देशका सम्पूर्ण नेतागणहरुमा मेरो हार्दिक नमस्कार । पत्र कहाँबाट सुरु गरौँ ?के लेखौँ ?तैपनि आज २०७८ सालको शहिद दिवस परेकोले केही कोर्न आँट गर्दैछु । स्वीकार गर्नुहोला । पत्र त कोरे । तर, तपाइँहरुलाई यो पत्र वाचन गर्न समय छैन होला । तर, कृपा गरी यो पत्र पढ्ने प्रयास गर्नुहोला । देश र जनताका लागि संघर्ष गरेको भनेर बेलाबेलामा भन्ने तपाइँहरुले हामी जस्ताको मनमा के चलिरहेको छ भन्ने बुझ्ने कोशिस गर्नुहोला ।
नेतागणहरु, तपाइँहरुलाई आरामै छ होला । सत्ता बाँडीचुँडी, छिनाझपटी छ । कहिले म्याउ, कहिले ङ्यार्र, गर्दै । कहिले सत्तामा, कहिले बाहिर। सत्तालिप्सा पनि कति चरम हो तपाईँहरुको ? केही समय सत्ता बाहिर भए छटपटीले बसिखप्न हुँदैन । सत्तामा पुग्यो आफ्नो भुँडी भर्न र भराउन हतारो । कति ठूलो हो त्यो भुँडी ? जति हालेपनि नभरीने ? जति खाएपनि नढाडिने ? अनिकाले । नेताहरुको त महान छाती हुनुपर्ने हो । तपाइँहरुको त भुँडीनै ठुलो । विगहोल पनि छिर्छ होला है ? मलाई त त्यस्तै लाग्छ ।
मेरो हालत त तपाईँहरुलाई कसरी थाहा होला ? तपाईँको घरको कुकुरको जत्तिको हालतमा रहन सकेको भए पनि म आँफूलाई भाग्यमानी ठान्ने थिए । जनवारको पनि अधिकार हुन्छ । यो शब्दले कुकुरको अधिकार हनन् नहोस् । वास्तवमा आज मेरो नियती गल्लिको कुकुरको जस्तै छ । इमान्दारीता र बफादारीतामा भने मेरो कुकुरको जस्तै बानी छ भन्दा मलाई अप्ठ्यारो लाग्दैन । तर म मानव हुँ ।
नेता ज्यूहरु, जीवनका कतिपय सपनाहरु जहाँ पुगेर तुहिन्छन्, त्यही मोडबाट नयाँ सपनाको जन्म हुन्छ भन्छन् । मेरो हकमा यो भनाई लागु भएन । मेरो जीवनको उर्जाको अन्त्य अपाङ्गतामा लगेर टुङ्ग्याइयो । मलाई गोली लाग्यो । बाँच्ने आशा थिएन । भगवान भरोसा धन्न बाँच्न पुगेछु । उचित उपचार र हेरबिचार पाएको पए पक्का नयाँ सपनाको सम्भावना थियो । तर त्यसो हुन सकेन । म गाउँबाट एउटा असल राजनीतिक प्राणी बन्न शहरमा आए । स्नातक पढ्दै गर्दा दोस्रो जनआन्दोलनमा होमीए । बहुअपाङ्ग भएर अहिले जीवन र मरणको दोसाधमा रहेको छु । अपाङ्ग भएका कारण मेरा सपनामा पुर्णविराम लाग्यो ।
०६३ पछि देशमा सबै ठूला दलबाट तपाईँहरु सरकारमा जानुभयो । मैले विलौना गर्दै गरे । उपचार, रोजगारको माग राखे । तथापि कसैलाई सुन्ने फुर्सद भएन । मलाई आफू वेसाहरा भएकोमा चिन्ता हुने थिएन । यदि देशले परिवर्तको सही आभाष पाउन सकेमा । जीवनमा धोकाको भारी बोकेर युवा अवस्थाको उत्तारार्धसम्म धकेले । तर, अनायस अब विश्रामको बेला आए जस्तो अनुभव भइरहेको छ । विश्राम लिनु मेरो वाध्यता हो । आज म मृत्युको संघारमा छु । अब सहयोगको सार्थकता सकियो । तर्पार्इँहरुको भिख अब चाहिएन । तैपनि अन्य म जस्ता पीडित र सम्पूर्ण नेपालीहरुलाई उप्रान्त परिवर्तनको आभाष दिनुहुन विन्ति बिसाएको छु । सायद यो मेरो अन्तिम पुकार रहनेछ ।
