माघ १७,
काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट आजै पारित गर्ने तयारी गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट आज (बिहीवार) नै पारित गर्ने तयारी गरेको हो ।
आज बिहीवार दिउँसो २ बजे बस्ने राष्ट्रियसभा बैठकमा सम्भावित कार्यसूचीको पहिलो स्थानमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
विधेयकमाथिको दफावार छलफल सदनमा नै गरेर पारित कार्यसूची रहेको संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए ।
यसैगरी आजै मध्यान्ह १२ बजेसम्म विधेयकमाथि संशोधन दर्ता गर्ने समयावधी दिइएको छ । तर, सत्तारुढ दलका सांसदले भने सो विधेयकमा संशोधन दर्ता नगर्ने यसअघि नै बताइसकेका छन् ।
उता त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीसँग भएका सहमति विधेयकमा नसमेटिएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संघीय संसदका दुवै सदनमा विरोध गर्दै आएको छ ।
गत मंगलवार प्रमुख प्रतिपक्षी दल कांग्रेसको विरोधका बाबजुद प्रतिनिधिसभाबाट चिकित्सा विधेयक पारित भएर शुक्रवार राष्ट्रियसभामा आएको हो ।
प्रमुख प्रतिपक्षीको विरोध र सदनलाई सूचारु गर्ने विषयमा राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आजै विहान ११ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया