बुटवल । बुटवल उपमहानगरमा १८ वर्ष माथिका सबैका लागि खोप सुनिश्चित भएको छ । हालसम्म बुटवलमा कोभिडविरुद्ध करिब डेढ लाख जनाले खोप लगाएका छन् । दुबै अर्थात् पूरा डोज खोप लगाउनेको संख्या सवालाख पुगेको उपमहानगरले जनाएको छ ।
खोप लगाउन छुट भएका तथा एउटा मात्र डोज लगाएर दोस्रो लगाउन बाँकी रहेकाहरुलाई लक्षित गरी माघ ९ गते आइतबारदेखि उपमहानगरले विभिन्न १५ स्थानमा खोप कार्यक्रम सुरु भएको छ । महामारीको जोखिम न्यूनीकरण, रोकथाम, उपचार र जनस्वास्थ्य सुरक्षाका उपाय अबलम्बन गरिएको प्रमुख शिवराज सुवेदीले बताए । बुटवलका सबै नागरिकका लागि खोपको प्रबन्ध गर्दै पायक पर्ने स्थानमा खोप केन्द्र तोकेर स्वास्थ्यकर्मी परिचालन गरिएको बताउँदै सुवेदीले जनस्वास्थ्यको संवेदनशीलतामा आफूहरु सजग र सचेत रहेको बताए ।
उपमहानगरको स्वास्थ्य शाखाको तथ्यांकअनुसार बुटवलमा पहिलो डोज झण्डै डेढ लाख र पूरा डोज १ लाख १२ हजार जनाले लगाइसकेका छन् भने कतिपय केन्द्रहरुमा बुस्टर डोजसमेत चलिरहेको छ । उपमहानगरको स्वास्थ्य शाखाकी प्रमुख कल्पना भट्टराईको नेतृत्वका करिब ८० जना स्वास्थ्यकर्मीको जनशक्ति महामारी सुरु भएयतादेखि निरन्तर महामारी नियन्त्रण, स्वास्थ्य सेवा प्रवाह र खोप कार्यक्रम सञ्चालनको अभियानमा केन्द्रित रहेको छ । बुटवलका १५ स्थानमा जोनसोन खोप र छुट भएका सबै प्रकारका खोप लगाउनेगरी सबै प्रबन्ध मिलाई वडाहरुमा र टोलटोलमा सूचना प्रवाह गरिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।
प्रतिक्रिया