भैरहवा । भैरहवा–लुम्बिनी सडक खण्ड अहिले पूर्ण रुपमा निर्माण भएको छ । भैरहवा देखी बिमानस्थल सम्म ६ लेनको बाटो बनेको छ । सोही बाटोमा बनेको लुम्बिनी गेटले यसमा थप सुन्दरता थपेको छ । लुम्बिनी जाने पर्यटकहरुका लागी मूख्य बाटोमा लुम्बिनी गेट र बाटोमा राखिएका बुद्ध मूर्तिहरुले लोभ्याउने गरेको छ । तर पर्यटकको यो खुशी क्षणभरमै खोसिन्छ, कारण हो लुम्बिनी रोडमा अस्त ब्यस्त तरिकाले फैलिएको मोटर ग्यारेजहरु ।
जसै पर्यटक लुम्बिनी गेट कटेर थोरै अगाडी बढ्छन बाटो छेउछाउमा रहेका ग्यारेजका कारण नाक मुख खुम्च्याउने गरेका छन् । भैरहवामा अव्यवस्थित रुपमा सञ्चालित अटो ग्यारेजले गौतम बुद्धको जन्मस्थल लुम्बिनी मार्ग कुरुप बन्दै गएको छ । बुद्ध जन्मस्थलको प्रवेशद्धारको रुपमा रहेको सिद्धार्थनगर नगरपालिकाले अव्यवस्थित रुपमा सञ्चालित ग्यारेजलाई व्यवस्थित नगर्दा लुम्बिनी मार्ग कुरुप बन्दै गएको हो ।
नगरको बुद्धचोकदेखि विमानस्थल चोकसम्म (लुम्बिनी मार्ग) करिब ७५ वटा र नगरीभर साढे ३ सयभन्दा बढी ग्यारेजहरु अव्यवस्थित रुपमा सञ्चालनमा छन् । यही मार्ग हुँदै स्वदेशी तथा विदेशी गरी दैनिक हजारौँ पर्यटक लुम्बिनी पुग्ने गर्दछन् । सडकछेउमै अव्यवस्थित रुपमा चलेका ग्यारेजले लुम्बिनी जाने पर्यटकहरुको मानसिकतामा नकारात्मक प्रभाव परिरहेको पर्यटन व्यवसायीहरु बताउँछन् ।
यता नगरपालिकाले सिद्धार्थनगरलाई सुन्दर र सफा नगरको रुपमा विकास गर्ने अवधारणा अन्तर्गत वडा नम्बर ९ गोनहियामा अटो भिलेज सञ्चालनका लागि २०७० सालमै सम्झौता गरे पनि अझैसम्म कार्यान्वयन गर्न सकेको छैन । नगरक्षेत्रमा यत्रतत्र छरिएका ग्यारेजलाई एकै स्थानमा ल्याई सञ्चालन गर्न नगरपालिकाले अटो भिलेज स्थापनाका लागि ग्यारेज श्रमिक तथा व्यवसायीहरुसँग सम्झौता गरेको थियो ।
अटो भिलेजका लागि श्रमिकहरूले जग्गा खरिद गरेका र सडक, खानेपानी, विद्युत लगायत आवश्यक सम्पूर्ण पूर्वाधार नगरपालिकाले बनाउने सम्झौता गरेको छ । तर ५ वर्ष बितिसक्दा समेत अटो भिलेज सञ्चालनमा ल्याउन नगरपालिकाले कुनै चासो नदेखाएको श्रमिकहरूको गुनासो छ । अटो भिलेजमा बैंकबाट ऋण लिएर जग्गा खरिद गरी व्यवसाय सञ्चालन गरेका राजेश धवलले नगरपालिकाको भरमा व्यवसाय सञ्चालन गर्दा आफू धरासय अवस्थामा पुगेको बताए । उनले अहिले कामको लागी आउने साथीहरुसित चामल सम्म मागेर खानु परेको दुखेसो पोखे ।
यस अघि सम्म बिद्युत नरहेको बहानामा सञ्चालनमा आउन नसकेको अटो भिलेज अहिले १ सय केभिए क्षमताको ट्रान्सफर्मर जडान, बाटोहरु ग्रेवल, टेलिफोन एवम ईन्टरनेट लगायतको सुविधा हुदा समेत सञ्चालनमा आउन सकेको छैन । ब्यवसायीहरु यसको आरोप सोझै भैरहवामा मेयर हरि प्रसाद अधिकारीलाई लगाउने गरेका छन् । भैरहवाको लुम्बिनी रोडमा मेयरका दाजु भिमराज अधिकारीले “मिनी अटो भिलेज” सञ्चालन गरेको कारण नै मेयरले ग्यारेजहरु वास्तविक अटो ग्यारेजमा सार्न नखोजेको नेपाल अटो मेकानिक्स ट्रेड युनियन सिद्धार्थनगरका कोषाध्यक्ष राजेश धवलको आरोप रहेको छ ।
नेपाल अटो मेकानिक्स ट्रेड युनियन सिद्धार्थनगरका अध्यक्ष गुमान सिंह सारुले सबै संरचना तयार भए पनि ब्यवसायीहरु ब्यवसाय नचल्ने डरले अटोभिलेजमा आउन नमानेको बताए । उनले यसको लागी नगरपालिकाको वडा वडामा गएर आ–आफ्नो क्षेत्रका ग्यारेजहरु अटो भिलेजमा नगए सम्मको लागी नविकरण लगायतका काम नगरि दिन आग्रह गरेको जनाए । नगरपालिका र स्थानिय प्रशासनले कडाई नगरे सम्म ब्यवसायीहरु अटोभिलेजमा जान नमानेको कारण यसमा नगरपालिकाले नै अगुवाई गर्नु पर्ने उनको भनाई छ ।
सिद्धार्थनगर नगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम मरासिनीले भने अटो भिलेजका लागि खरिद गरिएको जग्गा व्यक्तिगत भएको र भविष्यमा समस्या आउन सक्ने भएकाले सञ्चालनमा ल्याउन हतार नगरिएको बताए । “नगरपालिकार निजि क्षेत्रहरुको समन्वय र सहकार्यमा छिट्टै यसको ब्यवस्थापन गर्दैछौं ।” मरासिनीले भने “समन्वय गर्ने मूख्य जिम्मेवारी नगरपालिकाकै हो, केही बिलम्ब चाही भएको छ ।”
मरासीनीले जग्गा ब्यक्तिगत भएको बताइरहदा सिद्धार्थनगर नगर पालिका र अटो भिलेजका ब्यवसायीहरुबिच २०७० सालमा सम्झौता हुदा नै जग्गा ब्यवसायीहरुले खरिद गर्ने र सोमा अन्य पूर्वाधारहरु नगर पालिकाले निर्माण गरिदिने उल्लेख भएको छ ।यसको साथै नगरपालिकाले नया ग्यारेज लगायतको दर्ता/नविकरण गर्दा नेपाल अटो मेकानिक्स ट्रेड युनियनको सिफारीस बिना दर्ता÷नविकरण नगर्ने सहमति पनि नगरपालिकाले कार्यान्वयन गरेको छैन ।
प्रतिक्रिया