काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १० हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो। यस्तै चार हजार ४१६ जनामा एन्टिजेन परीक्षण गरिएकोमा एक हजार ५८६ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा सर्वाधिक १ हजार ४०४ जना सङ्क्रमित थपिएका छन्। त्यस्तै, ललितपुरमा ३०५ तथा भक्तपुरमा १११ जना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार हाल काठमाडौँमा सर्वाधिक ३७ हजार ३४ जना सक्रिय सङ्क्रमित रहेका छन्। त्यस्तै, ललितपुरमा १० हजार १२५ तथा भक्तपुरमा ५ हजार ६०५ जना सक्रिय सङ्क्रमित रहेका छन्।
२० जिल्लामा पाँच सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार प्रदेश १ का मोरङ, सुनसरी र झापा, मधेस प्रदेशका धनुषा, सप्तरी र सिरहा, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, गण्डकी प्रदेशका कास्की, पूर्वी नवलपरासी र तनहुँ, लुम्बिनी प्रदेशका रुपन्देही, बाँके र दाङ तथा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित छन्।
यस्तै १६ जिल्लामा दुई सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन्। मधेस प्रदेशका बारा, पर्सा, महोत्तरी र सर्लाही, बागमती प्रदेशका धादिङ्, सिन्धुपाल्चोक र सिन्धुली गण्डकी प्रदेशका गोरखा, स्याङजा र बाग्लुङ्, लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, बर्दिया र नवलपरासी, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा दुई सय बढी सक्रिय संक्रमित छन्।
योसँगै सक्रिय सङ्क्रमितको संख्या ८७ हजार ३२९ मा पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाले ज्यान पनि गुमाएका छन्। नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ७०३ जनाले ज्यान गुमाइसकेका छन्।
हाल सङ्क्रमितमध्ये ८५ हजार ६३६ जना होम आइसोलेसनमा, १ हजार ६९३ जना संस्थागत आइसोलेसनमा, २८६ आईसीयूमा तथा ४७ जना भेन्टिलेटरमा रहेका छन्।-विष्णु पाण्डेय/गोरखापत्र
प्रतिक्रिया