ताजा अपडेट »

हलमा एक्लै ‘बादशाह जुट'

शुक्रबार, १५ कार्तिक २०७६

कार्तिक १५,
काठमाडौँ । शुक्रबारदेखि हलमा नयाँ नेपाली फिल्म ‘बादशाह जुट’ प्रदर्शनमा आएको छ। फिल्म एकल प्रदर्शनमा आएको हो। फिल्म प्रदर्शनका लागि भिडभाड लाग्ने नेपाली फिल्म बजारमा ‘बादशाह जुट’ एकल प्रदर्शनमा आएको हो।

अभिनेताद्वय सुशील श्रेष्ठ र आमिर गौतमको मुख्य अभिनय रहेको फिल्मले हलमा एकल प्रदर्शनको मौका पाए पनि क्युएफएक्स शो संख्या भने उल्लेख्य छैन। फिल्मले देशभरका मल्टिप्लेक्सअन्तर्गत क्युएफएक्स चेनमा ६ शोमात्र प्राप्त गरेको छ। त्यस्तै फिल्मले बिग मुभिजमा २ शो, क्युज सिनेमा १ शो, आइप्लेक्स सिनेमामा १ शो, सिडिसि १ शो, सिटिसि ३ शो र बिएसआर हलमा २ शो गरी जम्मा १५ शो प्राप्त गरेको छ।दसैंलगत्तै प्रदर्शनमा आएको ‘छ माया छपक्कै’, गत हप्ता प्रदर्शनमा आएको ‘पोइ पर्‍यो काले’, बलिउड फिल्म ‘हाउसफुल ४’ लगायत फिल्मले हलमा राम्रो उपस्थिति जनाई रहँदा नयाँ फिल्मका लागि पर्याप्त शो संख्या हलवालाले छुट्याएका छैनन्।

एक्सन, कमेडी जनरामा तयार फिल्म ‘बादशाह जुट’ले एक प्रहरी र एक पत्रकारको जीवनयात्रा तथा उनीहरूको बादशाह (राजा) बन्ने महत्वाकांक्षा र संघर्षको कथा बोल्ने निर्माण युनिटको भनाइ छ।जोनीसिंह राणाको लेखन तथा निर्देशनमा तयार फिल्ममा सुशील र आमिरका साथमा रोशी खड्का, कोइसा राउत, रश्मी पाण्डे, रोबिन तामाङलगायतको अभिनय छ। अभिषेक शशीकुमारको पटकथा, कृष्ण भारद्वाजको र कोसिस क्षेत्रीको संगीत रहेको फिल्ममा राजकुमार उप्रेतीको एक्सन, राजु कार्कीको छायांकन तथा दीर्घ खड्काको सम्पादन छ।