ताजा अपडेट »

दाङसहित देशका विभिन्न स्थानमा भएका छुट्टा-छुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

सोमबार, १० माघ २०७८

बुटवल । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । दाङको लमही नगरपालिका–६ बलरामपुरस्थित सडकमा रा ५ प ५७१४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–१२ बस्ने २५ वर्षीय अरुण देवकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित सडकमा ना३ च ८८५१ नम्बरको पिकअपले ना ५१ प ३४९५ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार मकवानपुर हेटौंडा उपमहानगरपालिका ५ बस्ने ३४ वर्षीय धर्म प्रसाद सापकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अल्पाईन अस्पताल सिमरामा उपचारको क्रममा मृत्यु भएको हो । पिकअपले उक्त मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई ना ६ ख ८६६८ नम्बरको ट्रकले समेत उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने दुबै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै दुधौली नगरपालिका(४ खनियास्थित सडकमा बा प्र ०३–००१ ख‍ ०२८४ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँ बस्ने प्रेम आले मगरको छोरी ३ वर्षीया प्रेनिशा आले मगरको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता ईटहरी उपमहानगरपालिका–१० स्थित सडकमा को ११ प ७९३२ नम्बरको मोटरसाइकललाई को।१ ख ६१६२ नम्बरको बसले आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक तेह्रथुम साब्ला बस्ने ५४ वर्षीय बम बहादुर लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एपेक्स अस्पताल ईटहरीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकमा बाग्मती प्रदेश ०१( ००६ ख ३६४० नम्बरको ट्रक र ना २३ प ७०६२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । अन्दाजी ४१ वर्षका ती पुरुषको अहिलेसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता सिराहको नरहा गाउँपालिका–५ स्थित सडकमा स १ त ७९५ नम्बरको ट्याक्टर र स ८ प ७१९४ नम्बरको मोटरसाइकल एक(आपसमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक बिष्णुपुर गाउँपालिका २ गढिया बस्ने २६ वर्षीय मुकेश कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आरके मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टरका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।