कार्तिक १५,
काठमाडौँ । अक्टोबर २७ तारिखदेखि सुरु भएको ‘आजादी मार्च’ नामक यात्राका सहभागी प्रदर्शनकारीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानले तत्काल राजीनामा दिनुपर्ने माग गरिरहेका छन् । एकजना धार्मिक नेताको अगुवाइमा कराँचीबाट सुरु भएको उक्त यात्रा र प्रदर्शन पाकिस्तानभर फैलिरहेको छ । बिहीबार रेलमा आगो लागेर झण्डै ७४ जनाको ज्यान गएपछि शुक्रबारका लागि भने प्रदर्शन स्थगन गरिएको छ । पाकिस्तानमा केही महिनादेखि ‘आजादी मार्च’को तयारी भइरहेको थियो । यसै क्रममा बिहीबार इस्लामावादमा एक दक्षिणपन्थी पार्टीले हजारौं मानिस सडकमा उतारिसकेको छ । मौलाना फजालुर रेहमानको नेतृत्वमा रहेको जमाएत उलेमा ए इस्लाम नामक पार्टीका समर्थकहरुले प्रधानमन्त्री खानको राजीनामा माग गर्दै इस्लामावादसम्म आइपुगेका हुन् ।
खानको राजीनामा माग्नु कारणहरु
रेहमानका समर्थकले अक्टोबर २७ गते देखि ‘आजादी मार्च’ मा सहभागी भइरहेका छन् । बस, कार र मोटरसाइकलमा सवार भएर उनीहरु यो यात्रामा सहभागी भएका छन् । प्रदर्शनकारीले गत वर्षको निर्वाचनमा धाँधली गरेको आरोप प्रधानमन्त्री इमरान खानमाथि लगाएका छन् ।बिहीबार विभिन्न शहरको परिक्रमा गरी ‘आजादी यात्रा’ राजधानी इस्लामावादमा पुगेको थियो । हजारौं मानिसको भीड राजधानीमा आएपछि सुरक्षाकर्मीले सडक बन्द गरेका थिए । प्रदर्शन हिंसात्मक हुने आंकलन गरेर सुरक्षाकर्मीले सतर्कता अपनाएका हुन्। पाकिस्तानमा निर्वाचनमा धाँधली हुने गरेको विषयलाई लिएर यसअघि समेत प्रदर्शन गरिएको थियो । खानले समेत धाँधली गरेर चुनाव जितेको र सत्तामा आएपछि विपक्षी नेताविरुद्ध कदम चालेको ‘आजादी मार्च’ मा सहभागीको आरोप छ ।
खानको सरकारले विपक्षी दललाई तारो बनाएर प्रतिशोध लिएकाले प्रदर्शनकारी थप रुष्ट बनेका छन् । पाकिस्तानका मुख्य विपक्षी दल पाकिस्तान मुस्लिम लिग र पाकिस्तान पिपुल्स पार्टीका विभिन्न नेताहरुमाथि भ्रष्ट्राचारको अभियोग लगाइएको छ । ३ पटकसम्म प्रधानमन्त्री बनेका पाकिस्तान मुस्लिम लिगका नेता नवाज शरिफ यतिबेला जेलमा छन् । पछिल्लो समय जमाएत उलेमा ए इस्लामका विभिन्न नेतामाथि समेत सरकारले कडा कदम चाल्दै आएको छ । केही समयअघि उक्त पार्टीका एक जना नेतालाई हिंसा भड्काएको आरोपमा पक्राउ गरिएको थियो । त्यस्तै अर्का एकजना नेता अफगानी भएको भन्दै उनको नागरिकता खोसिन सक्ने भनेर खान सरकारले चेतावनी दिएको छ । रेहमानले खानमाथि अर्थतन्त्रको दुरुपयोग गरेको र शासन गर्न असक्षम रहेको आरोप समेत लगाएका छन् । कुशासनका कारण आम नागरिकहरु मर्कामा परेको उनको तर्क छ ।
मौलाना फ्याक्टर

छैसठ्ठी वर्षीय रेहमान पाकिस्तानी राजनीतिका एउटा स्थायी खम्बा मानिन्छन् । उनी दशकौंदेखि राजनीतिको केन्द्रमा छन् । यसअघि मूलधारका राजनीतिक दललाई चुनावताका र सरकार गठनका बेला उनका समर्थक र उनको पार्टीले महत्वपूर्ण सहयोग गर्दै आएको थियो ।जमाएत उलेमा ए इस्लामले मुलुकभर विभिन्न धार्मिक विद्यालय सञ्चालन गर्दै आएको छ । यिनै विद्यालयका विद्यार्थीले सडकमा शक्ति प्रदर्शन गरेको बताइन्छ । पहेँलो पोशाक लगाइ हातमा लठ्ठी लिएर हिड्ने यो पार्टीका सदस्यले नै सडकमा हुने ठूल्ठूला सभा र समारोहलाई व्यवस्थित गर्दै आएका छन् । कुनै बेला जमाएत उलेमा ए इस्लाम तालिवानको कट्टर समर्थक समेत थियो । तर अहिले रेहमानले आफ्नो पार्टीलाई मध्यपन्थी धार्मिक पार्टीको रुपमा रुपान्तर गरेका छन् ।रेहमानले गत वर्षको नेशनल एसेम्बलीको निर्वाचनमा आफ्नै पडक क्षेत्रबाट चुनाव हारेका थिए । जमाएत उलेमा ए इस्लामको गढ मानिने खाइबर पाख्तुन्ख्वाबाट उनी निर्वाचनमा उठेका थिए । तर खानको पार्टी पिटिआईका एकजना सामान्य उम्मेदवारसँग उनी चुनाव हार्न पुगे ।रेहमानले चुनाव हारेपछि अन्य राजनीतिक दलको सहयोग लिएर खान र खानको सरकारलाई चुनौती दिने प्रयास गरिरहेका छन् ।
यता दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दै गएपछि खानको चमत्कारिक व्यक्तित्वमाथि नै प्रश्न चिन्ह खडा भइरहेको छ । खानले सन् २०१४ मा शरिफको नेतृत्वमा रहेको तत्कालीन सरकारविरुद्ध भएको प्रदर्शनको नेतृत्व गरेका थिए । खानले नेतृत्व गरेको प्रदर्शनका कारण कैयौं महिनासम्म इस्लामावादको जनजीवन अस्तव्यस्त बनेको थियो । पाकिस्तानको राजनीतिमा सेनाले समेत निर्णायक भूमिका खेल्दै आएको छ । खानलाई मुलुकको शक्तिशाली सेनाको अप्रत्यक्ष सहयोग र साथ रहेको आंकलन गरिन्छ । त्यस्तै रेहमान समेत सेनासँग निकै नजिक मानिन्छन् । यति बेला रेहमानका समर्थक राजधानीमा भेला भएका छन् । हराजौं मानिसहरुको प्रदर्शन उग्र र हिंस्रक बन्ने हो कि भनेर आम पाकिस्तानी नागरिक चिन्तित बनेका छन् । रेहमानका समर्थकले कहिलेसम्म राजधानी इस्लामावादमा प्रदर्शन गर्दैछन् भनेर निश्चित भइसकेको छैन । तर प्रदर्शकारीलाई बलपूर्वक हटाउने प्रयास गरेमा प्रदर्शन हिंसात्मक बन्न सक्ने खतरा समेत देखिन्छ । - एजेन्सी
प्रतिक्रिया