काठमाडौँ । लामो समयदेखि महँगा विदेशी मदिराको कारोबार गर्दै आएको व्यापारिक घराना ओमप्रकाश अग्रवालको परिवार नै झन्डै एक महिनादेखि फरार छन् । काठमाडौँको दरबारमार्ग र कान्तिपथमा ग्रिन लाइन सेन्टर प्रालिको नाममा २५ वर्षदेखि व्यवसाय गर्दै आएको अग्रवाल परिवार विभिन्न बैङ्कबाट लिएको करिब एक अर्ब ऋण नतिरी फरार भएको हो ।
अग्रवाल परिवारको नाममा एभरेस्ट बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, मेगा बैङ्क र ग्लोबल आईएमई बैङ्क गरी चारवटाबाट मात्र ८० करोड रुपियाँभन्दा बढीको ऋण छ । अग्रवाल परिवारले त्यसअघि पनि ठूलो परिमाणमा सहकारी तथा व्यक्तिगतसमेत गरी अर्बसम्म ऋण रहेको अनुमान छ ।
विभिन्न शीर्षकमा ऋण
बैङ्कहरूले ग्रिन लाइनका सञ्चालकलाई हाइपो तथा अन्य शीर्षकमा कर्जा दिएका छन् । हाइपोमा दिएको कर्जामा धितो हुँदैन, जोखिम बढी हुन्छ । यस्तो कर्जा व्यवसायको आकार र स्टकमा रहेको मौज्दातका आधारमा दिइन्छ । त्यसैले बैङ्कहरूले आआफ्नै तरिकाले ३५ दिने सूचना निकालेर ऋण असुलीको प्रक्रिया सुरु गरेका छन् । बैङ्कहरूले दिएको सबै ऋण हाइपो नभएका कारण घरजग्गा, फ्ल्याटलगायतको सम्पत्ति धितो राखिएको ऋण पनि छ ।
मेगाले स्टक र धितो दुवै राखेर ऋण दिएको छ । एभरेस्टले ज्ञानेश्वर चोकमा १७ आना जग्गा र घरसहित विभिन्न ठाउँका फ्ल्याट राखेर ऋण दिएको छ । ग्लोबल आईएमईले ज्ञानेश्वरकै अर्को १७ आना जग्गा धितोमा राखेर ऋण दिएको छ । इन्भेस्टमेन्टको पनि धितो र स्टकमा ऋण छ ।
मेगाले कलङ्कीका विभिन्न जग्गा राखेर दिएको कर्जाका लागि धितो लिलाम गर्ने प्रक्रिया थालेको छ । उक्त बैङ्कले बुधबार सूचना प्रकाशन गरी माघ २० गतेसम्म सम्पूर्ण कर्जा तिर्न समय दिएको छ । यदि समयावधिमा कर्जा नतिरे बैङ्कले लिलाम बोलपत्र माघ १९ गतेसम्म दिन सकिने र बोलपत्र माघ २० गते खोलिने जनाएको छ । नेपाल इन्भेस्टमेन्टले भने अग्रवाल परिवार बेपत्ता भएपछि उनीहरूले सञ्चालन गर्दै आएको ग्रिन लाइन सेन्टर दरबार मार्गमा ताला लगाएको छ ।
उजुरी नआउँदा अनुसन्धान बढेन
यति हुँदाहुँदै पनि घटनाको एक महिना पुग्न लाग्दासमेत बैङ्कहरूले अहिलेसम्म न कुनै अनुसन्धान गर्ने निकायमा उजुरी गरेका छन् न त नियामक निकायमा नै लिखित जानकारी गराएका छन् ।
अग्रवाल परिवार बेपत्ता भएको मौखिक सूचनापछि स्थानीय प्रहरीले प्रारम्भिक अनुसन्धानबाहेक कुनै फाइल अघि बढाएको छैन । प्रहरीले सञ्चार माध्यमबाट थाहा पाए पनि कुनै उजुरी वा निवेदन नपाएको जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले सो घटनाबारे तीन हप्ता बितिसक्दासमेत कुनै औपचारिक उजुरी नआएकाले अनुसन्धान अगाडि बढ्न नसकेको बताए । उनले प्रश्न गरे, “अर्बौंको रकम हिनामिना भएको हो भने ठगिएकाले खोइ त उजुरी गरेको रु” परिवारका केही आफन्तबाहेक अन्य कुनै पनि ठाउँबाट रकम नतिरी भागेको कुनै उजुरी नपरेको उनले बताए ।
नेपाल राष्ट्र बैङ्कले उक्त घटनापछि मातहतका बैङ्क तथा वित्तीय संस्थाको लगानी विवरण झिकाएर अध्ययन गरिरहेको जनाएको छ । राष्ट्र बैङ्कका प्रवक्ता डा। गुणाकर भट्टले झन्डै ३० लाखभन्दा बढी ऋणीहरूको सम्पूर्ण विवरण राष्ट्र बैङ्कले राख्न सम्भव नहुने भएकाले सम्बन्धित वित्तीय संस्थालाई नै जिम्मेवार बनाइएको बताए।
उनले प्रत्येक वित्तीय संस्थाले गरेको लगानीको लगत झिकाएर राष्ट्र बैङ्कले अध्ययान सुरु गरेको जानकारी दिए । भट्टले भने, “बिनाधितो यति ठूलो रकम किन र केका लागि प्रवाह भएको हो ? भन्नेबारे जवाफ मागेका छौँ ।” यो घटनापछि कर्जा प्रवाहबारे राष्ट्र बैङ्कबाट छुट्टै निर्देशिका जारी हुनेसमेत उनले बताए । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल काठमाडौँबाट नौ जनाको परिवार सजिलै भागेर जानु अनौठो रहेको बताए। उनले यसबारे गम्भीर अनुसन्धान आवश्यक रहेकोसमेत बताए ।-गोरखापत्र
प्रतिक्रिया