ताजा अपडेट »

ज्ञानेन्द्र मल्ल : ‘अन्डर पर्फमर’ देखि कप्तानसम्म

बुधबार, १३ कार्तिक २०७६

कात्तिक १३,
काठमाडौं । क्रिकेटमा कप्तान पदलाई ठूलो गौरव र सम्मानको रुपमा लिइन्छ । कप्तान पदसँगै सो खेलाडीमा आफ्नाे टिमलाई सफलता दिलाउने र मैदानमा रणनीति बनाउनेलगायत अन्य विभिन्न जिम्मेवारीको दायित्व पनि लिएर आउँछ । यसैले होला अन्य खेलको तुलनामा क्रिकेट टिमको कप्तानको महत्व बेग्लै हुन्छ ।यसको विपरित क्रिकेटमा उपकप्तानको पद भने निकै आरामदायी हुन्छ । उपकप्तानमाथि नत विदेश भ्रमणमा औपचारिकता निर्वाह गर्ने जिम्मेवारी रहन्छ नत असफलताका लागि नै उसलाई जिम्मेवार ठहराइन्छ । यद्यपि उसलाई टिमको भावी कप्तानको रुपमा हेरिन्छ । कप्तानको उत्तराधिकारी मानिएको हुन्छ । त्यसैले मिडियामा पनि उपकप्तानलाई पर्याप्त महत्व मिल्छ । ज्ञानेन्द्र मल्लमा पनि यी सबै कुरा सही सावित भएका छन् ।

पारस खड्काले कप्तान पदबाट राजीनामा दिएपछि नै ज्ञानेन्द्रलाई भावी कप्तानको रुपमा हेरिएको थियो । कप्तान पारसले पनि राजीनामा दिँदै ज्ञानेन्द्रले नै नेपाली क्रिकेट टिमको भार सम्हाल्न सक्ने भनी ज्ञानेन्द्रका वकालत गर्नुभएको थियो । नभन्दै नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार कप्तानको जिम्मेवारी दिएको छ । बुधबारको निर्णयले क्यानले अर्को व्यवस्था नभएपसम्म ज्ञानेन्द्रलाई कप्तान नियुक्त गरेको छ ।नेपाली क्रिकेट टिमको कप्तानको रुपमा ज्ञानेन्द्रको पहिलो जिम्मेवारी मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)सँगको शृङ्खला हुनेछ ।


हुनत् ज्ञानेन्द्रसँग कप्तानीको पूरापूरा अनुभव छ । पारस अनुपस्थित रहेको समयमा ज्ञानेन्द्रले नेपाली क्रिकेट टिम नेतृत्व गरिसक्नुभएको छ । मल्लले सन् २०१७ मा घरेलु मैदानमा भएको आईसीसी विश्व च्याम्पियन लिगमा केन्याविरुद्धको दुवै खेलमा नेपाली क्रिकेट टिमको नेतृत्व गर्नुभएको थियो । सोही वर्ष एसीसी इमर्जिंङ टिम कपमा ज्ञानेन्द्रले नेपालको कप्तानी सम्हाल्नु भयो । यही वर्ष आईसीसी टि ट्वान्टी एसिया कप छनोटमा पारस घाइते भएपछि ज्ञानेन्द्र मलेसियाविरुद्ध टिमको नेतृत्व गर्नै मैदानमा उत्रनुभएको थियो ।उक्त खेलमा ज्ञानेन्द्रले कीर्तिमानी अर्धशतक समेत प्रहार गरेका थिए । घरेलु फ्रेञ्चाई लिगमा ज्ञानेन्द्र सँधै टिमको कप्तानको रुपमा खेल्नुहुन्छ । उहाँकै कप्तानीमा गत वर्ष ललितपुर प्याट्रियट्स एभरेस्ट प्रिमियर लिग च्याम्पियन भएको थियो । यसैगरी, एक सिनियर खेलाडी भएकोले ज्ञानेन्द्रलाई सबै खेलाडीले सम्मान पनि गर्छन् । त्यसैले पनि क्यानको निर्णयलाई सही मान्न सकिन्छ ।

