काठमाडौँ । उपत्यकाको बजारमा सिटामोल सहजै पाइन थालेको छ । सरकारले नियमित बजार अनुगमन गरेर सिटामोल उत्पादन र वितरण प्रणाली व्यवस्थित गर्न दिएको निर्देशनपछि बजारमा हाल सहज रूपमा सिटामोल सहज उपलब्ध हुन थालेको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार र सोमबार उपत्यकाका विभिन्न ठाउँमा राखिएका औषधि पसलको अनुगमनका क्रममा सबैतिर सिटामोल पाइन थालेको जनाएको छ । विभागका बजार निरीक्षक अधिकृत धनेश्वर पौडेलले अहिले हरेक औषधि पसल वा फार्मेसीमा सबै उपभोक्ताले सहज रूपमा एक पत्ता सिटामोल प्राप्त गर्न थालेको बताए ।
उनका अनुसार आइतबार छवटा औषधि पसल र सोमबार चारवटा औषधि पसलको अनुगमन गर्दा सबैमा सिटामोल भएको पाइएको छ । उनले भने, “ती औषधि पसलमध्ये केहीमा भने दर्ता नवीकरण नभएका, बिलबिजक व्यवस्थित नगरेका समस्या भने पाइएकाले जरिवाना पनि गरेका छौँ । ”
बजार निरीक्षक अधिकृत पौडेलले भने, “एक जना उपभोक्ताले एक पत्ता सिटामोल सजिलै सबै ठाउँमा किन्न पाउँछन् । अधिकांश औषधि पसलेले एक पत्ता मात्रै सिटामोल दिने नीति लिएका छन् । ” अझै ‘स्टक’ पर्याप्त नभएका कारण एक जनालाई एक पत्ता सिटामोल दिने औषधि पसलेको नीतिले आमउपभोक्तालाई धेरै राहत भएको उनको भनाइ छ ।
औषधि व्यवस्था विभागका निर्देशक सन्तोष केसीले नेपाल औषधि लिमिटेडले विगत १० दिनदेखि दैनिक तीन लाखका दरले सिटामोलका ट्याब्लेट उत्पादन गर्न थालेकाले अहिले अभाव हटिसकेको बताए। सिटामोलको विषयमा अनुगमन नियमित भइरहेको र अहिले बजारमा सरकारी स्वामित्वको उद्योग र निजी क्षेत्रबाट सञ्चालित सबै उद्योगबाट पर्याप्त सिटामोल उत्पादन भइरहेकाले तत्काल अभाव नहुने उनको भनाइ छ ।
प्रतिक्रिया