भैरहवा । भैरहवामा निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको क्यालिब्रेशन फ्लाईटको मिति तोकिएको छ । शनिबार भैरहवामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, सार्वजनिक लेखा समितिका संयोजक भरत कुमार शाह, प्रतिनिधि सभा सदस्य प्रमोद कुमार यादवसहित प्राधिकरणका उच्च अधिकारीहरुको बैठकले फेब्रुअरी २१ तारीख (९ फागुन) मा क्यालिब्रेशनको मिति तोकेको छ ।
“फागुन ९ गते वा सो भन्दा अगाडी नै क्यालिब्रेशन फ्लाईट हुन सक्छ, त्यो भन्दा पछाडी कुनै पनि हालतमा जान्न” एरो थाईका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले भने -“क्यालिब्रेशन फ्लाईट अगाडी ग्राउण्ड चेक, बिजिलिटि चेक लगायतको काम हुदैछ ।” अहिले एरोथाईका प्राविधिकहरु भैरहवा आएर ग्राउण्ड चेकको काम गरि रहेको र ४/५ दिनमा सो काम सकिएपछि मौसम हेरेर हवाईजहाजलाई नेपाल ल्याउने उनले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बुद्ध जयन्ती अगाडी भैरहवामा कुनै पनि हालतमा ठूला जहाजको उडान हुने बताए । उनले बुद्ध जयन्तीका दिन आउने पाहुनाहरु गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा सोझै आउने दावी गरे । क्यालिब्रेशन फ्लाईट लगतै नेपाल एयरलाईन्सको ठूलो बिमानबाट बिमानस्थलको परीक्षण गरिने र त्यसपछि अधिकतम ५६ दिन वा न्युनतम ४२ दिनपछि बिमानस्थलमा नियमित उडानहरु गरिने आलेले जनाए ।
प्रतिक्रिया