ताजा अपडेट »

थप फाइजर खोप ल्याउने सरकारको तयारी

आइतबार, १६ माघ २०७८

काठमाडौँ । सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि उक्त उमेर समूहका बालबालिकाले लगाउन मिल्ने फाइजर खोप खरिद प्रक्रियासमेत अगाडि बढाइएको छ ।

कोरोना सङ्क्रमणको उच्च जोखिममा बालबालिका पनि पर्ने भएकाले सरकारले ११ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै फाइजर खोप ल्याउन प्रक्रिया सुरु गरेको हो । हाल ११ देखि १८ वर्षसम्मका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइँदैछ । पाँच वर्षभन्दा माथिका बालबालिका पनि विद्यालय जाने र त्यहाँ भीडभाड हुने हुनाले कोरोना सङ्क्रमणको उच्च जोखिममा छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर फाइजर खोप ल्याउन सरकारले प्रक्रिया सुरु गरिसकेको जानकारी दिए। दुई–तीन महिनाभित्रै उक्त खोप आउन सक्ने सम्भावना छ भन्दै उनले अहिले बच्चालाई लगाउने खोपका लागि सम्बन्धित कम्पनीसँग छलफल भइरहेको र उनीहरूले खोप ल्याउने सुनिश्चितता गर्ने बित्तिकै खोप ल्याइने बताए।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा। सुरेन्द्र चौरसियाले पनि दुई–तीन महिनाभित्रै पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि फाइजर खोप ल्याउन गृहकार्य भइरहेको बताए ।
नेपालमा १२ वर्षदेखि १८ वर्षसम्मका बालबालिकाका लागि खरिद गर्न लागिएको ६० लाख फाइजर खोप अब पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाउन मिल्ने गरी ल्याउन लागिएको हो । उमेर १८ वर्षसम्मका बालबालिकालाई लगाउने भनिएको फाइजर खोपको सट्टा मोडर्ना खोप आएकाले त्यसरी प्रतिस्थापन गर्न लागिएको हो ।

डा। चौरसियाका अनुसार पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई पुग्ने गरी ८४ लाख मात्रा फाइजर खोप खरिदका लागि नेपालले प्रस्ताव पठाइसकेको छ । नेपालले प्रस्ताव गरेको उक्त खोप प्राप्त भएपछि ती उमेर समूहका ४२ लाख बालबालिकालाई पुग्ने गरी खोप खरिद गर्न लागिएको हो । नयाँ उत्पादन भएको फाइजर खोप पाँच वर्षदेखि ११ वर्ष पुगेका बालबालिकालाई लगाउन मिल्छ ।

हाल नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना तथा फाइजर खोप दिइएको छ । यी दुवै खोप अमेरिकाले उत्पादन गरेका हुन् । अमेरिकाले भने गत कात्तिकमै पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप प्रयोगका लागि अनुमति दिइसकेको छ ।