ताजा अपडेट »

१० वर्षमा सबैभन्दा धेरै जनसंख्या लुम्बिनी प्रदेशमा बढ्यो

बुधबार, १२ माघ २०७८

बुटवल । जनसंख्याको वृद्धिदर १० वर्षमा सबैभन्दा बढी लुम्बिनीमा १४ प्रतिशतले बढेको छ केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनसंख्याको प्रारम्भिक विवरणमा यस्तो उल्लेख भएको हो । 

यस्तै मधेश प्रदेशमा १३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा जनसंख्या वृद्धि भएको छ । अन्य प्रदेशमा १० प्रतिशतभन्दा कमले जनसंख्या वृद्धि भएको जनगणनाको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

 यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाले नेपालका कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुगेको तथ्यांक विभागले जनाएको छ । जुन ११ राष्ट्रिय जनगणना २०६८ को तुलनामा २७ लाख ९७ हजार ९७६ जनसंख्या वृद्धि भएको हो । 

पुरुषको संख्या महिलाको तुलनामा कम छ । तथ्यांककाअनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेकाे छ । जनसंख्याको वार्षिक वृद्धिदर ०.९३ रहेको विभागले जनाएको छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।

अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी र रामेछापको जनसङ्ख्या सबैभन्दा घट्दो दरमा रहेको पाइएको छ । सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो । प्रदेशगतरुपमा मधेश प्रदेशको जनसङ्ख्या सबैभन्दा बढी छ भने कर्णाली प्रदेशको कम देखिएको छ ।