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्यका लागि यो अभियानले सहयोग गर्ने उनले उल्लेख गरे । राष्ट्रिय युवा संघले सप्ताहव्यापी रुपमा देशका अन्य जिल्लाहरुमा समेत यसैगरी रक्तदान कार्यक्रमको आयोजना गरिरहेको उनले जानकारी गराए ।

राष्ट्रिय युवा संघ रुपन्देहीका अध्यक्ष मनोज गौचन, युवा नेताहरु दिनानाथ भट्टराई, सुरज खरेल लगायतको उपस्थिती रहेको रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो । मुलुकका विभिन्न आन्दोलनहरुमा मात्रै होइन मानवीय सेवामा पनि युवा संघ तयार छ भन्ने सन्देश यो अभियानले दिने उनीहरुले बताए । रत्तदाताहरुलाई प्रमुख अतिथी राष्ट्रिय युवा संघ रुपन्देही ईन्चार्ज रोका लगायत उपस्थित अतिथीहरुले प्रमाणपत्र प्रदान गरेको सदस्य कृष्ण कुमालले जानकारी दिए ।