कार्तिक १६,
बुटवल । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सुर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिएर आज बेलुकी छठ मनाइँदैछ ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बिहीबारदेखि शुरु भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकि थिईन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुवात् भएको विश्वास गरिन्छ । छठ पर्वका लागि काठमाडौंका गुह्येश्वरी, नागपोखरी, गहनापोखरी, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । आज बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि छठ पूजा गर्ने कार्यक्रम छ । छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।
जलाशय वा नदीमा जलसहित सूर्यको पूजा आराधना गरी छठ मनाउने परम्परा सनातनदेखि नै चलेको शास्त्रीय प्रमाण रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सुख, शान्ति, समृद्धि, सद्भाव र एकताका साथै प्रगतिको कामना गरेकि छन् । छठका अवसरमा आज दिएको सन्देशमा उनले यस पर्वले सबै नेपालीमा राष्ट्रिय एकता बलियो बनाउनुका साथै मौलिक संस्कृतिको संरक्षणमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकि छन् ।
यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ् गर्नेछ भने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने बताएका छन् । उनले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रूपमा स्मरणसमेत गरेका छन् । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि समाजमा मनाईने पर्व र संस्कृतिले एकता, भातृत्व र मेलमिलापको वातावरण बनाइरहेको बताउँदै कुनै समुदाय विशेषले मनाउने पर्व अहिले सबै नेपालीका साझा बन्दै गएको बताएका छन् ।
प्रतिक्रिया