नेपालका उत्कृष्ट ब्याट्सम्यान
ज्ञानेन्द्रको छवि एक स्टाइलिस ब्याट्सम्यानकोे छ । हाल खेलिरहेका क्रिकेटरमध्ये ज्ञानेन्द्रलाई प्राविधिकरुपमा सबभन्दा सक्षम ब्याट्सम्यान मानिन्छ । नेपाली टिमका ज्ञानेन्द्र सबभन्दा महत्वपूर्ण ब्याट्सम्यान भन्दा फरक पर्दैन ।भनिन्छ क्रिकेटमा तेस्रो क्रममा सर्वश्रेष्ठ ब्याट्सम्यानलाई उतारिन्छ । सुरुमा नेपाली टिममा ज्ञानेन्द्र तेस्रो क्रममा नै ब्याटिङ गर्न क्रिजमा आउनुहुन्थ्यो । पछि नेपाली क्रिकेट टिममा प्रारम्भिक ब्याट्सम्यान लगातार असफल भएपछि अहिले ज्ञानेन्द्र प्रारम्भिक ब्याट्सम्यानको भूमिकामा हुनुहुन्छ ।ज्ञानेन्द्रमा तेज र स्पीन दुवै बलिङ आक्रमणलाई सजिलै खेल्न सक्ने खुबी छ । यसबाहेक क्रिजमा टिकेर अथवा विस्फोटक पाली खेल्नु परेमा उनकै नाम अगाडि आउँछ । चौका, छक्का प्रहार गर्न माहिर अनि जुनसुकै ब्याटिङ सट खेल्न सक्षम छन् ज्ञानेन्द्र । यस्तो प्रतिभा विश्व क्रिकेटमै कमै ब्याट्सम्यानमा देख्न सकिन्छ ।

परिस्थितिअनुसार आफूलाई क्रिजमा ढाल्न सक्ने ज्ञानेन्द्रको नाम एकदिवसीय क्रिकेटमा सर्वाधिक तेज अर्धशतक बनाउने नेपाली ब्याट्सम्यानको सूचीमा सबभन्दा अगाडि छ । यसैगरी, एक ओभरमा छ चौका प्रहार गर्ने दुर्लभ कीर्तिमान पनि उहाँकै छ । सन् २०१२ मा भएको एसीसी ट्रफीमा सउदी अरबविरुद्ध उनले यी दुवै किर्तिमान कायम गर्नु भएको थियो ।अहिले नेपाललाई आइसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री उपाधि दिलाउने क्रममा सबभन्दा बढी योगदान दिने ज्ञानेन्द्रले पहिलो पल्ट अन्तर्राष्ट्रिय शतक बनाएर अर्को उपलब्धि हासिल गर्नुभयो । ज्ञानेन्द्र सिंगापुरविरुद्धको खेलका ११४ रन बनाएर अन्तर्राष्ट्रिय क्रिकेटमा आप्mनो पहिलो शतक बनानुभएको थियो ।

अन्डरपर्फमरको ट्याग
यद्यपि ज्ञानेन्द्रमाथि समयसमयमा ‘अन्डर पर्फमर’कै ‘ट्याग’ लागेको देखिन्छ । आप्mनो क्षमताभन्दा कम प्रदर्शन गर्नेलाई अन्डर एचिभर्स भनिन्छ । उमेर समूहको क्रिकेटदेखि नै ज्ञानेन्द्रलाई क्षमतावान क्रिकेटरको रुपमा हेरिए पनि सुरुका दिनमा आशा गरिए अनुरुप प्रदर्शन मैदानमा देखाएर आप्mना समर्थकलाई खुशी पार्न सकिरहेका थिएनन् । यद्यपि ज्ञानेन्द्रले सँधै आलोचकलाई चुप पार्दै प्रत्येक पटक आफूमाथिको यो धब्बा मेटाउनु भएको छ ।


विश्वकप टि–ट्वान्टीमा ज्ञानेन्द्रको सही महत्व थाहा भएको भन्दा फरक नपर्ला । टि–ट्वान्टीमा कम बलमा धेरै रन बनाउनु जरुरी हुन्छ । बंगलादेशमा भएको टि–ट्वान्टी विश्वकपमा ज्ञानेन्द्रले पहिलो खेलमा हङकङविरुद्ध ४१ बलमा ४८, बंगलादेशविरुद्ध २१६.६६ को स्ट्राइकर रेटमा ६ बलमा १७ र अफगानिस्तानविरुद्धको तेस्रो खेलमा १६९.६६ को स्ट्राइकर रेटमा ६ बलमा १५ रन बनाएर टिमको राम्रो प्रदर्शनमा विशेष भूमिका निर्वाह गर्नुभएको थियो । ज्ञानेन्द्रमा टिममै भएको कारणले पनि कप्तान पारस खड्कालाई भाग्यशाली मान्नेको कमी छैन किनभने ज्ञानेन्द्रमा क्रिकेटको ज्ञान भरपुर छ भने उहाँ टिमको आवश्यकता अनुसार जुनसुकै स्थानमा पनि ब्याटिङ गर्न सक्नुहुन्छ अनि कठिन परिस्थितिमा उहाँ पारसलाई सही सल्लाह दिनुहुन्थ्यो ।


