काठमाण्डाैं । फागुन महिनामा पोखरामा आयोजना हुने भनिएको नवौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता अन्योलमा परेको छ । एक वर्षअघि २०७७ फागुन २१ देखि २८ सम्म आयोजना हुने तय भएको राष्ट्रिय खेलकुद कोभिड–१९ (कोरोना महामारी) का कारण यस वर्षलाई सारिएको थियो । तर कोरोनाको महामारी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव बिहीन बन्दा राष्ट्रिय खेलकुद पुनः अन्योलमा परेको हो ।
कोरोनासँगै खेलकुदमा मौलाएको अस्वस्थ राजनीतिले नवौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता अनिश्चित भएको राखेप प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेतले बताए । ‘यतिखेर राष्ट्रिय खेलकुदको ‘काउन्ट डाउन’ हुनुपर्ने थियो । पूर्वाधार, बजेटको व्यवस्था, समावेस खेल, खेलाडी छनोटलगायत धैरै तयारी अगाडि बढाउनु पर्दथ्यो । अहिलेसम्म के कसरी गर्ने भन्ने कुनै योजनानै बनाउन सकिएको छैन । प्रतियोगिताको नयाँ मिति समेत घोषणा हुन नसक्दा समग्र खेलकुद क्षेत्र नै अन्योलमा परेको छ । सरकारले निर्वाचनको घोषणा गरेको खण्डमा राष्ट्रिय प्रतियोगिता हुने सम्भावना झनै रहन्न,’ बस्नेतले भने ।
राखेपको कार्यकारी पदाधिकारी सदस्य सचिवको बर्खास्ती र नियुक्ती प्रक्रियाले पनि अहिले खेलकुदलाई ठूलो अफ्ठेरोमा पारेको बस्नेतले बताए । ‘सदस्य सचिव नियुक्तीको विषयमा सर्वोच्च अदालतमा रिट परेको छ । रिटको टुङ्गो नलाग्दा खेलकुदको सम्पूर्ण गतिविधि ठप्प छ । खेलकुदका कर्मचारी र प्रशिक्षकले मंसिरदेखि तलब पाउन सकेका छैनन् । यसैबीच चीनमा आयोजना हुने एसियाली खेलकुदको तयारी रोकिएको छ । सबै खाले प्रतियोगिता आयोजना र सहभागिता शून्य अवस्थामा छ,’ बस्नेतले भने ।
अहिले अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल क्रिकेट संघ (क्यान) ले मात्र राष्ट्रिय टिमलाई चलायमान गराउन पहल गरेका छन् । अन्य खेलकुद संघ कोरोनालाई कारण देखाउँदै गतिहिन छन् । प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य सहित २०३८ सालबाट सुरु भएको राष्ट्रिय खेलकुद हालसम्म आईपुग्दा आठौँ संस्करणमात्र सम्पन्न भएको छ । आठौँ संस्करण २०७५ सालमा नेपालगन्जमा भएको थियो ।
मुख्य मारमा खेलाडी
राष्ट्रिय प्रतियोगिता समयमै नहुँदा त्यसको मुख्य मार खेलाडीमा परेको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले बताए । ‘राष्ट्रिय खेलकुद भनेको खेलाडी उत्पादनको मुख्य थलो हो । खेलकुद प्रतियोगिता समयमा नहुँदा भएका खेलाडीको तयारी रोकिएको छ । खेलकुदमा लाग्छु भन्ने नयाँ प्रतिभालाई निराश बनाएको छ । यसले खेलाडीको खेल जीवनमा दिर्घकालीन असर पर्छ,’ श्रेष्ठले भने,‘ खेलकुद ठप्प हुँदा उमेर समुहको खेलाडीले उमेरकै कारण खेल गुमाउँछन् । भएका खेलाडीले पनि अभ्यास र तयारीमा अल्छी गर्छन् ।’
खेलाडी पलायनको त्रास
राष्ट्रिय प्रतियोगिता नहुँदा भएका खेलाडी समेत पलायन हुने क्रम सुरु भएको नेपालका चर्चित एथलेटिक्स धावक राजेन्द्र भण्डारीले बताए । ‘खेल्न पाइने लोभले विभागीय टोलीमा खेलाडीको आकर्षण बढेको हो । तर नियमित प्रतियोगिता नहुँदा खेलाडी विदेश जान लालायित छन् । विभागबाट खेलिरहेको खेलाडी विदेशमा गएर सामान्य काम गरेपनि राम्रो कमाई गर्छ । प्रतियोगिता भएनै आकर्षण बढ्ने र खेलाडी खेलमा भुल्ने हो,’ त्रिभुवन आर्मी क्लबका भण्डारीले भने ।
भण्डारीका अनुसार घरेलु खेलकुदलाई चलायमान गराउने सबैभन्दा महत्वपूर्ण माध्यम नै राष्ट्रिय खेलकुद प्रतियोगिता हो । विश्वका हरेक देशले प्रतिभावान् खेलाडी उत्पादन गर्न नियमित रुपमा राष्ट्रिय खेलकुद आयोजना गर्छन् । खेलकुद प्रतिभाहरू देशका कुनाकाप्चामा पनि लुकेर रहेका हुन्छन् भन्ने मान्यतालाई आधार बनाएर नै यस्तो प्रतियोगिता आयोजना गरिन्छ । तर प्रतियोगिता नियमिति नहुँदा जिल्ला र प्रदेशबाट खेलाडी छनोट हुने क्रम रोकिन्छ । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने क्षमतावान खेलाडीको उत्पादनमै धक्का पुग्छ । -गाेविन्द रेग्मी/गाेरखापत्र
प्रतिक्रिया