ताजा अपडेट »

शक्ति गौचनद्वारा बुवाको स्मृतिमा गर्दै आएको क्रिकेट प्रतियोगिता हाल स्थगित

शुक्रबार, १४ माघ २०७८

भैरहवा । नेपाली क्रिकेटर एवम पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले आफ्नो बाबुको स्मृतिमा गर्दै आएको क्रिकेट प्रतियोगिता अहिलेलाई स्थगित भएको बताएका छन् । बाबु खडग् प्रसाद गौचनको स्मृतिमा शक्तिले भैरहवामा “खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता” माघ १४ गते देखी आयोजना गर्दै आएका थिए । यस पटक कोभिडको कारण त्यो मितिमा गर्न सम्भव नभए पछि शक्तिले भैरहवामा पत्रकार सम्मेलनको आयोजन गरि प्रतियोगिता स्थगित भएको जानकारी दिएका छन् ।

उनले सम्भव भए सम्म स्थगित भएको प्रतियोगिता फागुनको १ गते देखी गर्ने जनाएका छन् । “बुवाको स्वर्गारोहण भएको मिति पारेर खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्दै आईरहेको थिए यस पटक त्यो भोलीको लागी सम्भव भएन ।” गौचनले भने “ सम्भव हुन्छ भने बुवाको जन्मतिथि पारे फागुनको १ गते देखी उक्त प्रतियोगिता गर्नेछु ।”

यस पटक हुने प्रतियोगिता चौथो संस्करण भएको उनले बताए । शक्तिले आफ्नो बुवाको स्मृतिमा विगत तीन वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आएका छन् ।“बुवालाई पनि सम्झीरहन र क्रिकेट खेलले नयाँनयाँ खेलाडीहरु उत्पादन गर्न सहयोग समेत पुग्ने भएकाले मैले प्रतियोगिता आयोजना गर्दै आएको छु”, गौचनले भने । सानै उमेरदेखी क्रिकेटको जनशक्ति तयार गर्नको लागी अण्डर १६ क्रिकेट प्रतियोगिता गरेको उनले बताए ।

प्रतियोगितामा विभिन्न एकेडेमी र स्कूल गरी १० टिमको सहभागिता हुनेछ । प्रतियोगितामा पोखरा, काठमाडौं र धनगढीका टिम पनि सहभागी हुने शक्तिले जानकारी दिए । प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाइृ पनि पुरस्कृत गरिने गौचनले जानकारी दिए । पहिलो संस्करण विद्यालयस्तरीय रुपमा आयोजना गरिएकोमा दोस्रो रुपन्देही जिल्ला स्तरीय र तेस्रो संस्करणलाई राष्ट्रिय स्तरमा आयोजना गरिएको थियो ।

आयोजकका अनुसार प्रतियोगितामा काशी नोबल एकेडेमी, साइ ग्लोबल एकेडेमी, स्टार क्रिकेट एकेडेमी, रुपन्देही ११, धनगढी क्रिकेट एकेडेमी, ओषिश क्रिकेट एकेडेमी काठमाडौं, न्यू होराइजन एकेडेमी र पोखरा क्रिकेट एकेडेमी, धनगढी क्रिकेट र दमकडा क्रिकेट पाल्पा सहभागी हुनेछन् ।

शक्तिको स्टार एकेडेमीमा अहिले भैरहवा, बुटवल लगायत यस आसापसका प्रशिक्षार्थीले क्रिकेट सिकिरहेका छन् । राष्ट्रिय टिमबाट संन्यास लिएपछि उनले एकेडेमी मार्फत् नयाँ खेलाडीहरु उत्पादनमा टेवा पुर्याउँदै आएका छन् ।