बुटवल । स्वच्छ मासु उपभोत्तालाई उपलब्ध गराउन बुटवलमा निर्माणधिन बधशाला छिटो सम्पन्न हुनुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । अहिले उपभोत्ता उपभोग गरेको मासु पशुविज्ञबाट प्रमाणिकरण नभएको भन्दै स्वच्छ, गुणस्तर र सफा मासुका लागि बुटवल रामनगरमा निर्माणधिन अवस्थामा रहेको बधशाला छिटो सम्पन्न हुनुपर्ने उनीहरुको जोड थियो ।
मासु व्यवसायी संघ रुपन्देहीको ११ औं बार्षिक साधारण सभा तथा छैठो अधिबेशन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उपभोत्ताले स्वच्थकर मासु खान पाउने गरी नयाँ बर्ष देखि बधशाला सञ्चालनमा आउने गरी काम भइरहेको बताए । मेसिन अर्डर भइसकेको र संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको बताउँदै पशुबधशाला निर्माण पछि बुटवलको आर्थिकमा थप ईटा थप्ने काम हुने बताए । खसी र बोका बध गर्ने पहिलो बधशालाको हाल सम्म भौतिक प्रगति ७० प्रतिशत र वित्तिय प्रगति ४५ प्रतिशत भएको उनको भनाई छ ।
उनले निजी क्षेत्रसंग साझेदारी बधशाला सञ्चालन गर्ने योजना अनुसार मासु व्यवसायीहरु संग सम्झौता समेत भइसकेको बताए । बधशाला निर्माण पछि किसानले पालेका खसी बोका सिधै व्यवसाय सामु आईपुग्ने भएकाले किसान अब विचौलीयाको मारमा पर्न नपर्ने समेत बताए ।
अधिबेशनमा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष कृष्णप्रसाद पौडेलले बधशाला निर्माणको अन्तिम तयारी रहेको बताउँदै बधशालालाई सञ्चालन गर्न निजी क्षेत्र आतुर रहेको बताए । साथै उनले बधशाला सञ्चालनका लागि बुटवल मासु उत्पादन तथा प्रशोधन केन्द्र प्रा.लि स्थापना भएको भन्दै उक्त कम्पनीमा व्यवसायीहरु जोडिन आग्रह गरे ।
उपभोत्ता हित संरक्षण मञ्च लुम्बिनीका अध्यक्ष तेज कुमार पाठकले लामो समय देखि उपभोत्ता हित संरक्षण मञ्चले उठाउँदै आएको बधशाला निर्माण हुन लागेकोमा खुसी व्यक्त गरे । उनले व्यवसायीलाई स्वच्छकर, गुणस्तर र निरोगी पशुको मासु उपभोत्तालाई उपलब्ध गराउन आग्रह गरे । कार्यक्रममा हेफर ईन्टरनेशनलका कार्यक्रम व्यवस्थापक अनन्त शिलवाल, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, कानुनी सल्लाहकार यमलाल खनाल लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम बरिष्ठ उपाध्यक्ष मोहन खत्रीको स्वागत तथा महासचिव चुरामणी घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
संघको अध्यक्षमा चुरामणी घिमिरे
मासु व्यवसायी संघ रुपन्देहीको ११ औं बार्षिक साधारण सभा तथा छैठौ अधिबेशनबाट अध्यक्षमा चुरामणी घिमिरे निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा मोहन खत्री, उपाध्यक्षमा मसउद आलम, महासचिवमा विशाल थापा, कोषाध्यक्षमा गोपाल क्षेत्री र सहकोषाध्यक्षमा क्रृषिराम राई भाट निर्वाचित भएको प्रमुख निर्वाचिन अधिकृत यमलाल खनालले बताए ।
त्यस्तै सदस्यहरुमा बालप्रसाद श्रेष्ठ, हरि बहादुर कुँवर, अहमद हुसेन, प्रेम राना, रोशन बहादुर खत्री, सुनिता थापा क्षेत्री, विमा थापा, देउती प्रसाद सापकोटा, थानेश्वर पाण्डे, ओम बहादुर थापा, थानेश्वर सुवेदी र तइयव हुसेन निर्वाचित भएका छन् । निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यलाई प्रमुख निर्वाचन अधिकृत यमलाल खनालले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
प्रतिक्रिया