ताजा अपडेट »

बुटवलमा हुने भनिएको ‘लाफा’ बि लेभल व्याडमिन्टन कोरोना महामारीले स्थगित

सोमबार, १७ माघ २०७८

बुटवल । लाफा समुह बुटवलले माघ तेस्रो साताबाट गर्ने तयारी गरेको ‘लाफा’ बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता २०७८ स्थगित गरेको छ । कोभिड-१९ को तेस्रो संक्रमण (ओमिक्रोन भेरियन्ट) बढ्दै गएपछि समुहले निर्धारित समयमा नगर्ने र हाललाई स्थगित गर्ने निर्णयमा पुगेको हो ।

समुहको सोमबार बसेको बैठकले हाललाई प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको प्रतियोगिताका संयोजक तथा समुहका उपाध्यक्ष बबिन थापाले जानकारी दिए । यस्तै कोभिड संक्रमणको परिस्थिती र सरकारको कोभिड संक्रमण सम्बन्धि नयाँ निर्णय अनुसार प्रतियोगिताको नयाँ मिति तय गर्ने समुहका अध्यक्ष तारा रेश्मीमगरले जानकारी दिए । समुहले माघको २२ र २३ गते २ दिने लाफा बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।

लगातार ३ वर्षसम्म राष्ट्रिय लेभलको व्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएको समुहले यस वर्ष स्थानीय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ बि लेभलको प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।