देशका लागि लडेँ, धोका पाए । जिउँदो शहिदको हल्का बिल्ला भिराइयो । बस् । स्पष्ट शब्दमा भन्नुपर्दा तपाईँहरुले मलाई बलात्कार गर्नुभयो र बेवारिसे बनाएर छाड्नुभयो । म अहिले घिस्रियर हिड्नुपरेको छ । अरुको साहारा लिनुपरेको छ । म सद्धे हुन्थे भने राजनीतिले धोका दिएपनि बाँच्ने बाटाहरु धेरै थिए ।केही न केही उपाए निकाल्थे । तपाईँहरुसँग भिख मागेर बस्नुपर्ने थिएन । जनआन्दोलनमा होमिएका कारण पढाइ रोकियो । पेशा व्यावसाय केही भएन । रोजगार भएन । म अधकल्चो भए । अहिले म शारिरीक, मानसिक रुपमा विक्षिप्त अवस्थामा छु । अतः म आँफू आँफैलाई बोझ भएको छु । पृथ्वीको भार भएर बाँच्नु सारै पीडा हुँदो रहेछ । बाआमाका लागि केही गर्न सकिन । चिन्तै चिन्तामा उहाँहरु स्वर्गवास हुनुभयो । श्रीमतीले पनि मलाई त्यागेर अरुलाई अगाल्न पुगिन्। उनले मलाईँ त्याग्नुमा पनि तपाईँहरुनै दोषी हो ।
आज मलाई मेरा बुबाले भन्ने गरेको कुरा याद आइरहेको छ । उहाँले ओरालो लागेको मृगलाई बाच्छोले पनि खेद्छ भन्नुहुन्थ्यो । म त्यस्तै ओरालो लागेको मृग झैँ भएको छु । कसैको सद्भाव, सहयोग पाएको छैन । पाएको छु त हेलत्व, छिछि र दुर दुर । मेरो जीवनको दियो त अब निभ्ने नै भयो । मेरा सपनाहरु मर्नु भएन । देशमा आएको परिवर्तनको रफ्तार रोकिनु हुँदैन । शहिदहरु, जिउँदा शहिदहरु र सबै नेपालीको अपेक्षामा कुठाराघात हुनुहँुदैन । देशले गणतान्त्रीक संविधानले निर्दिष्ट गरेको दिशानिर्देश पाउनुपर्छ । स्वच्छ आवधिक निर्वाचन हुनुपर्छ । देश अग्रगमनतिर जानुपर्छ । गणतन्त्र सस्थागत हुनुपर्छ । संबिधानले प्रदत्त गरेका अधिकार सबै नेपालीले बिनासर्त प्रयोग गर्न पाउनुपर्छ । घरवार विहिन स्याङ्गजा
अर्जुन चौपारीका मुक्ति दाइ जस्ताको घरमा गणतन्त्र आउनुपर्छ । उज्याला दिनको शुरुवात हुनुपर्छ । भनिन्छ,मानिसको जीवनमा जन्ती र मलामीको संख्या हेरेर उसको व्यक्तिगत उचाई मापन गरिन्छ । मलाइ आशा छ मलामीका रुपमा लाखौँ नेपालीहरुबाट पनि मेरो लोकप्रियताको संकेत गर्नेछन् । बाचुञ्जेल सहानुभूति त मरेपछि मलामी प्रयाप्त कमाएकोमा मेरो आत्माले शान्ति पाउने छ । मेरो सम्पत्ति भनेकै लोकप्रियता हो । नेपाली जनताको साथ हो । तपाईँ नेताहरुले सम्झना नगरे पनि करोडौँ नेपालीले सम्झन योग्य बनेको छु । मेरो जीवनको सफलता भनेको यही नै हो ।
तर, बिन्ति केवल शहिद दिवसमा मात्र शहादत पाएका र म जस्ताको बलिदानको उच्च मुल्याङ्कनको नाममा विभिन्न ठाउँमाठड्याइएका सालिकमा गएर गोहीका आसुँ नझार्नुस । न्यायको प्रतिक्षामा वर्षौ देखि ठिङ्ग ठडिएका शहिद स्तम्भहरुमा बढेमानका मालाको भारी नभिराउनुहोस् । मुरी–मुरी आश्वासन नदिनुहोस् । शालिकलाई झन् पीडा थपिन्छ । सरकारले सम्मान गरेछ भन्ने ढोङ नरच्नुस् । सामान्य मानिसहरुलाई त शहिदको बलिदानको उच्च मूल्याङ्कन गरेछ भन्ने भान हुन्छ । तर वास्तविकता बेग्लै छ । जनतालाई छलछाम गर्न सालिकहरु बनाइएका हुन । जनआन्दोलनमा बलिदान दिएका र जीउँदो शहीदका रुपमा रहेकाहरुलाई सम्मान गरेको भन्ने मिथ्या प्रमाण हुन सालिकहरु । तेत्रो खर्चेर सालिकहरु बनाउनुको के अर्थ ? जब म जीउँदै रहेर पीडा भोगिरहेको छु । भोगेको देखेको छु ।
