ताजा अपडेट »

नदीलाई छेकेर जलाशय, यसै वर्षदेखि काम सुरु हुने

विहीबार, १४ कार्तिक २०७६
1 Shares

डि.बी. सुस्लिङ/ग्लोबल आवाज
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले दीर्घकालीन योजनामा रहेका योजनाहरुमा बहुउद्देश्यीय जलासय निर्माणलाई प्राथमिकतामा राख्दै यसै वर्षदेखि काम सुरु गर्ने भएको छ । प्रदेश ५ को राजधानी रहेको बुटवल उपमहानगरापलिकासँग जोडिएको सैनामैना नगरपालिकाले लुम्बिनी सर्किटसँग नगरलाई जोड्ने गरी विभिन्न दिर्घकालिन योजनाहरु अघि सारेको हो । चुरे क्षेत्रसँग जोडिएको यस नगरलाई पर्यावरणमैत्री बनाउनका लागि करिब २ अर्बको लागतमा जलासय निर्माण गर्न लागिएको सैनामैना नगर प्रमुख चित्रबहादुर कार्कीले बताए । ‘लुम्बिनी विकास योजना अन्तर्गत तेस्रो ठूूलो योजनाका रुपमा सैनामैनामा जलासय निर्माणको योजना रहेको छ ।’–उनले भने ‘मूख्य समस्या स्रोत व्यवस्थापनको हो यसका लागि पनि एशियाली विकास बैंकले समेत चासो देखाएको हुँदा त्यती चूूनौती नहोला ।’

सैनामैना-३ मा रहेको घमाहा नदीलाई छेकेर बनाइने जलासयमा २० फुट चौडा रहेको ७ किलो मिटर पैदल यात्रा गर्ने बाटो बनाइने उनले बताए । सैनामैना नगरपालिकाको ड्रिम प्रोजेक्टका रुपमा यो बहुउद्देश्यीय पार्कलाई पहिलो प्राथमिकतामा राखेर सम्भाव्यता अध्ययन गरिएको थियो । यो जलाशययुक्त पार्कको निर्माणले सैनामैना क्षेत्रमा सिँचाइ सुविधा समेत पुग्ने नगर प्रमुख कार्कीले जानकारी गराए । उनका अनुसार चुरे संरक्षण, पर्यावरण संरक्षण, भूमिगत स्रोतहरुमा पानीको सञ्चितीदेखि हरियाली प्रवद्र्धनमा टेवा पुग्नेछ । जलासयमा डुङ्गा सञ्चालन गर्ने समेत योजना छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट डि.पि.आर तयार पार्नका लागि यो वर्ष ३० लाख रुपैयाँ विनियोजन भएकोमा २० लाख रुपैयाँ थप गरिएको नगरप्रमुख कार्कीले बताए । अबको ३/४ महिना भित्र डिपिआर लगाएतका सबै काम सकेर यस वर्षको अन्त्यसम्ममा टेन्डर प्रक्रिया समेत पूूरा गरी काम सुरु गर्ने योजना रहेको उनले बताए । योजना सम्पन्न गर्नका लागि काम सुरु भएको दिनदेखि कम्तिमा ३ वर्ष लाग्ने अनुमान गरिएको बताउँदै जलासयको निर्माणले नगरको कृषि उत्पादनमा उल्लेख्य वृद्धि हुने दाबी गरे ।

सैनामैनाको बुद्धकालीन सभ्यतालाई संरक्षण गर्दै वडा नं. १ को बनकट्टामा स्थापना गरिने सङ्ग्रहालय क्षेत्रको निरीक्षण गर्दै पूर्वमन्त्री तथा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल ।

‘नदीको तल्लो तटीय क्षेत्रमा रहेका खेती योग्य जमिनमा नदी कटानको समस्या समेत यस्ले रोक्ने छ ।’–उनले भने वर्षायाममा सञ्चित भएको पानीले हिउँदको समयमा समेत खेती योग्य जमिनमा सिंचाईको सुविधा पुग्दा कृषि उत्पादनमा वृद्धि हुने छ ।’ लुम्बिनीसँग जोडिएको सैनामैना नगरपालिकामा पर्यटन प्रर्वद्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने जलासयले लुम्बिनीमा आउने पर्यटकलाई आकर्षण गर्ने छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई नगरका विभिन्न क्षेत्रबाट सडक सञ्जालले जोडिसकेको परिप्रेक्षयमा लुम्बिनीको पर्यटनसँग जोड्न नगरपालिकाले महत्वपूर्ण आयोजनाहरु अगाडि बढाउन थालेको हो । लुम्बिनी आएका पर्यटकलाई सैनामैनासम्म ल्याउने वातावरण निर्माणका लागि पूर्वाधार बनाउने काममा नगरपालिकाले जोड दिइ आएको छ । सैनामैना नगरपालिकाले आवश्यक कानूनहरुको निर्माणका कामलाई तीव्रता दिएको र स्वीकृत योजना अनुसारका कामहरु प्राथमिकताका साथ अगाडि बढाउने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले बताए ।

सैनामैना नगरपालिकाले दीर्घकालीन योजनाका अघि सारेको नगरपालिकाको वडा नं. ३ स्थित लामीरह जलासययुक्त बहुउद्देश्यीय पार्कको बारेमा स्थलगत जानकारी लिँदै पूर्वमन्त्री तथा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, नगरप्रमुख चित्रबहादुर कार्कीलगायत ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले सैनामैनामा निर्माण गर्न लागिएका ठुला योजनाहरुको अनुगमन गरेका छन् । नगरमा निर्माण हुन लागको सङ्ग्राहलय, थारु होम स्टे, जलासय, निर्माणाधिन रिङरोड लगायतको अनुगमन तथा निरिक्षण गरेका हुन् । सैनामैना नगरपालिकाले अगाडि सारेका योजनाहरुको अवलोकन गर्न पुगेका महासचिव पौडेलले सैनामैनालाई लुम्बिनीसँग जोडेर विकास गर्नुपर्ने सुझाव दिँदै अहिले सम्भाव्यता अध्ययन भइरहेका योजनाका कामलाई छिटो अगाडि बढाउन निर्देशन दिए । अवलोकनका क्रममा महासचिव पौडेलले सैनामैनाको बुद्धकालीन सभ्यताको संरक्षण र पर्यटन प्रवद्र्धनका कामलाई प्राथमिकतामा राखिएको बताए ।