नेपालीहरूको महान पर्व बडा दशैं सकिए लगत्तै गाउँ–शहरमा तिहारको माहौल सुरु हुन्छ । यस वर्षको बडा दशैं सकिएपछि पनि सो कुराले निरन्तरता पाएको छ । अर्थात असोज २६ गते कोजाग्रत पूर्णिमासँगै यस वर्ष गत असोज २१ गते परेको बडा दशैं सकिएको हो । दशैं सकिएपछि तिहारको चहल–पहल सुरु हुने गर्दछ । कार्तिक ८ गते शुक्रबारबाट यस वर्षको तिहार सुरु भएको छ । ‘भाइटिका’ नामले पनि चिनिने यस पर्वलाई विशेषगरी दाजु–बहिनी वा दिदी–भाइको पर्व पनि भनिन्छ । नेपालका हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो यस पर्वको महत्व र शैलीहरू पनि निकै अहम् र धैरै छन् । दाजु–बहिनी वा दिदी–भाइको आत्मिय सम्बन्ध र प्रगाढ माया,आपसी समझदारीका साथै उज्यालो र रमाइलो पर्वका रूपमा मनाइने यस पर्व यतिबेला नेपालीहरूको घर–आँगनसम्म आइपुगेको छ । बजारमा तिहार सम्बनधी सामग्रीको खरिद–बिक्री तिव्रताका साथ बढेको छ । नेपाली परमपरा र हिन्दु धर्मावली अनुसार नेपालमा दर्जनौं धार्मिक पर्वहरू मनाइन्छ । हरेक पर्वको फरक–फरक पहिचान,विशेष्ता र महत्व रहेको हुन्छ । तिहार पनि निकै फरक पर्व हो ।
यस पर्वमा काग,कुकुर,गाई,गोरु जस्ता जनावरको विशेष पूजा गरिन्छ । मानव जीवनलाई सरल र सहज बनाउनुका साथै सन्देश र सुरक्षाको अनुभूती दिने प्राणीलाई विशेष महत्वका साथ पूजा गर्नुले वैज्ञानिक महत्व पनि देखिन्छ । त्यस्तै धनकी देवी लक्ष्मीलाई विशेष पुजिने यस पर्वले धनको धार्मिक महत्वलाई दर्साउँदा वैज्ञानिक अर्थपनि लाग्दछ । अर्थात् बढ्दो आधुनिकता र महङ्गाइमा अर्थको महत्वलाई थप सार्थक बनाएको छ । त्यस्तै तिहारमा खेलिने देउसी–भैलोले सामाजिक र आर्थिक महत्व राख्नुका साथै मनोरञ्जनको माधयम पनि हो । समयको गति र बदलिँदो परिवेशले पछिल्ला वर्षहरूमा पर्व मनाउने शैलीमा केही परिवर्तन भएको छ । पर्वहरूमा रमाइलो र खुशियालीको माहौलसँगै केही जोखिमहरू पनि हुने गर्दछन् । जुन वर्षेनी बढ्दै गएका छन् । उज्यालो र रमाइलो पर्व मानिने यस पर्वमा पटका पड्काउने ,घर उज्यालो बनाउन विधुतिय बत्ती बाल्ने , रमाइलोको लागि जुवा तास खेल्ने जस्ता गतिविधिमा बढी जोड दिएको पाइन्छ । जथाभावी पटका पड्काउन कानुनी अधिकार पनि छैन । त्यसैगरी पर्वको नाममा जुवा–तास खेल्न र बढी मदिरा सेवन गरेर असामाजिक तथा आपराधिक क्रियाकलाप गर्न पनि कसैलाई छुट छैन । तर, यस्ता चाडपर्वको नाममा यस्ता गतिविधिलाई प्रोत्साहन दिँदा पर्वमा जोखिमसँगै विकृतिहरू पनि बढेका छन् ।
पर्वको आगमनसँगै पर्वको क्रम र पर्वपछिका धेरै दिनसम्म निरन्तर गतिविधिलाई निरन्तरता दिँदा पर्वहरू महङ्गा र खर्चिला भएका छन् । समाजमा गरिब र न्यून आय भएकाहरूलाई मात्र होइन मध्यम वर्गिय परिवारलाई पनि चाडपर्व आउँदा खर्चले पिरोल्ने गरेको छ । यस सम्बन्धी जानकारी र ज्ञान दुबै भएतापनि सचेतना भने आएको छैन । यसै सन्दर्भमा तिहार पनि दोस्रो ठूलो, महत्वपूर्ण,लामो र खर्चिलो पर्व हो । यस पर्वमा समय र अर्थ दुबै खर्च बढी हुने गर्दछ । दाजु–बहिनी वा दिदी–भाइको पर्व तथा उज्यालो पर्वलाई सहज,सरल,शुलभ र सान्दर्भिक तवरले मनाउने परम्परालाई आधुनिकताका नाममा खर्चिलो,महङ्गो ,भड्किलो र जोखिममुक्त बनाउनका लागि समयमै सोँच्नु पर्दछ । तसर्थ उज्यालो पर्वका रुपमा लिइएको यस पर्वले ठूला–बडा,पहुँचवालाको मात्र नभई दूर–दराजका विपन्न नेपालीहरु,वैदेशिक रोजगारका लागि खाडी मुलुक गएका नेपालीहरु लगाएत सम्पूर्णमा उज्यालो छाओस् । दिपावली–२०७६ सुखद बनोस् ।
प्रतिक्रिया