ताजा अपडेट »

गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलको निर्माण कार्य सम्पन्न (फोटोफिचर)

बुधबार, १२ माघ २०७८

भैरहवा । भैरहवामा गौतम बुद्ध बिमानस्थलको निर्माण कार्य सकिएको छ । गौतम बुद्ध बिमानस्थल निर्माण परियोजनाका अनुसार बिमानस्थलमा आईसीबी–१ र आईसीबी–२ अन्तर्गतको सम्पूर्ण काम सकिएको छ । यस सँगै अब क्यालिब्रेशन फ्लाईटको मिति पनि नजिकिँदै गएको छ । क्यालिब्रेशन फ्लाईटकै तयारी र बिभिन्न तालिमको लागि अष्ट्रियाको प्राविधिक भैरहवामा रहेका छन् । यस अतिरिक्त क्यालिब्रेशन फ्लाईटकै तयारीका लागी एरोथाई बाट ४ जना थाई प्राविधिकहरु आज सडकको प्रयोग गरि भैरहवा आईरहेको बिमानस्थलले जानकारी दिएको छ ।

यिनिहरु अब क्यालिब्रेशन फ्लाईट नभएसम्म यहि बसेर सम्पूर्ण काम गर्ने छन् । गौतम बुद्ध बिमानस्थल निर्माण परियोजनाका परियोजना प्रमुख प्रवेश अधिकारीले आइसीबी–१ र आईसीबी–२ अन्र्तगतका सबै काम पुरा भई सकेको जनाउदै हाल क्यालिब्रेशन फ्लाईटमै बढ जोड दिई रहेको बताए । उनले आयोजनाको काम अहिले हस्तान्तरणको चरणमा रहेको र जुन दिन क्यालिब्रेशन फ्लाईट हुन्छ त्यही दिन हस्तान्तरणको मिति पनि तोकिने उनले जनाए ।

अधिकारीले क्यालिब्रेशन फ्लाईटको लागी चाहिने जनशक्तिहरु आईरहेको हुदा अब चाडै नै क्यालिब्रेशन फ्लाईटको बिषयमा केन्द्रिय स्तरबाट मिति तय हुने बताए । भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपले पहिलो चरणको कामका लागि अन्तरराष्ट्रिय बोलपत्र (आइसिबी वान) मा सम्झौता भएर निर्माण कार्य विसं २०७१ माघ १ देखि सुरु गरेको थियो ।

आइसिबी वान अन्तर्गत धावनमार्ग तीन हजार मिटर, चार वटा लिङ्क ट्याक्सी वे, पाँच वटासम्म अन्तरराष्ट्रिय जहाज पार्किङ गर्नसक्ने क्षमताको जहाज पार्किङस्थल, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण भवन, पानी ट्याङ्की, तारवार, नाला, ५ सय कार अटाउने क्षमता भएको कार पार्किङ, विद्युतीय काम, टर्मिनल विल्डिङको उपकरणसहितको काम, धावन र ट्याक्सी वे सबै काम रहेका थिए जुन अहिले सबै निर्माण सम्पन्न भई सकेका छन् ।

निर्माण सम्पन्न भई सकेको गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलले अहिले महाप्रवन्धक (१२ औं तहको) समेत पाएको छ । महाप्रवन्धकको रुपमा गोविन्द प्रसाद दहाल अहिले भैरहवा बिमानस्थल पुगेका छन् । महाप्रवन्धक दहालले बिमानस्थल सञ्चालनको लागी थोरै जनशक्ति थप गरेमा पनि सञ्चालन गर्न सकिने जनाएका छन् । उनले बिमानस्थल सञ्चालनको अन्तिम तयारीमा रहेको बताए । “भौतिक पूर्वाधारको हिसाबले हामी तयारी अवश्थामा छौं, आज राती सम्म थाईलैण्डबाट एरो थाईका ४ जना प्राविधिकहरु नेभिगेशनको बारेमा अध्ययन गर्न आउदैछन् ।” दहालले भने “उनिहरुको सामान्य रिपोर्ट पछि सामान्यतया १ महिनामा क्यालिब्रेशन फ्लाईट हुन्छ ।”

उनले गौतम बुद्ध बिमानस्थलमा हाल ३४ जनाको दरबन्दी रहेको र अन्र्तराष्ट्रिय बिमानस्थलमा १ सय ५१ जना कर्मचारीको दरबन्दी रहेको जानकारी दिए । यस बाहेक सेवा प्रदायकले आपूर्ति गर्ने १ सय ३ जना, प्रहरी १ सय ६७ जना, मेट्रोलोजिष्ट १७ देखी २० जना, अध्यागमन, भन्सार, क्वारेन्टाईन लगायतका कर्मचारीको अवश्यकता हुन्छ ।

अध्यागमन, भन्सार, क्वारेन्टाईन र सुरक्षा बाहेक बिमानस्थल सञ्चालनको लागी अहिले करिब २० जना थपिएमा हाललाई अन्र्तराष्ट्रिय बिमानस्थल सञ्चालन योग्य हुने दहालले जनाए । उनले गौतम बुद्ध अन्र्तराष्टिय बिमानस्थलका लागी नेपाल नागरिक उड्डययन प्राधिकरणबाटबाट बिमानस्थल सेवा शुल्क नियमावली पनि माग गरेको जनाए ।

भैरहवा बिमानस्थल हाल अन्र्तराष्ट्रिय बिमानस्थलको रुपमा रुपान्तरण भई सकेकोले बिमानस्थल सेवा शुल्क नियमावली २०६७ मा तोकिएको प्रावधान, नियम तथा अनुसुचिहरुले हाल बिमानस्थलमा गरिने ठेक्कापट्टा, वायुयानहरुबाट लिईने बिभिन्न शुल्क, यात्रु सेवा शुल्क, भवन भाडा, जग्गा भाडा आदिलाई अन्र्तराष्ट्रिय बिमानस्थलको रुपबाट कार्य गर्न एवम बिलिङ गर्न द्विविधा उत्पन्न भएको दहालले बताए । यसलाई निराकरण गर्न शंशोधित, परिमार्जित, बिमानस्थल सेवा शुल्क नियमावली उपलब्ध गराई दिन प्रधान कार्यालयलाई माग गरिएको उनले बताए ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा मुलतः तीन तहका काम सम्पन्न भएका छन् । पहिलो अन्तरराष्ट्रिय बोलपत्र (आइसिबी वान) अन्तर्गत ६ अर्ब ८२ करोडको । दोस्रो अन्र्तराष्ट्रिय बोलपत्र (आइसिबी टू) अन्तर्गत रु ५० करोडको काम र तेस्रो मुआब्जा वितरण रु २२ अर्ब ४० करोड भएको छ । त्यसका अतिरिक्त कार्गो निर्माणका लागि रु ९० करोडको काम भएको छ । यसरी सबै आयोजनाको काम जोड्दा रु ३० अर्बभन्दा बढीको लगानीमा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण भएको छ । यो रकममा नेपाल सरकारको ३७ दशमलब ४ र एडिबिको ६२ दशमलब ६ प्रतिशत लगानी रहेको छ ।