त्यसैले आज पूनः झुटा आश्वासन दिन देशका शासक, नेता लगाएत शहिद स्तम्भहरुमा नजानोस। माला भिराउने, एक मिनेट सम्झे झैँ गर्ने, बाचा कसम खाने काम नदोहोर्याउनुहोस । मानिसको आँखामा छारो हाल्ने खेति बन्द गर्नुस् । यो प्रकृया चलेको धेरै भयो । यस्ता गतिविधिले शहिदको सम्मान हैन अपमान हुन्छ । शहिदलाई अविरमाला, आश्वासन हैन । उनीहरुका सपना पूरा हुनुपर्छ । उनीहरुका वलिदानको वदला जनताको जीवनस्तर सुध्रनुपर्छ । शहिदहरु भगवान हैनन् । उनीहरुको पुजा गर्नु आवश्यक छैन । पुजा त त्यतिबेला गरेको मानिने छ जतिबेला नेपालीहरुले परिवर्तनको स्वाद पाउन थाल्ने छन् । जतिबेला हिजो भन्दा जनता सुसम्पन्न हुनेछन् । जतिबेला गरीब नेपालीले एक छाक खान नपाएर मर्नु पर्ने अवस्थाको अन्त्य हुनेछ । अतिबेला रोजगारी सिर्जना भई नेपालीहरु बिदेशको भूमीमा श्रम गर्न जानु पर्ने छैन । जतिबेला देश सच्चा स्वाधीन बन्ने छ । जतिबेला मनैबाट हाम्रा नेताहरुले जनतालाई राष्ट्रियताको पाठ सिकाउने छन् । हो साँचो अर्थमा समृद्ध नेपाल निर्माण हुनु नै शहिदलाई पूजा गर्नु हो ।
म यति गलेको छु कि अब उप्रान्त कलम समाउन मेरो शक्तिले भ्याउने छैन । सायद यस पछि म मेरा बिचारहरु तपाँइहरु माझ सम्प्रेषण गर्न सक्ने छैन । मर्ने मिति नहुने पात्रोमा मेरो जीवनको अन्त्य उल्लेख हुने सवाल रहेन । त्यसैले यसैलाई मेरो अन्तिम कोशेली सम्झनुहोला । सुझावहरुलाई ग्रहण गरिदिनुहोला । वर्गीय रुपमा विपन्न र जीउँदा शहिदहरुको जीवन अनि मरण मेरो जस्तो नहोस् । व्यक्ति जन्मन्छ अनि मर्छ । यो शाश्वत सत्य कुरो हो । तथापि नेतृत्वले जनताको वलिदान स्वरुप आएको परिवर्तनलाई स्थायी स्वरुप दिन सक्नु पर्छ । म मरेर के भो ? मेरो सपना नमरोस् । म नारकिय जीवन बिताउन बाद्य भएर के भो ? नेपालीले सुखी र समृद्ध नेपालमा बाच्न पाँउन् । शासन अधिकार तपार्इँहरुको हातमा छ । बाँकी तपाइँको जो इच्छा ।
अन्त्यमा, हाम्रा एजेण्डाहरु समाधान गर्न हामी नै सक्षम बनौँ । हालसम्म जेसुकै गल्ति भएपनि अब विचार पुराऔँ । विदेशी सल्लाह सुझावलाई सुनौँ, गुनौँ र हाम्रो हितमा भएमात्र लागू गरौँ । राष्ट्रियताको सवालमा सम्झौता कहिल्यै नहोस् । लिपुलेक, लिम्पियाधुारा, कालापानी, सुस्ता लगाएत सयौँ ठाउँमा छिमेकीहरुबाट मिचिएका भुमिहरु छिटो फिर्ता हुन् । बस्, यत्तिमात्र भयो भने हामी जीउँदा शहिदले खुसी साथ मर्न पाउने छौँ र शहिदका आत्माले शान्ति पाउने छन् । विदा पाँउ । जय देश, जय राष्ट्रवाद । सहिदहरु अमर रहुन् ।
उही तपाइँको जिउँदो शहिद महेश ।
प्रतिक्रिया