कसरी होमिए ज्ञानेन्द्र क्रिकेटमा
ज्ञानेन्द्रको जन्म भिमसेनस्थानमा रहेको मध्यमवर्गीय तर प्रतिष्ठित परिवारमा भएको हो । ज्ञानेन्द्रका तीन दिदी र दुई दाई तथा एक भाई हुनुहुन्छ । उनको परिवारलाई ठकु जुजु भनेर चिनिन्छ । ज्ञानेन्द्रका अनुसार उहाँको परिवार भिमसेन गुठी, पचली भैरव आदि गुठीका संरक्षक पनि थियो । ज्ञानेन्द्रको परिवारमा क्रिकेटसँग आवद्ध कोही थिएनन् तर उहाँको क्रिकेट जीवन सलल बग्यो । ज्ञानेन्द्रमा सानैदेखि क्रिकेटको भूत चलेको थियो । उहाँले आठ, नौ वर्षको उमेरसम्म काठको ब्याट् बनाई टेनिस बल, प्लास्टिक बलले भिमसेनस्थानको चोकमै क्रिकेट खेल्दाखेल्दै क्रिकेटसँग नाता जोड्नुभयो ।

त्यहीँ खेल्दै गर्दा टोलकै रसिल श्रेष्ठले उनको प्रतिभा देखेर स्थानीय जेबी क्लबबाट क्रिकेट खेलाउनुभएको थियो । त्यसपछि उहाँले सानै उमेरमा यंगाल क्रिकेट क्लबबाट पनि प्रतिस्पर्धा गर्नुभयो । त्यहाँ क्रिकेट खेल्ने मनोबल प्राप्त गरेपछि यंगाल क्लबका विनोद राजभण्डारीले उहाँलाई यु–१५ को क्लब छनोटमा सहभागी गराउनुभयो । हुनत उहाँ १५ वर्षभन्दा कम उमेरमै यु–१७ क्याम्पमा चयन हुनुभएको थियो तर उहाँले यु–१५ नै पहिलो पटक खेल्नुभयो । ज्ञानेन्द्रले सहि समयमा सही मौका पाउनुभयो । अहिले त उहाँको क्रिकेट यात्रा भन्डै १५ वर्ष पुगिसकेको छ ।
ज्ञानेन्द्रसँग यु–१५, यु–१७, यु–१९ र राष्ट्रिय सिनियर टिम सबै वर्गको भरपुर अन्तर्राष्ट्रिय अनुभव हासिल छ । ज्ञानेन्द्रले सन् २००६ मै चार दिवसीय प्रतियोगिता आइसीसी इन्टरकन्टिनेन्टल कपमा नामिबियाविरुद्ध खेलेर राष्ट्रिय टिममा पदार्पण गर्नुभएको हो । सो समय उहाँ १६ वर्ष मात्र पुग्नुभएको थियो । त्यहाँ उहाँले राम्रो ब्याटिङ गर्न सक्नुभएन तर सोही वर्ष ज्ञानेन्द्रले एसीसी ट्रफीमा आप्mनो पहिलो एकदिवसीमा खेलमै कुवेतविरुद्ध ७१ रन बनाएर ज्ञानेन्द्र म्यान अफ दि म्याच बन्नुभयो ।
यस खेलमा यति सफलता हासिल गरेर पनि एकताका ज्ञानेन्द्रमा क्रिकेटलाई लिएर निराशा छाएको थियो । त्यसैले क्रिकेट छोडेर परिवारसहित अस्ट्रेलिया जाने प्रक्रियामा लाग्नु भएको थियो उहाँ ।

उमेर समूहको क्रिकेट खेल्दा भविष्यलाई लिएर चिन्ता नभए पनि बढ्दो उमेरसँगै क्रिकेटमा लागेर जीवनयापन गर्ने अवस्था देख्नु भएन उहाँले । सो समय वर्षमा एक या दुई पटक राष्ट्रिय, अन्तर्राष्ट्रिय क्रिकेट खेलेर आप्mनो भविष्य सुरक्षित लागेन ज्ञानेन्द्रलाई ।अझ मध्यमवर्गीय परिवार भएकोले भविष्यलाई लिएर अलि दबाब नै थियो । त्यसैले ज्ञानेन्द्रले प्रशिक्षकसँग सल्लाह गरेर विदेसिने मन बनाइसक्नुभएको थियो । तर अहिले उहाँ खुशी हुनुहुन्छ नेपालमै रोकिनुपरेकोमा । उहाँलाई लाग्छ क्रिकेटले देशलाई एक बनाएको छ र त्यसमा धेरै थोरै योगदान आप्mनो पनि छ । अहिले क्रिकेटले उनलाई नामका साथै दाम कमाउने अवसर पनि दिएको छ । सानेपामा उनको काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टर छ । जहाँबाट राम्रा क्रिकेटर पनि उत्पादन भइसकेको छ ।- प्रजित शाक्य/गोरखापत्र अनलाइन