ताजा अपडेट »

सोमपाललाई ग्रेड ए मा राख्ने क्यानको निर्णय

शुक्रबार, १४ माघ २०७८

भैरहवा । नेपाल क्रिकेट संघ (क्यान) ले सोमपाल कामीलाई केन्द्रिय सम्झौतामा ग्रेड ए मा अनुबन्ध गर्ने निर्णय गरेको छ । क्यानले आफैले गरेको पछिल्लो निर्णय सच्चयाउदै सोमपाललाई ग्रेड ए मा राख्ने निर्णय गरेको हो । यसअघि क्यानले सोमपाललाई ग्रेड ए मा राख्न मापदण्ड नपुग्ने जनाउँदै ग्रे बी मा राखेको थियो ।

क्यानको बिहिबार भैरहवामा सम्पन्न केन्द्रिय साधारणसभाको बैठकले सोमपाल सहित १८ जना पुरुष र १८ जना महिलाहरुलाई ग्रेडिङ गरेको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लका अनुसार नयाँ ग्रेडिङ्ग अनुसार अब पुरुषतर्फको ग्रेड ए मा कप्तान सन्दिप लामिछानेसहित ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरि, सोमपाल कामी र करण केसी रहेका छन् ।

यसैगरी ग्रेड बि मा कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ सेख, अविनाश बोहरा र विनोद भण्डारी छन् भने ग्रेड सी मा कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरि, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ छन् । क्यानले सार्वजनिक गरेको महिला खेलाडीहरू तर्फको ग्रेडिङ्गको ग्रेड ए मा कप्तान रुबिना क्षेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी छन् ।

यस्तै ग्रेड बि मा सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे परेका छन् भने ग्रेड सी मा डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल सम्मिलित छन् ।

क्यानले अनुशासन उल्लङ्घन सम्बन्धी संघले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम चार जना खेलाडीहरूलाई २०२२ को सेन्ट्रल कनट्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने संघको अघिल्लो बैठकको निर्णय फिर्ता लिने निर्णय गरेको छ । ओमान भ्रमणमा रहेका तर अनुबन्धनमा नरहेका खेलाडीहरू विक्रम सोव, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहन भत्ता स्वरूप रु १ लाख जनही र महिला खेलाडी ज्योति पाण्डेलाई रु ५० हजार प्रदान गर्ने क्यानको निर्णयमा उल्लेख छ ।

यसबाहेक क्यानले राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशीको उपचार खर्चको लागि रु एक लाख पचास हजार सहयोग गर्ने निर्णय गरेको छ । क्यानको बैठकले पोखरा, भैरहवा र धनगढी स्थित क्रिकेट मैदानमा २÷२ जना, त्यसै गरी, जनकपुर र सप्तरी स्थित क्रिकेट मैदानमा १–१ जना मैदान कर्मचारी नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

बिहिबार भैरहवामा सम्पन्न भएको बैठकले क्यानको साधारण सभा फागुन १३ र १४ गते धनगढीमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लले क्यानका महाप्रवन्धक रौनक बहादुर मल्लको करार अवधि पनि थप नगर्ने निर्णय भएको बताएका छन्।