बुटवल । नेपाली अभिनेत्री स्वस्तिमा खड्काको आइटम डान्स सार्वजनिक भएको २४ घण्टा बित्न नपाउँदै ६ लाख बढी भ्युज बटुल्न सफल भएको छ । दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ को आइटम गीत सार्वजनिक भएको १९ घण्टामा ६ लाख ४७ हजार बढी म्युज पाउन सफल भएको हो ।
सुनिधि चौहानको स्वरमा रहेको ‘रंग–बिरंगी’ बोलको गीतमा स्वस्तिमा भारतीय आइटम गीतको शैलीमा नाचेकी छन् । यो फिल्म राजीव शेट्टीद्वारा निर्देशित हो भने निर्माण एसके लरेन्सले गरेका हुन् । जेभियर एलेक्स र राजीव शेट्टीको लेखनमा बनेको फिल्ममा मलयालम फिल्म उद्योगका चर्चित अभिनेता बिबिन जर्ज मुख्य भूमिकामा छन् । त्यस्तै जोनी एन्टोनी र धर्मजान बोलगट्टी पनि यसका प्रमुख पात्र हुन् ।
मलयालम भाषामा बनेको यो फिल्मको हिन्दी गीत शनिबार सार्वजनिक भएको थियो । फिल्म मलयालमसँगै हिन्दी, तेलेगू र तामिल गरी ४ वटा भाषामा सार्वजनिक हुनेछ । तीन मिनेट ५३ सेकेन्डको गीत ’सायना मुभिज’ को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । केही समयअघि सार्वजनिक फिल्मको ट्रेलरमा नेपालका थुप्रै ठाउँका दृश्यहरू देख्न सकिन्छ। जसमा काठमाडौं, पोखरा र लुक्लाका धेरै दृश्य देखिन्छ ।
गीतमा बाहेक फिल्ममा स्वस्तिमाको भूमिका के हो भन्नेबारे प्रस्ट छैन । तर फिल्म रेट गर्ने आइएमडिबीले थिरिमालीका मुख्य कलाकारको नाम सूचीमा स्वस्तिमा खड्काको पनि नाम उल्लेख गरेको छ । ट्रेलरमा अभिनेता माओत्से गुरुङको एक झलक पनि देख्न सकिन्छ । कमेडी जनराको यो फिल्म सन् २०२२ मा रिलिज हुने भनिएको छ ।
प्रतिक्रिया