ताजा अपडेट »

सबैलाई बुष्टर खोप उपलब्ध गराउ: काँग्रेस क्षेत्रीय समिति

मंगलबार, ०४ माघ २०७८

बुटवल । नेपाली काँग्रेस रुपन्देही क्षेत्रीय समितिले कोभिड संक्रमणको दर उच्च देखिएकाले रोकथाम र नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । कोभिडको तेस्रो लहर धेरै संक्रामक भएकाले आम नागरिकको स्वास्थ्य सुरक्षाका लागि सचेतनासँगै कोभिड विरुद्धको खोप नपाएकाहरुलाई पहिलो खोप र खोपको मात्र पुर्याएकाहरुलाई बुस्टर खोप उपलब्ध गराउन क्षेत्रीय समिति रुपन्देहीले सरकारको ध्यानाकर्षण गराएको हो ।

कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ को बैंठकले आम नागरिकलाई चाडोभन्दाचाडो खोपको मात्र उपलब्ध गराईदिन सरकारलाई आग्रह गरेको क्षेत्रीय सचिव विजय गुरुङ्गले जानकारी दिए । उनले सरकारसँग समन्वय गरेर भएपनि सबै नागरिकलाई खोप उपलब्ध गराउनका लागि काँग्रेसले गृहकार्य गर्ने गरि योजना ल्याउने बैठकले निर्णय गरेको जानकारी दिए । क्षेत्रीय सभापति हिरा बहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले क्षेत्र नम्बर १ का सबै वडाहरुमा टोल विकास समिति गठन गर्नका लागि मातहतका समितिहरुलाई निर्देशन दिएको र कार्यान्वयका लागि आग्रह गरेको छ ।

यस्तै बैठकले मतदाता नामावलीमा सक्रिय भुमिका निभाएका पार्टि प्रतिनिधीहरुलाई धन्यवाद दिदै केही कारणले छुटपुट भएका नागरिकलाई अझै सक्रिय भएर नामावलीमा सहभागि बनाउन आग्रह गरेको क्षेत्रीय सभापति खत्रीले जानकारी दिए। यसैबीच काँगेसका पुर्व जिल्ला सभापति अब्दुल रज्जाक केन्द्रीय सदस्यमा र हरि काफ्ले जिल्ला सचिवमा निर्वाचित भएकोमा बैठकले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ । सो कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य रज्जाकले राष्ट्रियताको विषयमा सबै एक जुट हुनुको विकल्प नभएको बताए । बैठकमा पुर्व क्षेत्रीय सभापति विश्वनाथ यादव, महाधिवेशन प्रतिनिधी, महासमिति सदस्यहरुको सहभागिता रहेको थियो ।