ताजा अपडेट »

कर्फयू तोड्दा कपिलवस्तुमा एक जनाको ज्यान गयो

विहीबार, १४ कार्तिक २०७६

कार्तिक १४,

बुटवल । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले लगाएको कर्फयू तोड्न खोज्दा कृष्णनगरमा एक जनाको ज्यान गएको छ । प्रहरीको गोली लागेर स्थानीय सुरज कुमार पाण्डेयको ज्यान गएको हो । जिल्लाको कृष्णनगर भन्सार कार्यालयको भवनदेखि ७ सय मिटर उत्तर, पश्चिममा ७ सय मिटर पुर्वामा ३ सय मिटरको क्षेत्रमा कर्फ्यु जारी गरिएको हो । प्रशासन कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै अर्को आदेश नआउँदासम्मका लागि विहान ११ बजेदेखि कर्फ्यु आदेश जारी गरेको हो ।

लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने क्रममा स्थानीय समुदायबीच विवाद बढेपछि कृष्णनगरमा कर्फयू लगाइएको छ । बुधबार त्यहाँका हिन्दु समुदायले लक्ष्मी पूजाको मूर्ति विसर्जनको क्रममा झडपको सिर्जना उत्पन्न भएको थियो । कृष्णनगरका सामाजिक अगुवा कृष्ण कुमार गुप्ताका अनुसार हिन्दु समुदायले मूर्ती विसर्जन गर्ने बेला एक जना मुस्लिम समुदायका युवाले रोक्न खोज्दा झडपको स्थिती सिर्जना भएको थियो । सम्भावित झडपको स्थिती नियन्त्रण लिन नसक्दा प्रहरीले बुधबार अश्रुग्यास प्रहार गरेको थियो । हिन्दु र मुस्लिम समुदायबीच मनम्टाव बढपछि समझदारी कायम गर्नका लागि थालिएका विभिन्न पहल असफल भएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालका लागि कर्फयू जारी गरेको हो । गत बर्षपनि कृष्णनगरमा दुर्गा पूजाको मूर्ती विसर्जनका बेला यस्तै कर्फ्यु जारी गरिएको थियो । बेला बेला कृष्णनगर क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच तनाव हुँदै आएको छ ।