ताजा अपडेट »

मौरिससविरुद्ध लगातार जितको दाउमा नेपाल

सोमबार, १७ माघ २०७८

काठमाडौं । चोटबाट ‘कमब्याक’ गरेका फरवार्ड विमल घर्ती मगरको निर्णायक गोलमा पहिलो खेल जितेको नेपालले भोलि (मंगलबार) दोस्रो खेलमा समेत दशरथ रंगशालामा मौरिससविरुद्ध खेल्दै छ । 

अपराह्न पौने ५ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने दाउमा रहनेछ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले आफ्नो दोस्रो टिमबाट समेत जित चाहन्छन् । 

पहिलो खेलमा अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँग खेलेका १२ खेलाडी दोस्रो खेलमा समेत रहेका छन् । चोटबाट फर्कने प्रयासमा रहेका र अवसरको खोजीमा रहेका खेलाडीका लागि दोस्रो खेल मौका बन्न सक्नेछ ।  

यता, मौरिसससमेत आफ्ना खेलाडी कोरोनाबाट फर्किने हुँदा उच्च मनोबलमा छ । अढाई वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको मौरिसस पहिलो खेलको तुलानामा दोस्रो खेलमा नेपाललाई दबाबमा सृजना गर्ने योजनामा छ । 

पहिलो खेलमा अफ्रिकन राष्ट्र मौरिसस शारीरिक रुपमा बलियो देखिएको थियो । सोहीअनुुसार उसले पहिलो हाफ आफ्नो नियन्त्रणमा राख्दै दुई राम्रा मौकासमेत सृजना गरेको थियो । यद्यपि मौरिसस फिनिसिङमा चुकेको थियो । 

यता, शारीरिक रुपमा बलियो रहेको मौरिससविरुद्ध पहिलो हाफमा फिक्का देखिए पनि नेपालले दोस्रो हाफमा लय समातेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी गरेको पत्रअनुसार पाँच हजार दर्शक उपस्थित रहेको मैदानमा विमल घर्ती मगरले ५५औं मिनेटमा गोल गर्दा नेपालले आफ्नो गति समात्यो ।