बुटवल । बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले सिद्धार्थ बाल तथा महिला अस्पतालमा सञ्चालन गर्न लागिएको आमा सुरक्षा कार्यक्रमको तयारी तथा सेवा प्रवाहका बारेमा जानकारी लिनुका साथै कोभिड वार्डको निरिक्षण गरेका छन् ।
कोभिड महामारीको संक्रमण फेरि बढ्दै गएको र बालबालिकाका लागि खोपको समेत अझै प्रबन्ध नभइसकेको अवस्थामा अस्पतालको सेवा प्रवाह र कोभिड उपचार वार्डको अवस्थाका बारेमा प्रमुख सुवेदीले जानकारी लिएका छन् । अस्पतालमा संक्रमित हुने शिशु र तिनका आमालाई लक्षित गरेर अलग्गै कोभिड उपचार वार्डको व्यवस्था गरिएको छ । सोही वार्डको अवस्था र सेवा प्रवाहका बारेमा प्रमुखले जानकारी लिनुका साथै सेवाप्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिए ।
उपमहानगरको ५० लाख आर्थिक सहयोगमा आम्दा अस्पतालमा निर्माण भएको नयाँ तला, १० लाख रुपैयाँ बराबरको सहयोगमा बनेको अक्सिजन पाइपलाइन कक्षको निरीक्षण गर्दै निरन्तर निगरानी गरेर सेवाप्रवाह सञ्चालन गर्न आग्रह गरे । उपमहानगरको करिब १२ लाखको आर्थिक सहयोगमा अस्पताल परिसरमा लकटायलसहितको सडक स्तरोन्नित भइरहेको छ । यी सबै कामको अवस्थाका बारेमा जानकारी लिंदै प्रमुख सुवेदीले गुणस्तरीय सेवा प्रवाह र प्रभवकारी सञ्चालनमा ध्यान दिन आग्रह गरे ।
अस्पतालमा सञ्चालित कोभिड वार्डका लागि आवश्यक उपकरण खरिद गर्न उपमहानगरले थप १० लाख रुपैयाँ विनियोजन गरिसकेको प्रमुख सुवेदीले जानकारी गराए । उपमहानगरपालिकाको बजेट सहयोगमा आम्दामा भौतिक पूर्वाधार र उपकरण थप गर्ने काम समेत चलिरहेको छ ।
सो अवसरमा निमित्त मेसु हिमकुमार श्रेष्ठ, कोभिड वार्डका संयोजक डा.अरुण पोखरेल, डा.सुन्दर न्यौपानेले सेवाप्रवाह र कतिपय समस्याका बारेमा पनि प्रमुख सुवेदीलाई जानकारी गराएको प्रशासकीय अधिकृत ज्ञानेन्द्र शर्माले जानकरी दिए ।

अस्पतालको स्तरोन्नित गर्दै सिटी अस्पतालका रुपमा विकास गर्ने लक्ष्यसहित उपमहानगरले नगर गुरुयोजनामा समावेश गरेको छ । करिब १० हजार जापानी नागरिकहरुको सहयोगबाट १९९८ देखि अस्पताल सुरु भएको थियो । बुटवल उपहानगरको करिब १० विगाहा क्षेत्रफलमा सञ्चालित र एक सय बेडको स्वीकृती पाएको अस्पतालमा बाल रोग बहिरंग तथा अन्तरंग सेवा, बाल शल्यक्रिया सेवा प्रवाह भइरेहेका छ ।
प्रतिक्रिया